रुपन्देही व्यापार संगठनले भन्यो : किनमेल गर्नेहरू सीमापारि गए, भन्सारमा कडाइ गरियोस्- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

रुपन्देही व्यापार संगठनले भन्यो : किनमेल गर्नेहरू सीमापारि गए, भन्सारमा कडाइ गरियोस्

सन्जु पौडेल

रुपन्देही — नेपाली चाडपर्वका बेला भारतीय बजारमा किनमेल गर्नेको भिड लाग्ने गरेको छ । नेपाली उपभोक्ता किनमेलका लागि सीमापारि जाँदा वारि भने सुनसान हुने गरेकाे छ । यहीं समस्यालाई मध्यनजर गर्दै उद्योग व्यापार संगठन रुपन्देहीले भारतसँगका सीमा नाकामा कडाइ गर्न सुझाव दिएको छ ।

संगठनले मंगलबार भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै भन्सारमा कडाइ नगरेमा स्वदेशी व्यापारी नै पलायन हुने अवस्था आउने गुनासो गरेको छ । विवाह, ब्रतबन्ध, चाडपर्वका बेला सीमापारि गएर सामान ल्याउनेको लर्को नै लाग्ने गरेको तर सीमावारि भने व्यापार सुकेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । उनले भने, ‘यहाँका व्यवसायी दिनभर पसल कुर्छन्, सीमापारि सुनौली बजारमा सामान किन्नेको जात्रा जस्तै छ, त्यसैले यहाँको व्यापार पनि सञ्चालन गर्ने वातावरण बनाउनु आवश्यक छ, नत्र उद्योगी व्यवसायीले सम्पूर्ण कारोबार बन्द गर्ने अवस्था सिर्जना हुन्छ ।’

संगठनले भन्सार प्रमुख पौडेललाई बुझाएको सुझावमा न्यूनतम १ हजार रुपैयाँभन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार रेकर्ड गराउनुपर्ने उल्लेख छ । खुला सीमा लगायत भन्सार नाकामा सीसीटीभी क्यामेरा चौबीसै घण्टा चालु अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकतर्फबाट जाने र अर्कोतर्फबाट आउने व्यवस्था गर्नुपर्ने सुझाव संगठनले दिएको छ । घरायसी सामानको एकद्वार प्रणालीमार्फत् छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था गर्नुपर्ने र भारतबाट ल्याइएका सबै सामानको अभिलेख राख्नुपर्ने संगठनले सुझाव दिएको छ ।

ज्ञापनपत्र बुझ्दै भैरहवाका प्रमुख भन्सार अधिकृत पौडेलले तस्करी नियन्त्रणका लागि व्यवसायीको साथ आवश्यक रहेको बताए । उनले भने, ‘भन्सार कार्यालयसँग जोडिएको विषयवस्तु कार्यान्वयन हुन्छन् ।’ तस्करीको सामान व्यवसायीले पनि खरिद गर्न नहुनेमा उनले जोड दिए ।

प्रकाशित : कार्तिक १, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री कार्यालयलाई आयोगको २४ घण्टे स्पष्टीकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । कामचलाउ भूमिकामा रहेको सरकारले दूरगामी निर्णय गरेको भन्दै आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।



प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता समेत जनाएको अवस्थामा नयाँ नीति पारित गरेको हो वा होइन भन्दै आयोगले स्पष्टकीरण सोधेको हो ।

‘अनलाइनखबर डटकममा कामचलाउ भूमिका भुलेर दूरगामी निर्णय गर्दै चुनावी सरकार भन्ने समाचार तथा विभिन्न सामाजिक सञ्जालबाट आयोगमा प्राप्त हुन आएका जानकारीप्रति आयोगको ध्यानाकर्षण भएर यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सरकारले नयाँ नीति तथा कार्यक्रम पारित गरेको हो वा होइन ? आयोगको सहमती बेगर नयाँ नीति कार्यक्रम गरेको हो भने सम्बन्धित पदाधिकारीलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही नगर्ने ?’ आयोगले प्रधानमन्त्री कार्यालयलाई बुधबारसम्म यी प्रश्नको जवाफ दिन निर्देशन दिएको छ ।

आयोगले यसअघि बारा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र भक्तपुर क्षेत्र नं २ का कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रकाशित : कार्तिक १, २०७९ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×