कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
घनतेरस विशेष

उज्जर तिहार

अर्थ ब्युरो

काठमाडौँ — २०७३ कात्तिक १४, लक्ष्मी पूजा । निष्पट्ट औंसीको कालो रातलाई ‘अनन्त उज्जर’ ले चिरेको दिन । अर्थात्, नेपालमा चौबीसै घण्टा बिजुली बलेको दिन । दैनिक १८ घण्टासम्मको लोडसेडिङ हुने अवस्थाबाट नेपाल विद्युत् प्राधिकरणले त्यसपछि घरायसी उपभोक्तालाई निरन्तर बिजुली दिन थाल्यो । उज्यालोको उत्सव दीपावलीमा उपभोक्ताले चाहिएजति बत्ती बाले । अब भने नेपालका लागि बिजुली अप्राप्य र अलभ्य वस्तु रहेन । अहिले करिब ९३ प्रतिशत जनसंख्यामा विद्युत् सुविधा छ ।

उज्जर तिहार

‘रणनीतिक महत्त्व र तुलनात्मक लाभको वस्तु’ भनेर बिजुली भारतमा समेत बिक्री भइरहेको छ । बंगलादेशमा पुर्‍याउन पनि प्रयास भइरहेको छ । अब नेपालको बिजुलीले रातको अँध्यारो मात्र होइन, यहाँको अर्थतन्त्रलाई पनि गुलजार बनाउनेवाला छ । ६ हजारभन्दा बढी खोलानालाबाट नेपालको भाग्य उदाउनेछ र दक्षिण एसियाका हरेक देशमा चम्किनेछ,’ जानकारहरू यसै भन्छन् ।

नेपालको राष्ट्रिय अर्थतन्त्रसँग जलविद्युत्को अकाट्य साइनो छ । भविष्यमा विद्युत् निर्यात गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सपना देखेका हामी यसको महत्त्वबारे अनभिज्ञ छैनौं । तिहारमा हाम्रा घर र व्यावसायिक कम्लेक्स बत्तीले झकिझकाउ हुँदा राष्ट्रिय अर्थतन्त्रमा पनि त्यसले प्रभाव पारिरहेको हुन्छ । विद्युत् र बत्ती (बल्ब) दुवै विदेशी प्रयोग गर्नुपर्ने बाध्यताबाट अहिले हामी स्वदेशी विद्युत्मा बढी निर्भरतातर्फ अग्रसर छौं । तर विद्युतीय सामग्रीहरूमा भने हाम्रो परनिर्भरता कायमै छ ।

०७३ सालको तिहारअघिसम्म प्राधिकरणले अनावश्यक विद्युत् खपत गर्ने झिलिमिली बत्ती नबाल्नू भनेर सार्वजनिक सूचना नै जारी गर्थ्यो । सरकारी सञ्चारमाध्यममा यस्ता सूचना छापिन्थे । तर अहिले अवस्था फेरिएको छ । प्राधिकरणले नै चाहिएजति बिजुली बाल्न सकिने भन्दै खपत बढाउन विज्ञापन गरिरहेको छ । कोभिड महामारीका कारण अघिल्ला दुई/तीन वर्षका तिहारलगायत चाडबाडको रौनकता खुम्चियो । मन खोलेर मनाउन पाइएन । अब भने चाहिएजति बिजुली बाल्न अनुकूल अवस्था छ ।

विद्युत् प्राधिकरणका अनुसार अहिले नेपालको कुल विद्युत् जडित क्षमता २ हजार २ सय ५ मेगावाट हो । अधिकतम विद्युत् माग (पिक डिमान्ड) भने करिब १ हजार ८ सय मेगावाट बराबर मात्रै छ । वर्षायाममा नेपालमै उत्पादित बिजुलीले यहाँको माग धानेर भारतमा समेत बेच्न सकिने अवस्था छ । हिउँदमा नदीनालाको पानीको सतह घट्ने भएकाले उत्पादन पनि घट्छ । सुक्खायामका केही महिना भने नेपालले अझै केही वर्षभारतबाट किन्नुपर्नेछ ।

विद्युत् प्राधिकरणलाई तिहारको समयमा विद्युत् व्यवस्थापन सबैभन्दा बढी टाउको दुखाइको विषय बन्थ्यो । किनकि सबैभन्दा बढी विद्युत् खपत हुने दिन नै तिहारको समयमा हुन्थ्यो । तर अहिले भने दसैं र तिहार ‘हनिमुन समय’ रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन् । ‘दसैं–तिहारजस्ता चाडबाडका बेला उद्योगधन्दा बन्द हुने भएकाले विद्युत् माग घट्छ । दसैंको समयमा बिजुली खेर पनि गयो । तर, अब तिहार भने हाम्रा लागि हनिमुन समय हो,’ उनले भने, ‘अब बिस्तारै पानीको सतह घटिरहेको छ र तिहारमा माग पनि बढ्छ ।’ अहिले पनि नेपालले करिब २ सय मेगावाट बिजुली भारतलाई बेचिरहेको छ ।

विगतमा विद्युत् व्यवस्थापन नै टाउको दुखाइको विषय बन्ने गरेकामा अबका वर्षमा भने सजिलै पार लाग्ने प्राधिकरणको भनाइ छ । अहिले पिक डिमान्ड (विद्युत् खपत हुने उच्चतम बिन्दु) तिहारका बेला नभई वर्षायाममा हुन्छ । अहिले वर्षायाममा तराईमा धेरै विद्युत् खपत हुन्छ भने हिउँदयाममा काठमाडौं उपत्यकामा विद्युत् लोड व्यवस्थापन गर्न प्राधिकरणलाई हम्मेहम्मे पर्छ । अघिल्ला वर्षहरूमा तिहारको विद्युत् माग व्यवस्थापनका लागि कुलेखानी चलाउने र भारतबाट थप विद्युत् आयात गरिन्थ्यो ।

तर, अहिले अवस्था फेरिएको छ । माथिल्लो तामाकोसी एउटै आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएपछि प्राधिकरणलाई माग बढ्नेभन्दा बढाउने चिन्ता छ ।

काठमाडौं उपत्यकामा पर्याप्त बिजुली खपत गर्न प्राधिकरणको वितरण प्रणालीले साथ दिइरहेको छैन । उपत्यकाभित्रको वितरण प्रणाली निकै कमजोर छ । साढे ४ सय मेगावाट विद्युत् मागभन्दा बढी यहाँको प्रणालीले धान्दैन र समस्या देखिन थालिहाल्छ, जसकारण विद्युत् ओभरलोड भएर ट्रान्सफर्मर पड्किने, तार जल्नेजस्ता समस्या आइरहन्छन् । यसका लागि प्राधिकरणको र्‍यापिड रेस्पोन्स टिम सधैं हाई अलर्ट बस्छ । तिहारको समयमा प्राधिकरणका कर्मचारी छुट्टी कटौती गरेर काममा खटिन्छन् । प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गर्ने प्राधिकरणको भनाइ छ । चान्द्रमासअनुसार कात्तिक कृष्ण त्रयोदशीलाई धन्वन्तरी जयन्तीका रूपमा मनाइन्छ । यो धनका देवता कुवेरको पनि जन्मदिन हो । देवताहरूका वैद्य धन्वन्तरी र धनका देवता कुवेरको जन्म भएको विश्वास गरिने यो दिनमा तामालगायत विभिन्न धातुका भाँडाकुँडा र गरगहना किनेर धनतेरसका रूपमा मनाउने चलन छ । कात्तिक कृष्ण त्रयोदशी तिथिबाटै यमपञ्चक पनि सुरु हुन्छ । कात्तिक शुल्क द्वितीयासम्म पाँच दिन चल्ने यमपञ्चकका हरेक दिन विशेष छन् । हरेक दिनको आफ्नै महत्त्व छ ।

यमपञ्चकको पहिलो दिन पनि भएकाले धनतेरसमा हिन्दुहरूले आफ्नो घरको मूलढोकामा बत्ती बाल्छन् । यमदीप दान गर्छन् । त्यही दिनबाट उज्यालोको उत्सवका रूपमा तिहार सुरु हुन्छ । घर–घरमा दीप बालेर मनाइने हुनाले यो पर्वलाई हामी दीपावलीका रूपमा चिन्छौं । औंसीको दिनमा दीप प्रज्वलन गरेर धनधान्यकी अधिष्ठात्री महालक्ष्मीको पूजा गरिन्छ । वैदिक मान्यताअनुसार दीप ज्ञानको प्रतीक मात्र होइन, कर्मको साक्षी पनि हो । यसरी तिहारमा बालिने बत्तीले सुख–स्वास्थ्य, आयु–आरोग्य र धनधान्यको साझा प्रतिबिम्ब चित्रण गर्छ । तिहारको आफ्नै धार्मिक, सांस्कृतिक र शास्त्रीय महत्त्व होला । तर, कृष्णपक्षका निष्पट्ट रातमा चारैतिर झिलिमिली र प्रकाश हुनु यो पर्वको विशेषता हो, जसकारण छुट्टै उमंग र रौनकताको चाड बन्छ तिहार । धार्मिक आस्थाले यमदीप दान गर्ने, लक्ष्मीलाई खुसी पार्न दियो बाल्नेभन्दा पनि चम्किलो प्रकाश भएका र झिलिमिली बत्ती बालेर चाड मनाउने प्रवृत्ति बढ्दो छ । तिहारमा विद्युतीय बत्तीको प्रयोग बढेपछि दियोमा तेल राखेर बाल्ने चलन बिस्तारै घट्दो छ । अब त बजारमा दियो नै विद्युतीय पाइन्छन् । बिजुली बत्तीको प्रयोगले दीपावली दियोको बत्ती बाल्ने प्रचलन हराउँदो छ ।

दीपावलीमा माटोको दियो बाल्ने चलनलाई आधुनिक झिलिमिली (झिमझिम) बल्ने बिजुली बत्तीले विस्थापित गरेको छ । केही वर्षअघिसम्म दियोका साटो मैनबत्ती बाल्ने प्रचलन देखिन्थ्यो । तर, अहिले त्यो पनि घटेको छ । दियो बाल्दा महँगो हुनुका साथै झन्झटिलो हुनाले दियोको साटो मैनबत्ती बालिन्थ्यो । समयक्रमसँगै अब दीपावलीमा स्थानीय बजार तथा गाउँमा समेत बिजुलीबाट बल्ने बत्ती नै बढी प्रयोगमा आउन थालेका छन् ।

तिहार नजिकिँदै जाँदा बजारमा विभिन्न भाँतीका झिलिमिली बत्ती आउँछन् । तिहारको समयमा धनकी देवी लक्ष्मीलाई खुसी पार्न घर तथा व्यावसायिक प्रतिष्ठान उज्यालो पार्नुपर्ने मान्यताका कारण यो बेला यस्ता बत्तीको माग बढ्छ । किनमेल बढ्नाले बजारमा भीडभाडसमेत हुन्छ । तिहारलाई लक्ष्य गरी बजारमा सस्तादेखि निकै महँगासम्म झिलिमिली बत्ती पाइन्छन् । विभिन्न गुणस्तर र मूल्यका बत्ती बजारमा भेटिन्छन् । सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका झिलिमिली बत्ती उपलब्ध रहेको व्यवसायी बताउँछन् । तिहारका लागि झिलिमिली बत्ती, रेडिमेड दियोलगायत विभिन्न रङको प्रकाश फाल्ने बत्ती किन्न पाइन्छ ।

बजारमा पाँच हजार रुपैयाँसम्मका तिहारका लागि घर सजाउने बत्ती किन्न पाइने बागबजारमा ग्रिन लाइट इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका दिनेश तिवारीले बताए । विशेषगरी भारत र चीनबाट यस्ता बत्ती नेपाल ल्याइन्छ । त्यसमा पनि चिनियाँ झिलिमिली बत्ती ग्राहकको रोजाइमा पर्ने गरेका छन् । तिहार नजिकिँदै गर्दा व्यापार उल्लेख्य वृद्घि भएको असनमा तिहारमा प्रयोग हुने झिलिमिली बत्ती बेच्दै गरेका दिनेश बानियाँको भनाइ छ । पर्व र मौसममा समयअनुसारको व्यवसाय सञ्चालन गर्ने गरेको उनले सुनाए ।

‘इलेक्ट्रोनिक्स सामानको बिक्री गर्दा दोब्बर फाइदा हुन्छ । पोहोरको तुलनामा यो वर्ष झिलिमिली बत्तीको मूल्य बढेको छ,’ बानियाँले भने । यस्ता बत्ती बिक्री गर्ने मुख्य समय नै तिहार भएकाले व्यवसायीले छुटसमेत दिएर व्यापार बढाइरहेका छन् । रत्नपार्कको सडक छेउमा झिलिमिली बत्ती किन्दै गरेका कीर्तिपुरका दीपेश अर्यालले पनि तिहारमा घर सजाउने विभिन्न प्रकारका बत्ती आफूले छानेको बताए । ‘तिहारको एक–दुई दिनअघि बजार आउँदा रोजीरोजी किन्न पाइँदैन, महँगो पनि हुन्छ । त्यसैले अहिलेदेखि नै बत्तीलगायत सामान खोजी हिँडेको हुँ,’ रत्नपार्कमा मंगलबार भेटिएका अर्यालले भने, ‘पोहोर १५० रुपैयाँ पर्ने झिलिमिली बत्तीलाई अहिले २ सय रुपैयाँभन्दा कममा पाइएन ।’

तिहारलगायत चाडबाड र अरू बेलामा पनि विद्युतीय सुरक्षामा ध्यान पुर्‍याउन भने उत्तिकै जरुरी छ । बढी बत्तीको प्रयोग गरिने हुँदा तार जल्ने, ट्रान्सफर्मर पड्किने, करेन्ट लाग्ने जोखिम बढ्छ । यसतर्फ भने हामी सजग हुनुपर्छ ।

प्रकाशित : कार्तिक ४, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?