समस्याग्रस्त सहकारीबाट ऋण लगेकाले १५ दिनभित्र चुक्ता नगरे कालोसूचीमा राखिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारद्वारा समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाका ऋणीहरुले तोकिएको समयमा ऋण चुक्ता नगरे कालोसूचीमा पर्ने भएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मंगलबार सूचना जारी गरेर तोकिएको समयभित्र ऋण चुक्ता नगरे कानुन बमोजिम कालोसूचीमा राखिने उल्लेख छ । सूचनामा ऋण भुक्तानीका लागि १५ दिनको म्याद दिइएको छ ।

समस्याग्रस्त सहकारीबाट ऋण लगेकाले १५ दिनभित्र चुक्ता नगरे कालोसूचीमा राखिने

‘समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सम्बन्धित सञ्चालक/ऋणी/व्यवस्थापक/कर्मचारीहरुलाई निजहरुले तिर्नुपर्ने दायित्व र साँवाको ब्याज बुझाउनका लागि पटक पटक आग्रह गर्दा पनि अझै भुक्तानी भइनसकेकाले १५ दिनको समय दिइएको छ,’ समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त समयभित्र आफूले तिर्नुपर्ने साँवा ब्याज समितिका कार्यालयमा बुझाउनुहोला । अन्यथा कानुन बमोजिम निजको राहदानी रोक्का राख्ने, नाम कालोसूचीमा राखिने व्यहोरा सूचनामार्फत जानकारी गराइन्छ ।’

समितिका अनुसार समस्याग्रस्त रहेका सहकारीहरुमा स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, लु: निभा बहुउद्देश्यीय सहकारी संस्था, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था, सोसाइटल बचत तथा ऋण सहकारी संस्था छन् ।

हालसम्म सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । तीमध्ये ओरियण्टल कोअपरेटिभको सर्वोच्च अदालतले खारेजी गरिदिएपछि हाल समस्याग्रस्त सहकारीको संख्या ११ वटा छ । समितिले यी संस्थाका ऋणीलाई ऋण भुक्तानी गर्न ताकेता गरेको हो ।


प्रकाशित : कार्तिक २२, २०७९ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?