भैरहवाको उडान योजना एक साताभित्रै बुझाउन निगमलाई पर्यटन मन्त्रालयको निर्देशन

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने योजना एक साताभित्र बुझाउन निर्देशन दिएको छ ।

भैरहवाको उडान योजना एक साताभित्रै बुझाउन निगमलाई पर्यटन मन्त्रालयको निर्देशन

निगमले आइतबार र सोमबार काठमाडौं–दिल्ली–काठमाडौं उडान नगरी यात्रु अलपत्र पारेको विषयमा आयोजित बैठकमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले निगमलाई एक साताभित्र भैरहवाबाट उडान गर्ने योजना मन्त्रालयमा पेस गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीका अनुसार उक्त बैठकले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितलाई आइतबार र सोमबार काठमाडौं र दिल्लीमा रोकिएका यात्रुलाई पहिलो प्राथमिकता दिई गन्तव्यमा पठाउन पनि निर्देशन दिएको थियो ।

‘मिति २०७९/७/१३ का दिन नेपाल वायुसेवा निगमको काठमाडौं–दिल्ली उडान हुन नसकी यात्रुहरू अलपत्र परेको सम्बन्धमा निगमबाट भएका कमी कमजोरीप्रति निगमले क्षमायाचना गर्दै आगामी दिनमा यस्तो गल्ती दोहोरिन नदिन प्रतिबद्धतासहित जिज्ञप्ति जारी गर्ने,’ मन्त्रालयद्वारा सोमबार साझ जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, निगमको वाणिज्य विभागले सोमबार र आइतबार दुवै देशमा रोकिएका केही यात्रुलाई निगमकै दिउँसोको उडान र अन्य विदेशी वायुसेवाबाट गन्तव्यमा पुर्‍याएको विभागका एक उपनिर्देशकले कान्तिपुरलाई बताए ।

प्रकाशित : कार्तिक १४, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?