कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

चुनावी नारामा रेल, तर ३ वर्षअघिको रेलमार्ग अध्ययन प्रतिवेदन थन्कियो

रेल विभागका महानिर्देशक भन्छन् : रेलमार्गका लागि स्रोत नै मुख्य समस्या 
विमल खतिवडा

काठमाडौँ — राजनीतिक दलहरुले चुनावताका रेल सञ्चालनलाई आफ्नो नारा बनाउँदै घोषणापत्रमा समेट्ने गरेका छन् । तर पूर्वसंभाव्यता अध्ययन पूरा भएका काठमाडौं–पोखरा–लुम्बिनी दुई रेलमार्गको प्रतिवेदन भने ३ वर्षदेखि थन्किएको छ । काठमाडौं– कुरिनटार–पोखरा र कुरिनटार–लुम्बिनी रेलमार्गको अध्ययन प्रतिवेदनअनुसार रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

चुनावी नारामा रेल, तर ३ वर्षअघिको रेलमार्ग अध्ययन प्रतिवेदन थन्कियो

निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । चीनका दुई सरकारी कम्पनीले २०७६ मंसिरमा नेपालको रेल विभागलाई काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो ।

अध्ययनपछि यसलाई अघि बढाउने मोडेल र स्रोतका विषयमा छलफल गर्ने भनिए पनि कुनै पहल गरिएन । रेल विभागका महानिर्देशक रोहित बिसुराल ठूला आयोजनाका लागि स्रोत जुटाउने विषय नै मुख्य बाधक हुने गरेको बताउँछन् । ‘जसको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनेको छ, ती रेलमार्गको त काम अघि बढ्न सकेको छैन भने पूर्व सम्भाव्यता अध्ययन मात्र भएको काठमाडौं–पोखरा–लुम्बिनीको त डीपीआर नै बनेको छैन’ उनले भने ।

ठूला आयोजना निर्माण थालनी ढिला हुनु भनेको लागत झन् बढ्दै जानु रहेको उनले बताए । उनले भने, ‘काम गर्ने नै हो भने तोकिएका आयोजनामा पर्ने जग्गा लिएर मुआब्जा दिँदै जानुको विकल्प छैन ।’ आयोजना निर्माण ढिला हुँदा मुआब्जा मात्रै नभई डलरको मूल्यसँगै अन्य सामग्रीमा समेत लागत बढ्न जाने उनको भनाइ छ ।

चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौं–पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले कुरिनटार–भरतपुर–लुम्बिनीको अध्ययन गरेका हुन् । पोखरा र लुम्बिनीतर्फ लैजाने रेलमार्ग केरुङ हुँदै काठमाडौं ल्याउने अर्को रेलमार्गसँग काठमाडौंको टोखामा जोड्नुपर्ने अध्ययनले देखाएको थियो  । त्यसकारण पोखरा र लुम्बिनीतर्फ जाने रेलमार्गको सुरु विन्दु टोखा हुनेछ ।

टोखादेखि–पोखराको लम्बाइ १६८ किलोमिटर हुनेछ  । यो रेलमार्ग निर्माणमा ३ खर्ब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यो खण्डमा धेरै सुरुङमार्ग बनाउनुपर्ने अध्ययनले देखाएको छ । टोखा–पोखरा रेलमार्गमा १३ वटा स्टेसन रहनेछन् । १० वटा सुरुङमार्ग हुने र तिनको कुल लम्बाइ ४९ किलोमिटर रहने अध्ययनमा औंल्याइएको छ । भौगोलिक अवस्थाअनुसार २ देखि ९ किलोमिटरसम्मका सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ । यो रेलमार्गमा ५४ वटा पुल पनि बनाउनुपर्छ । ती पुलको लम्बाइ २६ किलोमिटर रहनेछ । ‘पूर्व सम्भाव्यता अध्ययन रिपोर्टमा उल्लेख भएका यी विषय भोलि डीपीआर हुँदा दूरी तथा लागत तलमाथि पर्न सक्छ’ महानिर्देशक बिसुरालले भने । कुरिनटार–भरतपुर–लुम्बिनी रेलमार्गको दूरी १५५ किलोमिटर रहने अध्ययनमा देखिएको छ । यसको लागत ३ खर्ब रुपैयाँ अनुमान गरिएको छ । यो मार्गमा १४ वटा स्टेसन रहनेछन् । काठमाडौंबाट एउटै लाइन कुरिनटारसम्म जानेछ ।

त्यहाँबाट दुईतिर रेलमार्ग छुट्टिने गरी निर्माण गर्नुपर्नेछ । यो खण्डमा सुरुङ र पुलको दूरी २३/२३ किलोमिटर रहनेछ । त्यसमा ४६ वटा पुल र चार सुरुङमार्ग रहने अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘यो रेलमार्ग कसरी बनाउने, कसले बनाउने भन्नेबारे अहिलेसम्म छलफल पनि भएको छैन,’ महानिर्देशक बिसुरालले भने, ‘धेरै लागत लाग्ने भएकाले नेपाल सरकार आफैंले बनाउन सक्ने अवस्था पनि देखिँदैन ।’

प्रकाशित : कार्तिक २२, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?