१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कृषि सामग्री कम्पनीको ५ हजार टन युरिया वीरगन्ज भित्रियो 

शंकर आचार्य

वीरगन्ज — कृषि सामग्री कम्पनीको ५ हजार मेट्रिक टन युरिया मल वीरगन्ज भित्रिएको छ । भारतको बिशाखापटनम बन्दरगाह हुँदै आएको युरिया मलको पहिलो र्‍याक शनिबार र दोस्रो र्‍याक सोमबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले जानकारी दिए ।

कृषि सामग्री कम्पनीको ५ हजार टन युरिया वीरगन्ज भित्रियो 

एउटा रेल्वे र्‍याकले सामान्यतया २ हजार ५ सय टन मल बोक्छ । भारतको आइपीएल कम्पनीले ग्लोबल टेण्डरबाट कम्पनीको ३० हजार टन युरिया मल आपूर्ति गर्ने ठेक्का पाएको हो । उसले ओमानबाट खरिद गरी उक्त मल नेपाल ल्याएको हो । कुल ३० हजार टनमध्ये २२ हजार ५ सय टन मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आउँदै छ । त्यसमध्ये १२ हजार टन वीरगन्ज र १० हजार ५ सय टन भैरहवा प्रादेशिक कार्यालयले पाउने छन् । भैरहवाका लागि वीरगन्जबाट ढुवानी गरी मल लगिने छ । बाँकी ८ हजार ५ सय टन विराटनर प्रादेशिक कार्यालयले पाउने उनले बताए ।

वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको युरिया मल माग भएका जिल्लाहरुमा परिचालन समेत हुन थालेको कुमार बताउँछन् । ‘माग भएका जिल्लाहरुमा मल परिचालनको काम समेत सुरु भइसकेको छ,’ उनले भने, ‘हेटौंडा, सिन्धुली, भरतपुर, जनकपुर, चन्द्रपुर, ढल्केबर, सिन्धुली, कलैया, पर्वत र दमौली कार्यालयहरुमा समेत गरी ५ सय ३५ टन मल परिचालन भइसकेको छ ।’

गहुँबाली सिजनका लागि मलको माग आउन थालेको र माग भएका जिल्लाहरुमा क्रमश: परिचालन भइरहने उनले जानकारी दिए । मल भित्रिने क्रम जारी रहेकाले २ साताभित्र वीरगन्जमा २२ हजार ५ सय टन आइसक्ने सम्भावना रहेको उनले बताए ।यस बाहेक भारत सरकारसँग जीटूजी मार्फत पनि थप ३० हजार टन युरिया मल खरिद गर्ने प्रकृया चलिरहेकाले त्यो मल पनि गहुँ बाली सिजनकै लागि उपयोगी हुने गरी आउन सक्ने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २८, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?