उपत्यकालाई मुस्ताङका ३ हजार च्याङ्ग्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — च्याङ्ग्राको मूल्य किलोकै १४ सय ५० रुपैयाँ पुगेको छ । गत वर्ष दसैंमा प्रतिकिलो १३ सय रुपैयाँसम्म पुगेको च्याङ्ग्रा मूल्य यसपालि प्रतिकिलो १४ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

उपत्यकालाई मुस्ताङका ३ हजार च्याङ्ग्रा

‘सोचेजस्तो पर्याप्त आयात भएन, त्यसमा पनि व्यापारीहरूले चलखेल गरे । केहीले लुकाएर मूल्य बढाए,’ चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापाले भने, ‘गत वर्ष प्रतिकिलो १३ सय रुपैयाँसम्म बिक्री भएको च्याङ्ग्रा अहिले किलाकै १४ सय ५० रुपैयाँ पुगेको छ ।’ यसपालि व्यवसायीहरूले करिब ३ हजार च्याङ्ग्रा भित्र्याएका छन् । उक्त च्याङ्ग्रा मुस्ताङबाट आयात गरिएको जनाएको छ । व्यवसायीहरूले गत वर्ष पनि मुस्ताङ/तिब्बतबाट आयात गरेका थिए ।

गत वर्ष घटस्थापनाताका च्याङ्ग्राको मूल्य प्रतिकिलो ११ सय ५० रुपैयाँ थियो । फूलपाती, महाअष्टमी, महानवमी बिहानसम्म प्रतिकिलो १३ सय रुपैयाँसम्म कारोबार भएको थ्यिो । त्यसपश्चात् भने मूल्य घटेर पुन: १ हजार ५० रुपैयाँमा झरेको थियो । यसपालि घटस्थापना वरिपरि प्रतिकिलो १३ सय रुपैयाँ थियो । अहिले मूल्य बढेंर १४ सय ४० रुपैयाँ पुगेको हो ।

‘होल्डिङ सेन्टर राखेर एकद्वार प्रणालीमार्फत बिक्री गर्दा राम्रो हुन्थ्यो,’ थापाले भने, ‘अहिले बिचौलियाको बिगबिगी छ, मूल्य पनि मनपरी नै छ ।’ त्यस्तै, खसीको मूल्यमा भने उच्च नभएको संघको दाबी छ । व्यवसायीहरूले प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको संघको दाबी छ । एक हप्ताको दसैं बजारमा स्वदेशी उत्पादन ६० र भारतको ४० प्रतिशत आयात हुन्छ । व्यापारीहरू सल्यान, सुर्केत, बैतडी, डडेलधुरा, मकवानपुर, रामेछाप, इलाम, नुवाकोटलगायत आफ्नो ठाउँ उपत्यका ल्याएका छन् । अपुग खसीबोका भारतको लखनउ, उत्तरप्रदेशबाट पनि आयात हुन्छ । यसपालिको दसैंमा करिब २५ हजारदेखि ३० हजार खसीबोका बिक्री हुने अनुमान छ । गत वर्ष दसैंका लागि करिब ४० हजार वटा बिक्री भएको थियो ।

त्यस्तै, सरकारले पनि सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ । सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ७० रुपैयाँ तोकिएको छ । खाद्यले गत दसैंमा प्रतिकिलो ६ सय ४० रुपैयाँ राखेको थियो । गत बर्षको तुलनामा ढुवानी भाडा बढेकाले मूल्य पनि बढी देखिएको खाद्यको दाबी छ । त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्राको छुटसहित उपभोक्ता मूल्य प्रतिकिलो १२ सय ५० रुपैयाँ तोकेको छ ।

खाद्यका अनुसार खसीबोका खरिद गर्नका लागि जिल्ला प्राथमिक खरिद समिती हुन्छ । समितीमा प्रमुख जिल्ला अधिकारी, खाद्य, कृषि विकास र किसान सहित सदस्य रहन्छन् । समितीले मूल्य निर्धारण गरेपछि सोही मूल्यमा खरिद हुन्छ । प्रशासनिक खर्च, ढुवानी खर्च जोडेर खाद्यले मुल्य निर्धारण गर्ने गरेको दाबी छ । बजारमूल्य हस्तक्षेप गर्ने उद्देश्यले कम्पनीले यसपालि २३ सय खसीबोका/च्याङ्ग्रा खरिद गर्ने लक्ष्य राखेको छ । तर, उक्त लक्ष्य पुग्न कठिन देखिएको छ ।

कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापा आइतबारसम्म १४ सय ५९ खसीबोका मात्रै उपत्यका भित्रिएका छन् । जसमध्ये १ सय ९४ वटा बिक्री हुन बाँकी नै छ । त्यस्तै, २ सय ११ वटा च्याङ्ग्रामध्ये ५६ वटा बिक्री भएको छैन । ‘खसीबोका सोमबार, मंगलबारसम्म मात्रै खरिद हुन्छ । आजसम्मको अवस्था हेरेर थप खरिद गर्ने/नगर्ने निर्णयमा पुग्छौं,’ उनले भने, ‘सम्भवत अब थप खरिद गर्दैनौं ।’

प्रकाशित : आश्विन १७, २०७९ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?