काठमाडौँ — मर्जर तथा एक्विजिसनमा जाने सूचीकृत संस्थाहरूको सेयर कारोबार अब १५ दिन मात्र रोक्का हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबारदेखि लागू गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ मा उक्त व्यवस्था उल्लेख छ ।
निर्देशिकामा गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण लगायत कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था गरिएको छ । ‘संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा अर्को संस्थालाई प्राप्ति गर्ने संस्थाको भने सेयर कारोबार रोक्का राख्नुपर्ने छैन,’ निर्देशिकामा भनिएको छ । यो व्यवस्थासँगै अब दोस्रो बजारमा सूचीकृत सबै संस्थाहरुका लागि एकीकृत नीति बनेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाका लागि मात्र सेयर कारोबार रोक्का गर्ने नीतिगत व्यवस्था थियो । निर्देशिका लागू भएपछि मर्जरका नाममा लामो समयसम्म सेयर कारोबार रोक्का गर्न नपर्ने भएकाले लगानीकर्ता सेयर किनबेचबाट वञ्चित हुनुपर्ने बाध्यता हटेको छ ।
काठमाडौँ — असोज, कात्तिक र मंसिर महिना सुनचाँदी कारोबारका लागि मुख्य सिजन मानिन्छ । यी तीन महिनामा दसैं, तिहार, छठजस्ता पर्व पर्ने र बिहेको सिजन समेत सुरु हुने भएकाले गरगहनाका अर्डर आउने मुख्य सिजन रहेको व्यवसायी बताउँछन् । तर यहीं बेला बजारमा भने सुन अभाव रहेको व्यवसायीको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले हाल तोकिएको दैनिक १० केजीको कोटाले माग नधान्ने बताए । हाल सुनको माग दैनिक २५ किलो हाराहारी रहेकाे उनले बताए ।
‘दसैं, तिहार र बिहेको सिजनमा सुनको माग दैनिक २५/३० केजीसम्म हुन्छ, तर आपूर्तिको अवस्था हेर्दा एकदम न्यून छ,’ सोमानीले भने, ‘हालको दैनिक १० किलो कोटाले माग धान्दैन, व्यवसायीहरु धेरै मारमा परे ।’ मंसिर अर्थात बिहेको सिजन सुरु हुँदा केही दिन माग बढेर ४० किलोसम्म पुग्ने उनले बताए । राष्ट्र बैंकले भने दैनिक आपूर्ति कोटा १० किलो मात्रै निर्धारण गरेको छ । जसले गर्दा बजारमा अभाव सुन भएको व्यवसायी बताउँछन् । उपभोक्ताबाट फिर्ता आएको गहनाबाट पनि अहिले केही माग धानिएको उनले बताए ।
बजारमा सुन अभाव भएपछि देशभरका सुनचाँदी व्यवसायीले महासंघको ध्यानाकर्षण गराएका छन् । आपूर्ति व्यवस्था प्रभावकारी बनाउन आवश्यक पहल गर्न आग्रह गरेका छन् । हालै रुपन्देही सुनचाँदी व्यवसायी संघको प्रतिनिधिमण्डले महासंघलाई आपूर्ति बढाउन माग गर्दै ज्ञापन पत्र बुुझाएको थियो । यसअघि ललितपुर सुनचाँदी व्यवसायी संघले पनि महासंघलाई ज्ञापनपत्र बुुझाएको थियो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन आपूर्ति हुन नसक्दा व्यवसायीलाई मर्का परेको बताए । आपूर्ति बढाउन महासंघले सम्वद्ध निकायसँग आवश्यक पहल गरिरहेको बताए ।
विदेशी विनिमय सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति बढाउन चाहेको छैन । नेपालमा मुख्यत दुबई, स्विजरल्याण्ड, टर्की, अष्ट्रेलिया लगायत मुलुकबाट सुनको आयात हुन्छ । वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्था छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । सिजनको बेला आयात कोटा बढाउने चलन भएपनि यस वर्ष मुद्रा सञ्चिति अवस्था देखाउँदै आयात कोटा बढाइएको छैन । जसले गर्दा व्यवसायीले बजारमा सुन अभाव भोगेका छन् ।