पाल्पामा बढ्यो ढाकाको व्यापार

वार्षिक १० करोडको ढाका कपडाको व्यापार
माधव अर्याल

पाल्पा — तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारका रुपमा लगाउन प्रयोग हुने पाल्पाली ढाका र यसबाट बनेका सामग्रीको बिक्री बढेको छ ।
तिहारको दिनमा ढाकाबाट उत्पादित टोपी, पछ्यौरा, रुमाल, पर्स, स्टकोट, झोला, टाईलगायतका सामग्री उपहारको रुपमा प्रदान गर्ने प्रचलन छ ।

पाल्पामा बढ्यो ढाकाको व्यापार

दसैंपछि आन्तरिक पर्यटकको आगमन अत्यधिक भएपछि बिक्री पनि बढेको हो । विगत दुई वर्ष कोरोना संक्रमणले व्यापारमा कमी आए पनि यसवर्ष ढाकाको व्यापार राम्रो भएको पाल्पाली ढाका संघका सचिव तथा उद्योगी मनोजराज शर्मा पौड्यालले जानकारी दिए । ‘दसैंपछि तिहारसम्म ढाका कपडाको राम्रो व्यापार हुने गर्छ,’ उनले भने, ‘विगतका दुई वर्ष कोरोनाले थलो नै पारेको थियो । यसवर्ष केही भए पनि राम्रो व्यापार भएको छ ।’

दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई ढाकाबाट उत्पादित सामग्री दिने भएकाले पाल्पाली ढाकाको व्यापार राम्रो हुने गर्छ । आन्तरिक तथा बाह्य पर्यटकले समेत ढाकाको सामग्री उपहारको रुपमा लैजाने भएकाले बिक्री पनि बढ्ने व्यापारी सितम भण्डारीले बताइन् । ‘यसवर्ष उल्लेख्य व्यापार भयो,’ उनले भनिन्, ‘आन्तरिक तथा बाह्य पर्यटक साथै स्थानीय बजारमा पनि राम्रो खपत भयो ।’


दसैं लगत्तै मेचीदेखि महाकालीसम्मका भ्रमणमा सहभागीले ढाकाका सामग्री खरिद गर्ने गरेको उनले बताइन् । दैनिक कारोबारमा पाँच गुनासम्म बढेको उनले बताइन् । व्यापारीहरुका अनुसार दैनिक १०/१५ हजारको कारोबार हुने गरेकामा अहिले एक लाख बढीको व्यापार हुने गरेको छ । व्यापार बढेपछि यसपटक सबै ढाका व्यवसायी खुसी नै देखिएका छन् ।

ढाका कपडाका संस्थापक दिवंगत गणेशमान महर्जनकी श्रीमती पूर्णमाया महर्जनले आन्तरिक पर्यटकको पहिलो रोजाइ ढाका नै भएको बताइन् । उनले ढाका बिक्री बढी भएको नाममा ‘पाल्पालीको नाममा नक्कली ढाका’ बिक्री नगर्न आग्रह गरिन् । ‘पाल्पाली ढाकाको व्यापार राम्रो भएपनि यसमा पाल्पाली भनेर नक्कली ढाका बेच्नु भएन,’ उनले भनिन्, ‘ग्राहकलाई जे हो त्यही बताएर बिक्री गर्नुपर्छ ।’

तानसेनस्थित जानकी ढाका पसलका राजु भट्टराईले दसैंपछि बिक्रीदर ह्वात्तै बढेको बताए । अन्य समयको तुलनामा अहिले ढाकाको माग ७० प्रतिशतले वृद्धि भएको उनले बताए । ग्राहकको आकर्षण पाल्पाली ढाकामै भएको व्यवसायी बताउँछन् ।

बाहिरी जिल्लाबाट भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत ढाकाका सामग्री लैजाने हुँदा माग माग बढेको हो । ढाकाका सामग्री आफ्ना लागि सम्झना र परिवारका लागि कोसेली लैजाने गर्छन् । हातले बुन्न धेरै समय लाग्ने हुनाले पाल्पाली ढाकाको मागअनुसारको अन्य स्थानमा आपूर्ति गर्न कठिन छ ।


पोखरा, काठमाडौं, बुटवल, नारायणघाट, भैरहवा, दाङ, भक्तपुरलगायतका स्थानमा यहाँको ढाका निर्यात हुने गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए । यहाँको ढाका कुनै बेला गुणस्तरीय थियो । विगतमा पाल्पाली ढाका खाडीदेखि युरोपियन मुलुकमा निर्यात हुने गर्दथ्यो । अहिले पूर्वेली र भारतीय सिमामा बुनेका कपडाले बजार ढाकेपछि बाहिर देश पठाउन छाडिएको छ ।

जिल्लाको प्रमुख उद्योग व्यवसाय बनेको ढाकाले १० हजार बढीलाई रोजगारी दिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले १ हजार जतिले मात्र रोजगारी पाएका छन् । पाल्पामा ढाकाका २४ बढी उद्योग छन् । घरघरमै ढाका बुनेर २ सय बढी महिलाले राम्रो आम्दानी गर्छन् । पाल्पाली ढाकाको वार्षिक कम्तीमा १० करोडको व्यापार हुने संघले जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७९ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?