लन्डनमा पर्यटनसम्बन्धी विश्व कुम्भमेला, नेपालको उत्साहजनक सहभागिता- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनमा पर्यटनसम्बन्धी विश्व कुम्भमेला, नेपालको उत्साहजनक सहभागिता

नविन पोखरेल

लन्डन — पर्यटनसम्बन्धी विश्वकै कुम्भमेला वर्ल्ड ट्राभल मार्केट (डब्लुटीएम) मा नेपालले यस वर्ष पनि उत्साहजनक सहभागिता जनाएको छ । नोभेम्बर ७ देखि ९ सम्म लन्डनको एक्सेलमा आयोजित उक्त मार्टमा नेपालबाट ट्राभल टुरिजम सम्बन्धी २४ वटा नेपाली कम्पनी सहभागी थिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालका विभिन्न पर्यटन कम्पनीले सहभागिता जनाएका हुन् ।

मेलामार्फत् नेपालको पर्यटन गन्तव्यबारे विश्वभर प्रचारप्रसार गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए । कोभिड महामारीको झण्डै तीन वर्षपछि प्रत्यक्षरुपमा भएको उक्त अन्तर्राष्ट्रिय जमघटले नेपालको थलिएको पर्यटन व्यवसाय पुनरुत्थानमा सघाउ पुग्ने आशा रहेको रेग्मीले बताए । मेलामा नेपाली व्यवसायीले निजी क्षेत्रका पुराना व्यावसायिक सम्पर्कहरू नवीकरण गर्ने र नयाँ व्यापार साझेदारी स्थापना गर्ने अवसर पाएको भन्दै रेग्मीले यसबाट नेपालको पर्यटनलाई पुनः लयमा फर्काउन सहयोग पुग्ने उल्लेख गरे ।

नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मेलामा नेपालको स्टल उद्घाटन गर्दै सहभागी कम्पनीमार्फत् नेपाल प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलामा विश्वभरका पर्यटनसँग सम्बन्धित संगठन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, ट्राभल एजेन्ट, टूर अपरेटर, होटल व्यवसायी, ट्राभल ट्रेक कम्पनी, यातायात अपरेटर, एयरलाइन्स, साहसिक खेलकुद कम्पनीलगायतको सहभागिता थियो ।

मेलामा सहभागी विश्व प्रख्यात एभरेष्ट म्याराथनका संस्थापक तथा ग्रिसका लागि नेपाली अवैतनिक दूत विक्रम पांडेकाजीले मेलाले नेपालको पर्यटन प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्ने आशा व्यक्त गरे । 'नेपाली व्यवसायीले अन्य देशका व्यवसायीको अनुभव र आइडिया आदानप्रदान गर्ने अवसर पाएका छन् जुन उपलब्धि मान्नुपर्छु,' उनले भने । विश्वका एकसय बढी देशका करिब २५ सय प्रदर्शक सहभागी उक्त ट्राभल मेलामा दर्जनौं विभिन्न सेमिनार पनि भएका थिए ।

दूतावासमा नेपाल साँझ

यसैबीच, नेपाल पर्यटन बोर्ड र लन्डनस्थित नेपाली राजदूतावासले गत मंगलबार बेलुका नेपालको पर्यटन प्रवर्द्धन गर्न दूतावासमा एक कार्यक्रम आयोजना गरे । उक्त कार्यक्रममा ब्रिटिश तथा नेपाली पर्यटन व्यवसायीको उल्लेख्य सहभागिता थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै चर्चित पर्वतारोही सर क्रिस बोनिङ्गटनले नेपाल र नेपालीहरुले आफूलाई लगाएको गुन कहिल्यै तिर्न नसक्ने बताए ।

सर बोनिङ्गटनले पहिलो पटक सन् १९६० मा नेपाल भ्रमण गरेको स्मरण गरे । आफूले पहिलो पटक सन् १९७५ र पछि फेरि १९८५ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको सम्झँदै उनले भने, 'पछिल्लो पटक म सन् २०१७ मा नेपाल पुगेको थिएँ । अहिले त नेपाल चिनिन नसक्नेगरी बदलिएछ । तर नेपालका पहाडहरु भने अहिले पनि त्यत्तिकै चुनौतिपूर्ण छन् ।' अर्का पर्वतारोही एलान हिंक्सले ३५ वर्ष पहिले आफूले नेपालमा मनास्लु पर्वत आरोहण गरेको सम्झना गरे ।

उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत आचार्यले नेपाल सबै याममा सबै उमेर समूहका मानिसले भ्रमण गर्न सक्ने पर्यटन गन्तव्य रहेको बताउँदै भ्रमण गर्न आह्वान गरे। उनले नेपालको प्राकृतिक सौन्दर्यका साथै जैविक विविधता पनि संसारमै अनुपम रहेको बताए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोभिडका कारण नेपाल जाने पर्यटक संख्या घटेपनि अहिले फेरि बढ्न थालेको बताए । उनले १२५ वटा जातीय समुदाय र १२४ भाषा बोलिने साँस्कृतिक विविधतापूर्ण मुलुक नेपाल साहसिक पर्यटन र पर्वतारोहणका लागि पनि नामी गन्तव्य भएको बताए । उनले नेपालको झन्डै ४० प्रतिशत भूभाग जंगलले ढाकिएको र झन्डै २४ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको जानकारी गराए ।


प्रकाशित : कार्तिक २५, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा सत्ता गठबन्धनले शनिबार चुनावी सभा गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनले शनिबार चितवनमा चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले आसन्न निर्वाचन लक्षित संयुक्त आमसभा गर्न लागेको हो ।

भरतपुरमा हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू चितवन शनिबार जाने कार्यक्रम छ ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रलाई लक्षित गरेर आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

गठबन्धनबाट चितवन–१ मा कांग्रेसका विश्वराज पौडेल चितवन–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र चितवन–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन् । यहाँ ठूला दलहरूलाई पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ । लामिछाने आफैं चितवन–२ मा उम्मेदवार बनेका छन् भने त्यसको प्रभाव आसपासमा समेत परेको छ ।

यहाँ नेकपा एमालेबाट क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवार छैनन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका छन् । राप्रपाका विक्रम पाण्डे पनि यही क्षेत्रबाट उम्मेदवार छन् ।

प्रकाशित : कार्तिक २५, २०७९ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×