क्रिप्टोकरेन्सी एक्स्चेन्ज कम्पनी 'एफटीएक्स' संकटमा

एजेन्सी

काठमाडौँ — विश्वकै दोस्रो ठूलो क्रिप्टोकरेन्सी एक्स्चेन्ज कम्पनीका रुपमा स्थापित हुन सफल भएको ‘एफटीएक्स’ संकटमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अबको केही सातामा यो कम्पनीको अस्तित्व सकिनेछ । अन्य मुद्रालाई क्रिप्टोका रुपमा कारोबार गर्दै आएको एफटीएक्स संकटमा परेसँगै बिटक्वाइन, इथेरियमजस्ता डिजिटल करेन्सीको मूल्यमा थप गिरावट आएको छ ।

क्रिप्टोकरेन्सी एक्स्चेन्ज कम्पनी 'एफटीएक्स' संकटमा

एफटीएक्सले अमेरिकामा ‘ब्यांक्रप्सी’को लागि निवेदन दिएको छ । यसको अर्थ सो कम्पनीले अब ऋण तिर्न नसक्नेगरी संकटमा पुगेको घोषणा गर्न चाहेको छ । अदालतको स्वीकृतिपछि अब यो कम्पनीलाई अन्य कसैले सम्पत्ति तथा दायित्व मूल्यांकन गरी स्वीकार्न चाहेमा पुर्नसंरचना गरी सञ्चालन गर्न सक्नेछन् । यसका सीईओ रहेका बैंकमेन फ्राइडले सो पदबाट राजीनामा दिनुपरेको छ । उनले शुक्रबार मात्रै आफ्नो ट्विटरमा क्षमा माग्दै ‘ब्यांकरप्सी’को लागि निवेदन दिएको पुष्टि गरेका छन् ।


कम्पनीलाई नगदको संकट परेसँगै 'ब्यांक्रप्सी'मा पुगेको हो । एफटीएक्स संकटमा परेसँगै यससँग जोडिएका क्रिप्टोकरेन्सी तथा ब्ल्कचेनसँग जोडिएका कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । पछिल्ला साता क्रिप्टो मार्केटमा भारी गिरावट देखिएको छ । पछिल्लो ७ दिनमा बिटक्वाइनको मूल्य २२ प्रतिशतले घटेको छ । हाल यसको मूल्य १६ हजार ५५० अमेरिकी डलर हाराहारीमा झरेको छ । त्यस्तै अर्को करेन्सी इथेरियमको मूल्य सोही अवधिमा २३ प्रतिशत घटेर १२२७ डलर हाराहारीमा छ । एफटीएक्सलाई अर्को उस्तै कम्पनी बाइनान्स एक्सचेन्जले अधिग्रहण गर्न खोजेपनि पछि हटेको थियो । हाल क्रिप्टोकरेन्सीको बजार पुँजीकरण घट्दै गएको छ । क्रिप्टोमा गरेको लगानीबाट लगानीकर्ता बाहिरिँदै गएका छन् ।

प्रकाशित : कार्तिक २७, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?