भारत निकासी हुन थाल्यो अर्घाखाँची सिमेन्ट - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत निकासी हुन थाल्यो अर्घाखाँची सिमेन्ट 

माधव ढुंगाना

भैरहवा — अर्घाखाँची सिमेन्ट लिमिटेडले सोमबारदेखि आफ्नो उत्पादन भारत निकासी सुरु गरेको छ । रुपन्देहीको सियारी गाउँपालिकास्थित मैनियामा रहेको सिमेन्ट उद्योग परिसरबाट सोमबार भारतको सिमावर्ती महाराजगंज जिल्लाको नौतनवास्थित सुभांसु एशोसिएट डिलर मार्फत् ७० टन (१ हजार ४ सय बोरा) पीपीसी सिमेन्ट निकासी सुरु भएको हो ।


नेपालबाट सिमेन्ट भारत निकासी गर्ने यो उद्योग पाल्पाको तानसेन सिमेन्ट पछिको दोस्रो हो । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवालले भारतको ब्यूरो अफ इन्डियन स्टान्डर्डस्‌ले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादनलाई भारतीय गुणस्तर मापदण्ड चिन्ह दिएपछि नेपालबाट सिमेन्ट निर्यात गर्न सुरु भएको बताए ।

‘नेपाली सिमेन्ट भारत निकासी गर्न पाउनु हाम्रो लागि गर्व र खुसीको कुरा हो’ अग्रवालले भने, ‘हामी विगत छ महिनादेखि सिमेन्ट भारत निकासीको पर्खाइमा थियौं ।’ नेपाली सिमेन्टको उत्पादन लागत भारतको भन्दा महँगो भएपनि नेपाल सरकारले चालु बजेटमा वार्षिक ५० करोड रुपैयाँ मूल्य बराबरको उत्पादन विदेश निर्यात गर्दा आठ प्रतिशत अनुदान दिने घोषणा गरेकाले उत्पादन लागत केही सस्तो पर्न गएकाले निकासी सम्भव भएको उनले बताए । अर्घाखाँची सिमेन्टका अर्का निर्देशक पशुपति मुरारकाले सिमेन्टको गुणस्तर भारतीय सिमेन्टको भन्दा राम्रो भएको दावी गर्दै नेपाली सिमेन्ट भारत निकासी हुन थालेपछि केही हदसम्म भएपनि भारतसँगको व्यापार घाटा कम हुने बताए ।

प्रकाशित : आश्विन ३१, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

बाल सुधारगृह नै अपराध र लागूऔषधको अखडा !

चौबीसै घण्टा सीसीटीभीको निगरानी र प्रहरीको सुरक्षामा रहने सुधारगृहभित्र कसरी छिर्‍यो लागूऔषध र मोबाइल ?
माधव ढुंगाना

भैरहवा — सिद्धार्थनगर नगरपालिका–७ स्थित गार्गीपथका महिला हूल बाँधेरै गत मंगलबार जिल्ला प्रशासन कार्यालय पुगे । उनीहरूको एकसूत्रीय माग थियो– टोलमा रहेको बाल सुधारगृह अन्तै सारियोस् । सुधारगृहमा राखिएका बालक/किशोरबाट स्थानीय किशोरी असुरक्षित रहेको र भित्र अवाञ्छित गतिविधि बढिरहेकाले त्यसको असर समुदायमा देखिएको उनीहरूको भनाइ छ ।

बाल बिज्याइँ गरेका र कानुनी रूपमा १८ वर्षमुनिका बालबालिकालाई पुर्पक्षका लागि, फैसला नहोउन्जेल र कैद भुक्तानका लागि बाल सुधारमा राख्नुपर्ने कानुनी प्रावधान छ । यहीअनुसार अहिले ४० जना अट्ने बालगृहमा १ सय १० जना बालक/किशोरलाई राखिएको छ । तर आवश्यक मनोसामाजिक परामर्शदेखि बालसुलभ गतिविधिअनुसार संरचना नहुँदा बालबालिका ‘उद्दण्ड’ बन्दै गएका छन् । सुधारगृह अपराधदेखि लागूऔषधको जोखिममा धकेल्ने कारखाना जस्तै बनिरहेको स्थानीय बताउँछन् । मुद्दा फैसलामा ढिलाइ हुँदा सुधारगृहमा कतिपय २४/२५ वर्षसम्मका पनि रहेका छन् ।

सुधारगृह व्यवस्थापनका लागि कर्मचारी दुई जनामात्रै छन् । त्यो पनि अधिकृतस्तरको कार्यालय प्रमुख र करारका कार्यालय सहयोगी । सुधारगृह प्रमुख सुभद्रा गौतम भौतिक संरचनाको कमीले गर्दा व्यवस्थापनमा समस्या भइरहेको बताउँछिन् । ‘ठूला खेल मैदानसहितको खुला ठाउँमा सुधारगृह हुनुपर्ने हो,’ उनले भनिन्, ‘एउटै पलङमा चार/चार जनासम्म पालो मिलाएर सुत्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार छ–सात जनामा क्षयरोगको संक्रमण छ । लुतो र जन्डिसबाट पनि केही पीडित छन् । दिनहुँ चार/पाँच जनालाई उपचार गराउन अस्पताल लैजानुपर्छ ।

सुधारगृहभित्र मोबाइल फोन प्रयोग गर्न नपाउनुपर्ने हो तर यहाँका बालक/किशोरसँग मोबाइल देखिन्छ । केही दिनअघि सुधारगृहनजिकै घरको छतमा कपडा सुकाइरहेकी १८ वर्षीया किशोरीको फोटो सुधारगृहका किशोरले खिचेको थाहा पाएपछि अभिभावकले ती किशोरीलाई मामाघर पठाइदिए । किशोरीको आमाले भनिन्, ‘त्यतिबेला छोरीका बुबा घरमा हुनुहुन्थेन । सुधारगृहका किशोरले मोबाइलबाट आफ्नो तस्बिर खिचेको थाहा पाएपछि छोरी बेस्सरी रुन थाली ।’

सुधारगृहमा सईको नेतृत्वमा ११ प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी नवरत्न पौडेलका अनुसार एउटै सिफ्टमा बाहिर चार जना र भित्र चार जनाको ड्युटी छ । सुधारगृहनजिकै घर भएकी मुना आचार्यले अगाडिको बाटोबाट विद्यालय हिँडेका छात्रा र नजिक घरमा रहेका युवतीलाई भित्रबाट सिट्ठी बजाउने, जिब्रो पड्काउने, छतबाट जिस्क्याउने र अश्लील बोल्ने गरेको बताइन् । ‘हिजोआज त सुधारगृहअघिको बाटोबाट विद्यार्थी र छोरीचेली हिँड्नै छाडेका छन्,’ उनले भनिन् ।

सुधारगृहभित्र लागूऔषध, चुरोट, मादक पदार्थको सेवन हुने गरेको स्थानीय बताउँछन् । बालक तथा किशोरले बाहिरबाट सेटिङ मिलाएर नशालु पदार्थ भित्र्याउने गरेको प्रत्यक्ष देखेको एक स्थानीयले दाबी गरे । सबै सामान सुरक्षा जाँचपछि भित्रिने गरे पनि मोबाइल प्रयोग हुने गरेको र नशालु पदार्थ भेटिने गरेको सुधारगृहका कर्मचारी पीताम्बर न्यौपाने बताउँछन् । ‘सात महिनाअघि सुधारगृह परिसरमा गाँजा र प्रतिबन्धित औषधि नाइट्रोसन ट्याब्लेट सीसीक्यामेराबाट देखिएपछि जलाएर नष्ट गर्‍यौं,’ उनले भने, ‘सुधारगृहमा रहेका किशोर र बालक बेलाबेला निकै उत्तेजित हुन्छन् र अराजक ढंगले प्रस्तुत हुन्छन् ।’

सुधारगृहभित्र विकृति बढेको गुनासोपछि दुई साताअघि जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित प्रहरी यहाँ पुगेका थिए । सरकारी टोलीले छानबिन गर्ने बुझेपछि सुधारगृहका एक किशोरले आफ्नो टाउको भित्तामा ठोकेर रगताम्य बनाए । केहीले भने टोली भित्र छिर्ने हो भने आत्महत्या गर्ने धम्की दिए । केहीले भने ग्यास सिलिन्डर सलाई कोरेर पड्काइदिने पनि बताए । अराजक गतिविधि देखेपछि आफूहरू भित्र नछिरी फर्किएको डीएसपी नवरत्न पौड्यालले बताए ।

सुधारगृहभित्र क्षमताभन्दा धेरै बालबालिका राखिएको भन्दै कारागार व्यवस्थापन विभागले १७ जनालाई बाँके, कास्की र भक्तपुरका सुधारगृहमा स्थानान्तरण गर्न असार १ मा पत्राचार गरेको थियो । यही निर्णय कार्यान्वयन गर्न गत मंगलबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रवीन्द्र रेग्मी नेतृत्वको टोली सुधारगृह पुग्यो । त्यसपछि सुधारगृहका बालबालिकाले सुरुमा चर्को नाराबाजी गरे भने केही किशोरले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरे । उनीहरूले भित्रबाट ताला लगाउनुका साथै सुरक्षाकर्मीलाई किलाकाँटी, चक्कु, छाताको डन्डी, सिसालगायतले प्रहार गरेको स्थानीयले बताए । यस्तै, भित्रबाट करेन्टसहितको तार ल्याएर फलामे गेटमा जोडिदिए । आफूले पढ्ने किताब–कापी र सुत्ने बिस्तरामा आगजनी गरे । स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गर्नुपर्‍यो भने आगलागी रोक्न दमकल नै बोलाउनुपर्ने अवस्था आयो । डीएसपीसहित दुई सुरक्षाकर्मी घाइते भए । लामो रस्साकसीपछि प्रहरीले १७ जनालाई सरुवा गर्‍यो । सुधारगृहकी प्रमुख गौतमले मंगलबारपछि भने स्थिति शान्त भएको बताइन् ।

स्थानान्तरणपछि प्रहरीले सुधारगृहमा अनुगमन गरेको थियो । त्यस क्रममा करिब २० ग्राम गाँजा, एक दर्जनभन्दा धेरै मोबाइल, फलामे डन्डा, किलाकाँटा बरामद भएका थिए । सुधारगृह प्रमुख गौतम नै कतिपय अभिभावकले आफ्ना छोरा भेट्न आउँदा नशालु पदार्थ लुकाएर दिने गरेको बताउँछिन् ।

सुधारगृहभित्र नशालु पदार्थलगायतका प्रतिबन्धित सामान पुग्नुमा मोबाइलकै प्रयोग भएको एसपी रवीन्द्र रेग्मीले बताए । ‘मोबाइल पहिल्यैदेखि उनीहरूको हातमा कसरी पुग्यो भन्ने खोजीको विषय हो,’ उनले भने, ‘मोबाइलबाट सम्पर्क गरेर नै त्यहाँ रहेका किशोरले नशालु पदार्थलगायतका प्रतिबन्धित सामान बाहिरबाट मगाउने गरेका हुन् ।’ बाहिरबाट कसैले सामान पोको पारेर फ्याँकिदिने गरेको दृश्य सीसीक्यामेरामा देखिएको उनको भनाइ छ ।

यहाँका किशोरले सामान मगाउँदा सुरक्षाकर्मीले धेरै पैसा लिने र पैसा फिर्ता नगर्ने गरेको भन्दै होहल्लासमेत भएको सुनेको एक स्थानीयले बताए । एसपी रेग्मी पनि प्रतिबन्धित सामान सुधारगृहभित्र पुग्नुमा सुरक्षाकर्मीको कमजोरी होइन भन्न नमिल्ने बताउँछन् । ‘पछिल्लोपटक सुरक्षाकर्मीले कडाइ गरेकाले आफूअनुकूल नभएपछि उनीहरू उत्तेजित हुन थालेका हुन्,’ उनले भने, ‘अब यो सुधारगृह पहिलाजस्तो अवस्थामा रहने छैन ।’

प्रकाशित : असार १०, २०७९ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×