२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अविरल वर्षाले जुम्लामा धानबाली क्षति

डीबी बुढा

जुम्ला — बुधबार बिहानदेखिको अविरल वर्षाले जुम्लामा धानबालीमा क्षेति पुग्‍याएको छ । खेतमा धान ढलेका छन् । पाक्नै लागेको धान वर्षाले ढालेपछि किसान चिन्तित छन् । गुठीचौर ५ का मीनबहादुर महतले भित्र्याउने बेलाको धानबाली ढलेपछि समस्या भएको बताए ।

अविरल वर्षाले जुम्लामा धानबाली क्षति

उनले भने,‘धान ढल्यो । सिम भएको खेततिरको धान त बालासहित कुहिने त्रास हुन्छ । पाकेको धान ढलेकोले खेतमै दाना झर्ने गर्छ ।’ उनका अनुसार वर्षा यो बेला चाहिएकै थिएन । महतको देपालगाउँस्थित खेतका धान सबै ढलेका छन् । हिजोअस्ती हेर्दै लोभलाग्दो धान ढलेपछि महतको परिवार खुसी छैन ।

वर्षाले जिल्लाको प्राय: सबै क्षेत्रका धान ढलेको किसान बताउँछन् । सिंजा, पानसय, चौधविस र असी दराका खेतहरुमा धान ढलेका हुन् । साथै हिउँदमा पशुपालनका लागि काटिएको घाँस समेत मेलामै कुहिएको छ । मौसम विद्हरुले निरन्तर वर्षा हुने बताएपछि छिटो घाँस काटेर भित्र्याउने तयारी थालेका किसान मेलामै घाँस कुहिने अवस्था आएपछि दुःखित छन् ।

सिंजा ५ की बेसम बुढाले घाँस मेलामै भिजेको बताइन् । उनले भनिन्,‘अबको एक/दुई दिन पानी नरोकिए घाँस कुहिन्छ । हिउँदमा पशुपालनमा ठूलो समस्या आउने खतरा छ ।’ वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ । तर हिउँदमा सुख्खा हुने भएकोले किसानले घाँस संकलन गरेर राखेका हुन्छन् । घाँसले मंसिरदेखि फागुन महिनासम्म पशुबस्तुको आहाराको काम गर्छ ।

यो सिजन जुम्लावासीले हिउँदेबाली भित्र्याउने समय हो । दसैंअघिदेखि घाँस काटिरहेका थिए । कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकोले पनि निकै व्यस्त देखिन्थे । वर्षाले घरभित्र्याउनै आँटेको बाली भिजायो । काटेको घाँस मेलामै कुहिने संभावना बढ्यो ।

मौसमविदहरुले अझै दुई दिन निरन्तर वर्षा हुने जानकारी दिएकोले जुम्ली किसानलाई बाली कसरी सुरक्षितरुपमा भित्र्याउने चिन्ताले पिरोल्न थालेको छ । जुम्ली मार्सी धान पाक्न लागेको छ । केही दिनमै धान भित्र्याउने समय आइपुग्छ । मीनबहादुरले भने,‘पछिल्लो समयमा वर्षा र हिमपात आउने तालिका बदलिएपछि बालीनालीमा समस्या देखिएको छ । कहिले बेस्सरी पानी पर्ने त कहिले सुख्खा खडेरी हुने भएकोले स्थानीय उत्पादन भनेबमोजिम हुँदैन । ’

पुरै जिउलोमा धान ढलेपछि किसान चिन्तामा परेका हुन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा २ हजार ९ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाको एक नगरपालिकासहित ७ वटै पालिकामा धानखेती हुन्छ ।

प्रकाशित : आश्विन २०, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?