कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सिंहदरबार क्षेत्रमा धमाधम तार व्यवस्थापन गरिँदै

काठमाडौँ — विद्युत् प्राधिकरणले १५ कात्तिकमा सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुण्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेपछि इन्टरनेट सेवा प्रदायकले हाल सिंहदरबार क्षेत्रमा तार व्यवस्थापनको काम तीब्र बनाएका छन् ।

सिंहदरबार क्षेत्रमा धमाधम तार व्यवस्थापन गरिँदै

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा अनावश्यक झुण्डयाइएका उपकरणका कारण सहर कुरुप बनेको भन्दै ‍प्राधिकरणले ४५ दिनभित्र तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले हाल सिंहदरबार आसपास क्षेत्रमा तार व्यवस्थापनको काम जारी रहे पनि यसले दीर्घकालीन समाधान नदिने जनाएको छ । प्रयोगमा नरहेका तार हटाउने र छरपष्ट झुण्डिएका तारलाई एककठ्ठा (बन्चिङ) गरी व्यवस्थापन गरिरहेको आईस्पानले जानकारी दिएको छ ।

आफूहरूले पछिल्लो छ महिनायता चरणवद्ध रूपमा तार व्यवस्थापनको काम गरिरहेको आईस्पानले जनाएको छ । ‘तर, यो अल्पकालीन समाधान मात्रै हो,’ आईस्पानका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले भने, ‘दीर्घकालीन समाधानका लागि हामीले विद्युत् प्राधिकरणले भूमिगत गरिरहेको डक्ट (पाइप)मा पहुँच दिनुपर्‍यो भनिरहेका छौं ।’ यसका लागि दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गरिनुपर्ने खड्काको भनाइ छ । प्राधिकरणले हाई भोल्टेज ट्रान्समिसन लाइनहरूलाई भूमिगत गर्दा तीनवटा पाइप (डक्ट) विछ्याइएको र त्यसमध्ये दुईटा पाइप इन्टरनेट र केबलहरूका लागि छुट्याइएको जनाएको छ । तर, ती डक्टमा कसले, कसरी तारहरू भूमिगत गर्ने भन्नेबारे मोडालिटी बनेको छैन । दूरसञ्चार पूर्वाधार कम्पनी बने सोहीमार्फत् नेपाल दूरसञ्चार प्राधिकरणले डक्ट लिएर इन्टरनेट सेवा प्रदायकलाई दिने योजना बनेको छ ।

‘कम्पनी स्थापनाको काम एक चरण अघि बढेको भन्ने सुनेको छु,’ खड्काले भने, ‘त्यसपछि तार व्यवस्थापनको काम सहज र दीर्घकालीन हुन्छ ।’ हाललाई आफूहरूले पुतलीसडक, अनामनगर, डिल्लीबजार, माइतीघर क्षेत्रमा लथालिङ्ग भएका तारहरू व्यवस्थित गरिरहेको उनले बताए । विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा तोकिएको समयमा तार व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरण प्राधिकरण आफैंले हटाउने उल्लेख थियो ।

प्रकाशित : मंसिर २, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?