नेपाल-चीनबीच १६ अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौता

काठमाडौँ — नेपाल र चीन करिब १६ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग सम्झौता भएको छ । चीनले यसअघि नै घोषणा गरेको उक्त रकमलाई नेपालले पाउने गरी मंगलबार बेइजिङमा सम्झौता भएको हो ।

नेपाल-चीनबीच १६ अर्ब रुपैयाँ बराबरको सहयोग सम्झौता

नेपालको तर्फबाट नेपाल सरकारको सहमतिअनुसार चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको तर्फबाट चाइना इन्टरनेसनल डेभलेपमेन्ट कोअपरेसन एजेन्सीका प्रमुख लुओ चाओहुईले हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षरसँगै अब नेपालले विभिन्न परियोजनाका लागि चिनियाँ पक्षलाई प्रस्ताव पेस गरेर रकम लिन सक्छ ।

गत साउनको अन्तिम साता परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणको दौरान चिनियाँ समकक्षी वाङले नेपाललाई आर्थिक सहयोगको प्रतिबद्धता गरेका थिए । उनीहरुबीचको भेटवार्तापछि बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै नेपालले चीनबाट ८०० मिलियन आरएमबी (करिब १५ अर्ब १३ करोड रुपैयाँ) सहयोग सन् २०२२ मा पाउने उल्लेख थियो । यस्तै, तीन मिलियन आरएमबी (करिब साढे ५ करोड रुपैंया) नेपालको विपद् व्यवस्थापनमा र दुई मिलियन आरएमबी (करिब ३ करोड ७८ लाख रुपैंया) मेडिकल सामग्रीका लागि नेपालले चीनले सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

चीनका लागि नेपालका राजदूत श्रेष्ठले कान्तिपुरसँग कुरा गर्दै अब नेपालले उक्त रकम प्राप्त गर्ने र त्यसको लागि आयोजनाहरू चीनसामु पेस गर्नु पर्ने प्रस्ट पारे । ‘कुन–कुन कार्यक्रम र योजनालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा दुई मुलुक बीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । साथै, सन् २०२२ को भनिएको आर्थिक अनुदान सहयोग अब २०२३ सम्मको लागि नेपालले उपयोग गर्न सक्ने सहमति भएको छ,’ उनले भने ।

राजदूत श्रेष्ठले नेपालमा अहिले २१ वटा आयोजनामा चिनियाँहरुले काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी रूपमा अघि बढाउनका लागि छलफलसमेत भएको बताए ।

नेपाली राजदूतावासका प्रतिनिधिहरु र चिनियाँ पक्षबीचमा बुधबार पनि बेइजिङमा नेपालमा निर्माण भइरहेका र निर्माण हुन बाँकी रहेका परियोजनाको बारेमा छलफल भएको थियो । राजदूत श्रेष्ठका अनुसार छलफलमा टोखा–छहरे सुरुङ मार्ग, स्याफ्रुबेंसी–केरुङ सडक मार्ग, रसुवाको टिमुरे र काभ्रेको पाँचखालको सुख्खा बन्दरगाह, कोदारी मार्गको स्तरोन्नति, नारायणघाट–बुटवल खण्डको सडक स्तरोन्नति, उपत्यकाको रिङ रोडको बाँकी कामलगायत योजनाहरूलाई अघि बढाउने विषयमा छलफल भएको थियो ।

‘दुवै पक्षले आ–आफ्नो तर्फबाट गरेको काम र भएको समस्याको बारेमा जानकारी दिएर अगामी दिनमा कामलाई कसरी प्रभावकारी ढंगबाट अघि बढाउने विषयमा छलफल गरेका छन्,’ राजदूत श्रेष्ठले भने,‘यसले दुवै मुलुकलाई फाइदा गर्छ र सम्बन्धलाई थप बलियो बनाउँछ ।’

श्रेष्ठले चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्दा घोषणा गरेको त्यस बेलाको ५६ अर्ब रुपैयाँलाई कसरी उपयोग गर्ने सम्बन्धमा पनि दुवै पक्षबीचमा छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित : मंसिर १, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?