तीनजुरे मिल्के जलजलेमा गुराँसका थप दुई प्रजाति

वनस्पतिविद् कमल मादेन र चीनको साउथ चाइना एग्रिकल्चर युनिभर्सिटीमा वातावरण विज्ञानमा विद्यावारिधि गरिरहेका दीपक खड्कासहितको समूहले गरेको अध्ययनपछि गुराँसका नयाँ प्रजाति पत्ता लगाएको हो
चन्द्र कार्की

तेह्रथुम — तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा गुराँसका थप दुई नयाँ प्रजाति भेटिएका छन् । यसअघि उक्त क्षेत्रमा गुराँसका ३० प्रजाति पाइन्थ्यो । यो क्षेत्र तेह्रथुम संखुवासभा र ताप्लेजुङको संयुक्त गुराँस भूमि हो । वनस्पतिविद् कमल मादेन र चीनको साउथ चाइना एग्रिकल्चर युनिभर्सिटीमा वातावरण विज्ञानमा विद्यावारिधि गरिरहेका दीपक खड्कासहितको समूहले १२ दिनसम्म टीएमजे क्षेत्रमा गरेको अध्ययनपछि गुराँसका नयाँ प्रजाति पत्ता लगाएको हो ।

तीनजुरे मिल्के जलजलेमा गुराँसका थप दुई प्रजाति

टोलीले हालै तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्कदेखि मेन्छ्यायेम हुँदै ताप्लेजुङको फक्ताङलुङसम्मको रुटमा पैदलै यात्रा गरेको थियो ।

तीनजुरेदेखि फक्ताङलुङसम्मको क्षेत्रमा गुराँसको नयाँ प्रजाति भेटिएको वनस्पतिविद् मादेनले बताए । यसो रुटले पहाडै पहाड भएर फैलिएको कञ्चनजंघादेखि दार्चुला हुँदै हुम्लासम्मको बृहत् हिमालय पदमार्गलाई समेत छोएको छ । अब टीएमजे क्षेत्रमा पाइने गुराँसको संख्या ३२ पुगेको छ । तिब्बतको झोमोलुङ्मा प्रकृति आरक्षण क्षेत्रलाई समेत छुने टीएमजे क्षेत्रको एकै स्थानमा ३२ प्रजातिका गुराँस भेटिएपछि वनस्पति विज्ञानमा चासो राख्नेहरूको ध्यान यस ठाउँमा केन्द्रित भएको छ । यस पदमार्गले छुने कञ्चनजंघादेखि नागा पर्वतसम्मको दूरी सन् १९८३ मा दुई बेलायती नागरिक रिचार्ड र अडरियनले सय दिन लगाएर पार गरेको इतिहास छ । लेकाली र हिमाली यो क्षेत्र पर्यावरणीय–जैविक विविधताले पनि भरिपूर्ण रहेको खड्काको भनाइ छ । उनले उच्च लेकाली क्षेत्रमा पाइने पैयुँका विषयमा समेत अध्ययन गर्दै छन् ।

रोयल बोटानिक गार्डेन्स क्यु लन्डनका अनुसार संसारभर गुराँसका १ हजार ७३ प्रजाति छन् । यसअन्तर्गत लालीगुराँस सबैभन्दा अग्लो रूख हुने प्रजाति हो । यो प्रजाति पाकिस्तान, भारत, नेपाल, श्रीलंका, तिब्बत, भुटान, म्यान्मार, भियतनामसहित म्यान्मार र भियतनामसँग जोडिएको चीनको दक्षिण पूर्वी क्षेत्र युनानमा प्रचुर मात्रामा पाइने गरेको मादेनले जानकारी दिए । हालै पत्ता लागेका नयाँ प्रजातिका गुराँसको ‘अफसिजन’ भएकाले फूल भने नभेटिएको उनले बताए ।

पात र काण्ड पहिचानका लागि वनस्पति ल्याबमा पठाइएको छ । पहिचानपछि वैज्ञानिक नामसमेत दिइनेछ । वन तथा वातावरण मन्त्रालयले–०७५ मा जारी गरेको गुराँस संरक्षण कार्ययोजना (०७५–८०) अनुसार गुराँस नेपालका ४३ जिल्लामा पाइन्छ । सबैभन्दा ठूलो रूख हुने लालीगुराँस ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा हुँदै सोलुखुम्बु, दामन–सिमभन्न्याङ, घोडेपानी, लमजुङ, म्याग्दी, बागलुङ, रुकुम, मुस्ताङ, मुुगु, हुम्ला, डोल्पा, जुम्ला, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, बैतडीलगायत जिल्लामा बढी मात्रामा पाइन्छ । यस प्रजातिको फूल रातो मात्र नभई सेतो, खरानी, हल्का पहेंलो आदि रङमा फुल्ने गर्छ । गुराँसको एक प्रजाति रोडोडेन्ड्रन अर्बोरियम भने नेपालभर पाइन्छ । रोडोडेन्ड्रन अर्बोरियमको उपप्रजाति सिन्नामोमियम मध्य र पूर्वी नेपालमा मात्र पाइने मादेनले बताए । यसको पातको मुनि हल्का रातो र पहेंलो रङको रसायन बाक्लो जमेको हुन्छ । यो प्रजाति टीएमजे क्षेत्रमा बढी मात्रामा पाइने गरेको मादेनले गरेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय फूलसमेत रहेको लालीगुराँससहितका प्रजातिको संरक्षणका लागि सरकारले पाँचवर्षे कार्ययोजना बनाएर काम गर्दै छ । ४३ जिल्लाका हिमाली र पहाडी क्षेत्रमा पाइने गुराँसका प्रजाति उपभोक्ताले जथाभावी उपभोग गर्दा मासिन सक्ने भएकाले सरकारले संरक्षण कार्ययोजना तयार पारेर कार्यान्वयनमा ल्याएको हो । हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँसबाहेकका रूखका प्रजाति थोरै भएकाले काठ–दाउराको अन्य विकल्प नहुँदा स्थानीयले गुराँस काटिरहेका छन् ।

पछिल्लो समय गुराँसका दाउराको अत्यधिक प्रयोग, कोइला बनाएर बिक्री गर्ने, खुला चरिचरन, चोरी निकासी, वनमा जथाभावी सडक निर्माण, विद्युत्को हाइटेन्सन लाइन विस्तार र डढेलो जस्ता कारणले गुराँस वन मासिँंदै गएको भन्दै वन तथा भूसंरक्षण विभागले ‘गुराँस संरक्षण कार्ययोजना ०७५–८०’ नै तयार गरेको हो । कार्ययोजनाले १० रणनीति र ५२ कार्यनीति तय गरेको छ । तर कार्ययोजना लागू भएको समय बित्न लाग्दासमेत पर्याप्त काम भने भएको छैन ।

विकासका भौतिक पूर्वाधार निर्माण, खेती तथा अन्य प्रयोजनका लागि वन अतिक्रमण बढ्दै गएको र पछिल्लो समय बढेको तापक्रम एवं सुक्खापनले समेत गुराँस संरक्षणमा चुनौती थपिएको डिभिजनल वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । मन्त्रालयले केही समयअघि गुराँस संरक्षणका उपाय खोज्न तेह्रथुमको वसन्तपुरमा एकदिने कार्यशाला आयोजना नै गरेको थियो । कार्ययोजनामा गुराँसका प्रजातिको संरक्षण, दिगो व्यवस्थापन र गुराँस केन्द्रित उद्यम तथा पर्या–पर्यटनमा सघाउने कार्यक्रम समेटिएको थियो ।

पाँच वर्षमा गुराँस वन क्षेत्रको पहिचान, चरन व्यवस्थापन र वृक्षरोपण गरिने कार्ययोजनामा उल्लेख छ । गुराँसका दाउरा धेरै प्रयोग हुने क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्ने, सुधारिएको चुलो वितरण गर्नेलगायत काम पनि कार्ययोजनामा सामेल छ । देशमा गुराँस मिश्रित वन क्षेत्र ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर रहेको वन अनुसन्धान विभागले जनाएको छ । कार्ययोजनाका अनुसार गुुराँस वन जोगाउन ५ वर्षमा २० करोड रुपैयाँ बजेटको आवश्यकता औंल्याइएको छ । तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संघीय सरकार, प्रदेश, स्थानीय तह र सामुदायिक वन समुहको समेत समन्वय र सहकार्यमा कार्ययोजना कार्यान्वयन गर्ने बताएका थिए । तर त्यसयता कार्ययोजनामा उल्लेख्य काम भएका छैनन् । टीएमजे क्षेत्रमा पनि गुराँस वन मासिने क्रम बढेकाले संरक्षणमा तत्काल पहल थाल्ने मन्त्रालयले जनाएको छ । संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र संरक्षित क्षेत्रभन्दा बाहिर वन तथा भू–संरक्षण विभाग, प्रदेश वन मन्त्रालयलगायतले कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयले बताएको छ ।

प्रकाशित : मंसिर ६, २०७९ ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?