१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मौलाउँदै मैदाको अवैध आयात

विनोद भण्डारी

विराटनगर — विराटनगर भन्सार कार्यालयले २२ टन मैदा बरामद गरेको छ । भारतबाट अवैध रूपमा २ ट्रक, २ ट्र्याक्टर र १ भ्यानमा राखेर ल्याइएको उक्त मैदा मोरङ र सुनसरीको सीमामा पर्ने केसलिया खोला किनारबाट बरामद गरिएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुंगानाले बताए । जसको बजार मूल्य १५ लाख रुपैयाँभन्दा बढी पर्छ । भारतले नेपालमा मैदा र गहुँ निकासीमा रोक लगाएपछि अवैध रूपमा मैदा भित्रिने क्रम बढ्दो छ ।

मौलाउँदै मैदाको अवैध आयात

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ आयात गर्ने बाटो नखुलाउँदा मुलुकभर सञ्चालनमा रहेका ३७ वटा मैदा मिललाई गहुँको अभाव भइरहेको छ । जसका कारण भारतबाट अवैध आयात बढेको भन्सार कार्यालयकै बुझाइ छ । ‘भारतमा भन्दा नेपालमा मैदाको मूल्य किलोमा १० रुपैयाँ बढी छ । वारि महँगो भएकाले पारिबाट अवैध रूपमा भित्र्याउन तस्करहरू सक्रिय भएका हुन्,’ उनले भने, ‘भन्सारको गस्ती टोलीले एकै पटक यति ठूलो परिमाणमा मैदा बरामद गर्नुले त्यही संकेत गर्छ ।’

उद्योगहरूले आवश्यकताअनुसार गहुँ उपलब्ध नभएकाले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको जनाएका छन् । उद्योगहरूले ६० प्रतिशत उत्पादन कटौती गरेको नेपाल फोलोर मिल एसोसिएसनका सचिव विकास बेगवानीले बताए । ‘नेपालका उद्योगले ठूलो मात्रामा उत्पादन कटौती गर्ने र भारतको तुलनामा मूल्य पनि बढी भएकाले मैदा र आँटा तस्करी भएर आउन थालेको छ,’ उनले भने, ‘सरकारले बेलैमा ध्यान नदिँदा एकातिर महँगी बढेको छ भने अर्कोतिर नेपाली उद्योग नै संकटमा परेका छन् ।’

गहुँको मूल्य ३ महिनाअघिसम्म प्रतिकिलो ३४ रुपैयाँ थियो । अहिले बढेर ५० रुपैयाँ पुगेको छ । आँटाको मूल्य प्रतिकिलो ५० बाट ८० रुपैयाँ र मैदाको मूल्य ४८ बाट ७२ रुपैयाँ पुगेको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिमदेखि निकासीमा रोक लगाएको थियो । परिस्थिति अनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग परिमाण माग गरेको थियो । तर नेपालले त्यस्तो मागपत्र नपठाएपछि भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाललाई हटाएको थियो । जसको प्रत्यक्ष असर आँटा र मैदाको उत्पादन र मूल्यमा परेको हो ।

गहुँ माग गर्ने बंगलादेश, इन्डोनेसिया, यमन, यूएई र ओमानका लागि भने भारतले कोटा तोकेर डेढ महिनाअघिदेखि नै निकासी खुला गरिसकेको छ । नेपालमा गत आवमा भारतबाट ६ अर्ब ९० करोड ७२ लाख ९० हजार रुपैयाँको ३ लाख ३५ हजार ९ सय ३२ टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांक छ । मुलुकभर रहेका ३७ वटा मैदा मिललाई वार्षिक १० लाख टन गहुँ आवश्यक पर्छ । स्थानीय उत्पादन करिब ३ लाख टन मात्र छ । आवश्यक गहुँको परिमाण खुलाएर माग गर्न भनिए पनि आपूर्ति मन्त्रालयले ध्यान नदिएको एसोसिएसनका कार्यालय प्रमुख अजय पराजुलीको आरोप छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?