एक दिन पनि टिकेन ट्विटरको 'अफिसियल' लेबल

एजेन्सी

काठमाडौँ — बुधबार ट्विटरमा देखापरेको अफिसयिल लेबल केही बेरपछि हराएको छ । कम्पनीले कतिपय चर्चित व्यक्ति, समाचार संस्था आदिका आधिकारिक ट्विटर खातामा अफिसियल लेबल लगाइदिएको थियो । बिहीबार बिहानसम्ममा त्यो हटाइएको छ ।

एक दिन पनि टिकेन ट्विटरको 'अफिसियल' लेबल

‘कृपया याद गर्नुहोला, ट्विटरले आउने महिनाहरुमा थुप्रै मुर्ख कामहरु गर्नेछ,’ कम्पनीका नयाँ मालिक इलन मस्कले बुधबार राति ट्विट गरेका थिए, ‘जुन प्रयास प्रभावकारी हुन्छ, त्यो राख्छौं, जुन हुँदैन, त्यो हटाइनेछ ।’ अमेरिकी युट्युबर मार्केस ब्राउन्लीले अफिसियल लेबल गायब भएको बारे ट्विट गरेपछि इलनले ‘त्यसलाई मैले भर्खरै हटाएँ... निलो टिक मार्क नै काफी छ’ आशयको प्रतिउत्तर दिएका थिए । बुधबार बिहान मात्रै ट्विटरले संस्थाका भेरिफाइड एकाउन्टहरुमा अफिसियल लेबल लगाउने जानकारी दिएको थियो ।

‘पहिले नै भेरिफाइड भएका सबै एकाउन्टमा अफिसियल लेबल आउने छैन,’ ट्विटरले भनेको थियो, ‘र, पैसा तिरेर अफिसियल लेबल किन्न पाइने छैन । सरकारी कार्यालयका खाता, व्यवसायिक कम्पनी, व्यापारी, सञ्चार माध्यम, प्रकाशक र केही सार्वजिक व्यक्तिहरुका खातामा यो लेबल देखिनेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, न्यु एजेन्सी रोयटर्स, समाचार संस्था सीएनएनलगायतका ट्वीटर खातामा अफिसियल लेबल देखिएको थियो । अहिले हटाइएको छ । ‘हामीले हाल ट्विटर खाताहरुमा अफिसियल लेबल राखिरहेका छैनौं,’ ट्विटरले भनेको छ, ‘तर, हामी इम्पर्सनेसन (अरुको रुप धारण गर्ने) र डिसेप्सन (धोका) विरुद्ध आक्रमक रुपले लागिपरेका छौं ।’

प्रकाशित : कार्तिक २४, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?