पेट्रोलियम पदार्थको खपत बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढेको छ । नेपाल आयल निगमका अनुसार हालका दिनमा औसत पेट्रोलको खपत दैनिक ३ हजार किलोलिटर पुगेको छ भने डिजेलको खपत ३ हजार ७ सय किलोलिटर हाराहारी पुगेको छ । गत बिहीबार देशभर ३ हजार १०४ किलोलिटर पेट्रोल तथा ३ हजार ७५८ किलोलिटर डिजेल खपत भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पेट्रोलियम पदार्थको खपत बढ्यो 

दसैंअघिको तुलनामा हाल पेट्रोल र डिजेलको खपत बढेको उनले बताए । निगमका अनुसार दसैं सुरु हुनुभन्दा अघि औसत दैनिक २ हजार २ सय किलोलिटर पेट्रोल तथा ३ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेको थियो ।

दसैंका बेला सडकमा सार्वजनिक तथा निजी सवारीसाधनको चाप बढ्ने भएकाले पेट्रोल र डिजेलको खपत बढ्नु स्वभाविक रहेको उपाध्यायले बताए । ‘यो बेला सवारीसाधनको आवागमन बढी हुने गर्छ, त्यसकारण तुलनात्मक रुपमा पेट्रोलियम पदार्थको खपत बढेको हो’ उनले भने । दसैं मनाउनका लागि काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रबाट गाउँघरमा जाने यात्रुको संख्या बढी हुने भएकाले सवारीसाधन संचालन पनि बढी हुने गर्छ ।

साउन महिनामा देशभर कुल ५१ हजार ६३० किलोलिटर पेट्रोल र ७६ हजार ४० किलोलिटर डिजेल खपत भएकोमा असोज १ देखि ११ गतेसम्म मात्रै कुल २० हजार ८३२ किलोलिटर पेट्रोल र ३२ हजार ८६२ किलोलिटर डिजेल खपत भएको निगमको तथ्यांक छ ।

प्रकाशित : आश्विन १५, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?