कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरानै लयमा सगरमाथाको पर्यटन

भानुभक्त निरौला

सोलुखुम्बु — कोरोना महामारीपछि सुस्ताएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायले यस सिजनमा बल्ल लय समातेको छ । शरदयाममा पर्यटकको उपस्थिति ह्वात्तै बढेकाले व्यवसाय ३ वर्षपहिलेकै अवस्थामा फर्किएको व्यवसायीहरूले बताएका छन् । बर्खा सकिएपछिको समयलाई भ्रमणको मुख्य सिजन मानिन्छ । यस अवधिमा २१ हजार ४ सय ५१ पर्यटकले यस क्षेत्रको भ्रमण गरिसकेका छन् ।

पुरानै लयमा सगरमाथाको पर्यटन

सोलुखुम्बुमा विश्वकै सर्वोच्च शिखर सगरमाथालगायत ८ हजार मिटर अग्ला ४ वटा हिमाल छन् । सिजनको पहिलो महिना असोजमा मात्रै ८ सय २९ जना आन्तरिक पर्यटक, ७ सय ३३ जना सार्क राष्ट्रका र ६ हजार ७ सय ३१ जना अन्य मुलुकका पर्यटकले यो क्षेत्र घुमेका थिए । यो संख्या कात्तिकमा झन्डै दोब्बरले बढेको छ । कात्तिकमा १ हजार ५ सय जना नेपाली, ७ सय ८६ जना सार्क राष्ट्रका र १० हजार ८ सय ७२ जना अन्य मुलुकका पर्यटक भित्रिएको सगरथामा राष्ट्रिय निकुञ्जका प्रमुख भूमिराज उपाध्यायले बताए ।

विदेशी पर्यटक विशेषगरी अक्टोबर र नोभेम्बर गरी २ महिना हिमाली क्षेत्रको अवलोकन एवं भ्रमणमा आउँछन् । अझै १५ दिनसम्म पर्यटक आउने क्रम जारी रहने उपाध्यायले जनाए । उनका अनुसार असोज र कात्तिकमा मात्रै निकुञ्जले प्रवेश शुल्कबापत सवा ४ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।

असोजमा १ करोड ५२ लाख ३० हजार ४ सय ६७ रुपैयाँ र कात्तिकमा २ करोड ७५ लाख ३० हजार ३ सय २ रुपैयाँ गरी अहिलेसम्म ४ करोड २७ लाख ६० हजार ७ सय ६९ रुपैयाँ संकलन भएको हो । ‘प्रवेश शुल्कबापत नेपाली नागरिकलाई प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रका नागरिकलाई १ हजार ५ सय र अन्य देशका पर्यटकलाई ३ हजार नेपाली रुपैयाँ उठाउँदै आएका छौं,’ उनले भने ।

निकुञ्जले खुम्बु क्षेत्रको एक मात्र प्रवेशद्वार जोरसल्लेमा चेक पोस्ट नै राखेर राजस्व संकलन र पर्यटकको अभिलेख राख्ने काम गरिरहेको छ । खुम्बु क्षेत्रमा चिसो बढेसँगै फर्कने पर्यटकको संख्यामा पनि वृद्धि भएको तथ्यांकले देखाउँछ । प्रतिदिन ३ सयको हाराहारीमा पर्यटक फर्किरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए । ‘दिनको ३ सयभन्दा बढी पर्यटकले खुम्बु क्षेत्र छोडिरहेका छन् भने १ सय पर्यटक भित्रिरहेका पनि छन्,’ उनले भने ।

हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त हुने भए पनि सगरमाथा क्षेत्रको दृश्यावलोकनका लागि भने शरद याममा पर्यटकको घुइँचो नै लाग्छ । यस क्षेत्रमा आउने ८० प्रतिशतभन्दा बढी पर्यटक हवाई क्षेत्र हुँदै आउँछन् । बाँकी भने सदरमुकाम सल्लेरी हुँदै ग्राभेल सडक प्रयोग गरी खुम्बु पासाङल्हामु गाउँपालिकाको थामडाँडासम्म पुग्छन् । त्यसपछि आधा दिनको पैदल यात्रा गर्दै लुक्ला पुग्छन् ।

पर्यटकको संख्या बढेसँगै अहिले खुम्बुवासीको आर्थिक उपार्जनको मुख्य स्रोत होटल भरिभराउ छन् । खुम्बु क्षेत्रमा सानाठूला गरी ५ सयभन्दा बढी होटल सञ्चालनमा छन् । ‘३ वर्षदेखि होटलमा तालै लगाएर राखिएको थियो, यो सिजनमा पर्यटक आएपछि निकै राहत पुगेको छ,’ नाम्चेका व्यवसायी छिमिकाल्देन शेर्पाले भने । कोरोना महामारीले रोजगारी गुमेका सयौं पर्यटन व्यवसायी र मजदुरको समेत जागिर जोगिएको छ ।

‘एउटा पर्यटक नेपालमा पाइला टेक्नासाथ ३ जना नेपालीले जागिर पाउँछन्,’ ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोलाले भने, ‘खुम्बु क्षेत्रमा यस पटक मात्रै ४० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।’

प्रकाशित : मंसिर ३, २०७९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?