ब्याजदर वृद्धिको विरोधमा बर्दियाका व्यवसायीद्वारा प्रदर्शन

कमल पन्थी

बर्दिया — कात्तिक महिनाबाट लागू हुनेगरी बैंकहरुले ब्याजदर बढाएको विरोधमा बर्दियाका उद्योगी तथा व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका छन् । उद्योग वाणिज्य संघ जिल्ला समन्वय समिति बर्दियाले बिहीबार गुलरियामा प्रदर्शन गरेको छ । जिल्लाका आठवटै पालिकाबाट आएका उद्योग वाणिज्य संघका प्रतिनिधि र व्यवसायी प्रदर्शनमा सहभागी थिए ।

ब्याजदर वृद्धिको विरोधमा बर्दियाका व्यवसायीद्वारा प्रदर्शन

प्रदर्शनपछि उनीहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला मार्फत् नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कर्जाको महँगो ब्याजदरले आफूहरु मर्कामा परेको र यसले बजारमा महँगी समेत बढ्न गई सर्वसाधारणलाई समेत मूल्यवृद्धिको ठूलो असर पर्ने चेतावनी दिइएको छ ।

‘ब्याजदर वृद्धि तथा कर्जा प्रवाह सम्बन्धी राष्ट्र बैंकले लिएको नीतिले थप उद्योगी तथा व्यवसायी पालयन हुने निश्चित देखिन्छ’ ज्ञापनपत्रमा भनिएको छ । उद्योग वाणिज्य संघ जिल्ला समन्वय समितिले सम्पूर्ण वित्तीय संस्थाहरुलाई यसबारे ध्यानाकर्षण गराएको पनि उल्लेख गरिएको छ । उद्योग वाणिज्य संघ जिल्ला समन्य समितिले ६ सुत्रीय माग राखेको छ । राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थामा गरेको कारोबार रकमको २० र २५ प्रतिशत मात्रै कर्जा प्रवाहलाई संशोधन गरिनुपर्ने उनीहरुको माग छ । बैंकले एकलौटी रुपमा गरेको ब्याजदर वृद्धि खारेजको माग गरिएको छ । उत्पादनमूलक, कृषिजन्य तथा प्रशोधित उद्योगहरुलाई अनुदान कर्जा निरन्तरता दिइनुपर्ने संघको माग छ ।


प्रकाशित : कार्तिक ३, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?