कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आयात प्रतिबन्ध कायमै, विदेशी मुद्रा सञ्चिति घटेको घट्यै

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकमा केही महँगा वस्तुको आयात प्रतिबन्ध लम्बिरहँदा पनि विदेशी मुद्रा सञ्चिति भने घट्ने क्रम रोकिएको छैन । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले हाल ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाएको छ । ५ महिनादेखि यी वस्तुको आयात प्रतिबन्ध रहिरहे पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा सुधार देखिएको छैन । 

आयात प्रतिबन्ध कायमै, विदेशी मुद्रा सञ्चिति घटेको घट्यै

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार दुई महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । गत असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदाै मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।

२ महिनामा अमेरिकी डलरमा यस्तो सञ्चिति २ प्रतिशत घटेको छ । असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ । हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड छ भने बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

२०७८ असारदेखि नै विदेशी मुद्रा सञ्चिति घटिरहेकाे छ । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । सञ्चिति घटेपछि सरकारले वैशाख १४ देखि १० प्रकारका वस्तु आयात प्रतिबन्ध गरेको थियो । प्रतिबन्धलाई खुकुलो गर्दै भदाै १४ देखि ६ प्रकारका वस्तु आयात खुलाइएको थियो । यी ४ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्मका लागि कायम गरिएको छ ।


प्रकाशित : कार्तिक ४, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?