कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१४ महिनापछि शोधनान्तर स्थिति बचतमा

यज्ञ बञ्जाडे

काठमाडौँ — रेमिट्यान्समा सुधार, आयातमा कमी र विदेशी सहायतामा वृद्धि भएपछि १४ महिनापछि मुलुकको बाह्य क्षेत्र सुधारोन्मुख अवस्थामा पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औंल्याएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत असोज महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले शोधनान्तर स्थिति बचतमा, रेमिट्यान्स आप्रवाहमा दोहोरो अंकको वृद्धि र कुल विदेशी मुद्रा सञ्चिति (अमेरिकी डलरमा) घट्ने दरमा कमी आएको देखाएको हो ।

१४ महिनापछि शोधनान्तर स्थिति बचतमा

उल्लिखित तथ्यांकलाई विश्लेषण गर्दा विगतमा संकटोन्मुख अवस्थामा पुगेको मुलुकको बाह्य क्षेत्र नियन्त्रणमा आएको अर्थविद्हरूले बताएका छन् । अहिलेको अवस्थालाई अर्थतन्त्रको सुधार भन्न नसकिए पनि बाह्य क्षेत्र नियन्त्रणमा आएको बलियो संकेत भएको उनीहरूको दाबी छ । सरकारले आयात रोक्का गर्दा आर्थिक गतिविधिमा संकुचन आएकाले तिनलाई खुलाउनुपर्ने माग निजी क्षेत्रले गरिरहको बेला राष्ट्र बैंककै प्रतिवेदनले बाह्य क्षेत्रमा सुधार आएको देखाएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत दातृ निकायले पनि आयात खुला गर्न सरकारलाई सुझाव दिँदै आएका छन् । आयात रोक्का तथा त्यसका लागि राज्यद्वारा गरिएका नीतिगत व्यवस्थालाई कारण देखाउँदै आईएमएफले यसअघि स्वीकृति भएको एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ) को दास्रो किस्ताको भुक्तानीसमेत रोकेको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपाल भत्रिने र बाहिरिने विदेशी मुद्राको अनुपात देखाउने सूचक शोधनान्तर स्थिति गत असोजमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा छ । १४ महिनादेखि निरन्तर घाटामा रहँदै आएको शोधनान्तर स्थिति असोजमा बचतमा गएको हो । गत आर्थिक वर्षको असोजमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति गत असोजमा ९ करोड १८ लाखले बचतमा रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ । गत भदौमा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो ।

चालु आवको पहिलो ३ महिनासम्मको तथ्यांकले मुलुकको बाह्य क्षेत्र नियन्त्रण बाहिर जानबाट जोगिएको देखाएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘गत असोज महिनाको तथ्यांकले मुलुकको बाह्य क्षेत्र नियन्त्रणमा आएको संकेत गरेको छ,’ उनले भने, ‘५/६ महिनाअघिसम्म संकटोन्मुख अवस्थामा रहेको बाह्य क्षेत्र राज्यको नियन्त्रण बाहिर जाने डर थियो, अहिले हटेको छ ।’ बाह्य गतिविधि संकुचन भएकाले बाह्य क्षेत्र नियन्त्रणमा आएको उनको ठहर छ । बाह्य क्षेत्र नियन्त्रणमा आएसँगै मुलुकको अर्थतन्त्र मन्दीमा जाने प्रशस्त संकेत देखिएको पनि उनको भनाइ छ ।

‘निजी क्षेत्रतर्फ जाने कर्जा ६/७ प्रतिशत मात्र छ । यो सोही अवधिको मूल्यवृद्धि दरभन्दा कम हो । आर्थिक गतिविधि चलायमान हुन निजी क्षेत्रको कर्जा प्रवाह वृद्धिदर कम्तीमा दोहोरो अंकमा हुनुपर्छ,’ उनले भने, ‘यतिबेला निजी क्षेत्रको गतिविधि सुस्ताएको छ । यस्तो अवस्थामा राष्ट्रिय पुँजी निर्माणमा करिब ७५ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको गतिविधिलाई प्रोत्साहन गर्न राज्यको ध्यान जानुपर्छ ।’ गत वर्षको तुलनामा चालु आवको पहिलो ३ महिनामा सरकारको राजस्वमा कमी आएको र निजी क्षेत्रको गतिविधि खुम्चिनु नै अर्थतन्त्र मन्दीतर्फ गएको संकेत भएको उनले बताए ।

पछिल्लो तथ्यांकले समग्र अर्थतन्त्र नभई मुलुकको बाह्य क्षेत्र मात्र सुधारोन्मुख भएको देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘कुल विदेशी मुद्रा सञ्चिति गत असारकै हाराहारीमा छ । रेमिट्यान्स आप्रवाह र विदेशी सहायता बढेको छ,’ उनले भने, ‘यी कारणले अहिले बाह्य सूचकहरू सुरक्षित देखिएका छन् । अब अर्थतन्त्र नियन्त्रणमै छ भन्न सकिन्छ तर अहिलेको सुधारको दिगोपनमा आशंका छ ।’

उनका अनुसार सरकारले केही वस्तुको आयातमा रोक लगाएको, आयात नियन्त्रण गर्न राष्ट्र बैंकले नगद मार्जिनलगायत विभिन्न नीतिगत व्यवस्था गरेकोलगायत कारण बाह्य क्षेत्र अहिलेको अवस्थामा आएको हो । ‘आयात नियन्त्रणका लागि अवलम्बन गरिएको नीतिगत व्यवस्था खुकुलो बनाएपछि फेरि बाह्य क्षेत्रमा दबाब आउँछ कि आउँदैन त्यो मुख्य कुरा हो,’ उनले थपे, ‘आयातसम्बन्धी नीतिगत व्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याउँदा पनि बाह्य क्षेत्रमा दबाब आएन भने मात्र अर्थतन्त्रमा सुधार भएको मान्नुपर्छ ।’ गत असोजमा रेमिट्यान्स करिब १७ प्रतिशतले बढेको, आयात १६ प्रतिशतले घटेको र विदेशी सहायता थप १७ अर्ब भित्रिएकाले शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायत सूचक सुधारोन्मुख अवस्थामा पुगेको उनले बताए ।

गत असोजमा कुल विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ४८ करोड छ । यो गत असारको तुलनामा ०.६ प्रतिशतले मात्र कमी हो । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो । अघिल्ला महिनाहरूको तुलनामा असोजमा कुल विदेशी मुद्रा सञ्चितिको घट्ने दरमा कमी आएको हो । रेमिट्यान्स बढेको, आयात घटेको, विदेशी सहायता बढेकोलगायत कारण पछिल्ला महिनामा कुल विदेशी मुद्रा सञ्चितिको घट्ने क्रममा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

तर, नेपाली रुपैयाँमा भने गत असारको तुलनामा असोजमा कुल विदेशी मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेर १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असारमा यो आँकडा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । उक्त अवधिमा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेकाले विदेशी मुद्रा सञ्चितिमा पनि सुधार भएको देखिएको हो ।

गत भदौमा मात्र सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार भएको भन्दै त्यसअघि रोक्का गरिएका चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे/कुरमुरे/लेज, रंगीन टीभी, हीरालगायत ६ प्रकारका वस्तुको आयात खुला गरेको थियो । तर, गाडी, मोटसाइकल, मदिरा र स्मार्ट फोनको आयात मंसिरसम्मका लागि रोक्का गरिएको छ । सरकारले १० प्रकारका विलासी वस्तुको आयात रोक्का गरेको, राष्ट्र बैंकले करिब १४ सय वस्तुको आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) मा कडाइ गरेको, कर्जा विस्तारमा संकुचनकारी नीति लिएकोलगायत कारण अर्थतन्त्रका सूचकमा सुधारका संकेत देखिएको अर्थविद्हरूको भनाइ छ ।

गत असोजसम्मको विदेशी मुद्रा सञ्चितिले ९.६ महिनाका लागि वस्तु र ८.३ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने दाबी राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले चालु आवमा ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ । ‘आव ०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ राष्ट्र बैंकले भनेको छ ।

गत असोजमा रेमिट्यान्समार्फत २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आवको सोही अवधिको तुलनामा यो करिब १६.८ प्रतिशतले धेरै हो । गत आवको असोजसम्म रेमिट्यान्स आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.९ प्रतिशतले बढेर २ अर्ब १९ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।’

यसैगरी, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले बढेर १ लाख ४७ हजार ९ सय ३२ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत असोजमा ६६.२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

गत आवको साउनदेखि चैतसम्म रेमिट्यान्स लगातार घटिरहेको थियो । वैशाखदेखि रेमिट्यान्सको वृद्धिदर सकारात्मक हुन थालेको हो । यसअनुसार गत वैशाखमा ०.२ प्रतिशत बढेको रेमिट्यान्स जेठमा ३.८ प्रतिशत र असारमा ४.८ प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना साउनयता पनि यो सूचक निरन्तर बढ्दो क्रममा नै छ । गत भदौमा रेमिट्यान्स २० प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गत असोजमा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर औसत ८.५ प्रतिशत छ । असोजको मूल्यवृद्धि पनि राष्ट्र बैंकले चालु आवमा तय गरेको मुद्रास्फीतिको वार्षिक लक्ष्यभन्दा बढी हो । राष्ट्र बैंकले चालु आवमा औसत ७ प्रतिशतभित्र मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य तय गरेको छ ।

गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८.८५ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्यवृद्धि १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्धजन्य पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको देखिन्छ । सोही अवधिमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ९.४५ प्रतिशत, शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ७.६८ प्रतिशत राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?