कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

खोरमै थुनेर भेडापालन

कुम्भराज राई

ओखलढुंगा — चरनक्षेत्र अभाव हुँदै गएपछि ठुल्ठूला गोठमा भेडा पाल्ने र लेकदेखि बेंसीसम्म चराउने चलन घट्दै गएको छ । तर यहाँको मोलुङ गाउँपालिका–१ झगरपुरका गाउँलेले भने घरघरमै खोर बनाएर भेडापालन गर्न थालेका छन् । ठूलो गोठमा चराएर पाल्न नसके पनि भेडापालन लोप हुन नदिन बाख्रासरह खोरमै राखेर भेडा पाल्ने गरिएको हो । 

खोरमै थुनेर भेडापालन

यहाँका ११ घरमा ६५ भेडा पालिएका छन् । ‘हाम्रो प्रत्येक कुलपूजामा भेडा अनिवार्य चाहिन्छ,’ स्थानीय नरबहादुर राईले भने, ‘त्यसैका लागि भए पनि पाल्नुपर्छ, यसलाई व्यावसायिक रूपमा अघि लैजाने सोचका साथ केही वर्षयता संख्या बढाउँदै छौं ।’ स्थानीय ‘सुनभेडा’ प्रजातिको भेडा वरपरका विभिन्न मठमन्दिरमा पूजाआजाका लागि चाहिने भएकाले किसानलाई बिक्रीका लागि समस्या छैन । ‘गतवर्ष मात्रै २८ वटा भेडा यही गाउँबाट किनेर पूजा गर्‍यौं,’ कुन्तादेवीका स्थानीय प्रदीप बानियाँले भने, ‘मूल्य भने बोकाबाख्राभन्दा महँगो छ । त्यसैले यसलाई व्यावसायिक फार्म खोलेर पाल्न सक्दा आम्दानी राम्रो हुन सक्ने देखिएको छ ।’ भेडाबाट ऊन र घिउ उत्पादन हुने गर्छ । तर स्थानीयले ऊन काट्ने तरिका नजान्दा केही वर्षयता खेर जाने गरेको थियो । केही वर्षअघि घरेलु तथा साना उद्योग विकास समितिले भेडाको ऊन काट्ने सातदिने तालिम झगरपुरवासीलाई दिएको थियो । यो तालिम लिएसँगै वर्षमा दुई पटक ऊन काटेर बेच्न सहज भएको छ ।

जिल्लामा मात्र नभएर देशमै ऊन काट्ने सीपसम्बन्धी तालिम खासै चल्दैन । किसानले राडीपाखी बुन्ने तालिम दिन सके ऊनको सदुपयोगसँगै गाउँमै रोजगारी सिर्जना गराउन सकिने स्थानीयको बुझाइ छ । भेडापालनलाई गोठमै हिँडाएर चराउने चलन बिस्तारै घटेको छ । त्यसैले यसलाई बाख्रालाई जस्तै खोरमा राखेर वा नजिकका जंगलमा चराएर पाल्न सकिने स्थानीयको अनुभव छ । यदि घरघरमै भेडापालन गर्ने किसानलाई सरकारले प्रोत्साहन दिने हो भने यसबाट ऊन उत्पादन र रोजगारी दुवै बढाउन सकिने स्थानीय बताउँछन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?