सुगम रुटका ५ वटा वायुसेवाका सबै उडान बन्द 

सुरज कुँवर

काठमाडौँ — निर्वाचनका कारण यात्रुको बुकिङ नभएपछि काठमाडौं र उपत्यकाबाहिरबाट हुने सुगम क्षेत्रका सबै उडान बन्द भएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार, सुगम रुटमा उडान गर्दै आएका प्रमुख वायुसेवा बुद्ध, तारा, श्री, सौर्य र गुण एयरलायन्सले आइतबार भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरा र तुम्लिङटारमा उडान राखेनन् ।

सुगम रुटका ५ वटा वायुसेवाका सबै उडान बन्द 

काठमाडौंबाहिरका रुटमा हुने अन्तरप्रदेश उडान पनि निर्वाचनका कारण स्थगन भएका छन् । उनका अनुसार, पर्यटकीय गन्तव्य लुक्लाका लागि भने तारा, समिट र सीता एयरले भने पर्यटकहरु ओसार्न १५ वटा उडान राखेका छन् । आइतबार दुगर्ममा रामेछाप, लुक्ला र काठमाडौं रुटमा मात्रै उडान हुँदैछ ।

दैनिक दुइतर्फी १ सय २६ वटा उडान गर्ने बुद्द एयरले आइतबार कुनै पनि उडान राखेको छैन । ‘चुनाव भएकाले प्राय: हरेक सुगम रुटमा हिजो बेलुकीसम्म २–४ जना यात्रुको मात्रै बुकिङ थियो । ती पनि विदेशबाट आउने यात्रुहरु रहेछन,’ बुद्धका एक अधिकारीले भने,‘निर्वाचन आयोगले उडान नै बन्द गराएको थिएन । तर, थोरै यात्रु उडाउनुभन्दा आइतबारका सबै उडान नै बन्द गर्‍यौं ।’

१६ वटा विमानबाट दैनिक कम्तीमा ६ हजार यात्रु उडाउने बुद्द आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रु ओसार्ने वायुसेवा हो । उसले आइतबार उडान नहुने भएपछि काठमाडौं बाहिर रहने (नाइट–स्टप) कुनै पनि जहाज राखेको छैन । यसैबीच दैनिक दुईतर्फी ५६ हाराहारी उडान गर्दै आएको दोस्रो वायुसेवा यति एयरलायन्सले पनि निर्वाचनका कारण सबै उडान राकेको जनाएको छ ।

त्यस्तै दैनिक दुईतर्फी २८ हाराहारी उडान गर्दै आएको गुण, २२ हारहारी उडान गर्दै आएको श्री र १८ हाराहारी उडान गर्दै आएको सौर्यले पनि न्यून बुकिङ र निर्वाचनका कारण आइतबार सबै उडान बन्द गरेका छन् । श्रीका प्रवक्ता अनिल मानन्धरले उडान नभए पनि तीनवटा जहाज धनगढी, नेपालगन्ज र विराटनगर विमानस्थलमा राखिएको जनाएको छ । दुईटा ट्विनअटर ग्राउन्डेड भएका कारण ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबारका लागि विमानस्थलमा उडान तालिका नै बुझाएको छैन ।

त्यस्तै आइतबार अन्तर्राष्ट्रियतर्फ भने काठमाडौंका लागि ४० वटा उडान हुँदैछन् ।

प्रकाशित : मंसिर ४, २०७९ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?