कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दसैंमा सडक सास्ती

साँघुरा सडक, त्यसमाथि पानी पर्नासाथ पहिरो खस्ने गरेकाले यात्रा जोखिमपूर्ण, दसैंका बेला सवारी चाप बढे पनि सडक मर्मतसम्भारमा सरोकारवालाको बेवास्ता

काठमाडौं, सिन्धुली — पहिरो पन्छाउन नसक्दा मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी खण्डको अक्करे भीरमा यात्रुले दैनिक सास्ती खेप्नुपरेको छ । यस खण्डमा एकतर्फी यातायात मात्र सञ्चालनमा छ । दसैंमा सवारी चाप बढी हुने भएकाले यात्रुले घण्टौं ट्राफिक जाम झेल्नुपर्छ । साँघुरो सडक, त्यसमाथि पानी पर्नासाथ पहिरो खस्ने गरेकाले यात्रा जोखिमपूर्ण रहेको यात्रु बताउँछन् । करिब पाँच सय मिटर लामो यो पहिरोमा दोहोरो यातायात सञ्चालन नहुँदा सवारी सञ्चालनमा कठिनाइ भएको हो ।

दसैंमा सडक सास्ती

बर्खामा मात्र नभई हिउँदमा चर्को घाम लाग्नासाथ सुक्खा पहिरो खसेर यातायात ठप्प हुने गरेको छ । गोलन्जोर गाउँपालिका–६ हैबार नजिकै पर्ने उक्त भीरले वर्षौंदेखि सास्ती दिँदै आएको छ । मध्यपहाडी लोकमार्ग निर्माण थालेदेखि पहिरो झर्ने क्रम बढेको स्थानीय पशुपति कोइराला बताउँछन् । ‘पहिरोले दु:ख दिन थालेको दशक हुन लाग्यो,’ उनले भने, ‘पहिरो छिचोलेर यात्रा गर्नुको विकल्प छैन ।’

यो पहिरो पृथ्वी राजमार्गको कृष्णभीर जस्तै समस्याग्रस्त भएको कोइरालाको भनाइ छ । खुर्कोट–घुर्मी खण्डको ६१ किमि क्षेत्रका दर्जनौं स्थानमा पहिरो खसेर आवतजावतमा कठिनाइ छ । अक्करे भीरको सडकलाई फराकिलो बनाउन नक्सांकन परिवर्तन गर्नुपर्ने स्थानीयको सुझाव छ । पानी पर्नासाथ पहिरो खस्ने गरेकाले यातायात सञ्चालनमा समस्या हुने गरेको खुर्कोटका ट्राफिक प्रमुख एवं प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताए ।

‘अक्करे भीरमा सवारीसाधन पार गराउन निकै जोखिम छ, माथि भीर, तल सुनकोसी नदी छ,’ उनले भने, ‘जसले गर्दा चाडबाडको समयमा ट्राफिक जाम हटाउनै मुस्किल छ ।’ अक्करे भीरनजिकै सुँगुरेमा सडक भासिएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । मध्यपहाडी लोकमार्ग निर्माणकै चरणमा रहेकाले आयोजनालाई पहिरो नखस्ने गरी निर्माणको काम गर्न अनुरोध गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको भनाइ छ । यो खण्ड हुँदै सिन्धुली, खोटाङ, ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, भोजपुर र रामेछापका लागि सवारीसाधन छुट्ने गरेका छन् ।

समस्या यो सडक खण्डको मात्र होइन, देशभर एक दर्जन सडकमा समस्या छ । कतै पहिरो झरेर सडक ठप्प छन् त कतै खाल्डाखुल्डीका कारण सवारी चलाउन कष्ट खेप्नुपरेको छ । कतै भने पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन गरिएको छ । समस्या आएका धेरैजसो सडकमा पानी पर्नासाथ पहिरो खसेर सवारी आवागमन ठप्प बन्ने गरेको छ । अहिले सबैभन्दा बढी समस्या नारायणगढ–बुटवल खण्डमा छ । सडक सहज हुँदा नारायणगढबाट बुटवल पुग्न साढे दुई देखि तीन घण्टा लाग्थ्यो । विस्तार थालेपछि ५ घण्टामा पनि बुटवल पुग्न हम्मेहम्मे पर्ने गरेको छ । बर्खाको समयमा ट्राफिक जामले बुटवल पुग्न एक दिनै लाग्छ । सडकमा खाल्डाखुल्डी धेरै छन् ।

यो सडकको ठेक्का सम्झौता सकिँदा सडकको भौतिक प्रगति १८.४४ प्रतिशत मात्र छ । ठेक्का आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । जसअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । सडक भत्काएर अलपत्र पारिएपछि यात्रुले आवतजावतमा सास्ती खेप्नुपरेको छ । सडकको कुल दूरी ११३ किलोमिटर छ । दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपैयाँ छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार उक्त खण्डमा सडक मर्मत गर्न भनिए पनि ठेकेदारले चासो दिएको छैन । ‘दसैंमा यो सडकमा सवारी चाप धेरै हुन्छ, अप्ठ्यारो र खाल्डाखुल्डी भएको खण्डमा टालटुल गर्न भनिए पनि कामै भएको छैन,’ महानिर्देशक थापाले भने, ‘पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि यसको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ ।’ सडक बिग्रिएकाले समयमै सवारी गन्तव्यमा आउन नसकेको यातायात व्यवसायीको गुनासो रहेको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे बताउँछन् । ‘बढी समस्या नारायणगढ–बुटवल, ढल्केबर–कोसी ब्यारेज सडक खण्डमा छ,’ उनले भने, ‘खाल्डाखुल्डी पुर्नेबारे तयारी भएको छ ।’ पानीकै कारण सडक मर्मतमा समस्या भएको सडक विभागको भनाइ छ ।

बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडक गत साउन १८ देखि अवरुद्ध छ । लेदोसहितको पहिरो आएपछि ठप्प बनेको सडक दसैंअघि सञ्चालनमा आउन नसक्ने विभागले जनाएको छ । सडक अवरुद्ध भएपछि आउजाउ बन्द छ । सडकले गर्दा खाद्यान्न ढुवानीमा समस्या भएको बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले बताइन् । ‘सडक बन्द भएपछि पहिरो गएको ठाउँबाट मान्छेले बोकेर खाद्यान्न ल्याउने गरेका छन्,’ उनले भनिन्, ‘दसैं आयो, अहिलेसम्म सडक बनेको छैन ।’ खप्तड छेडेदह गाउँपालिका हुँदै वैकल्पिक सडक बनाइँदै छ । कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–खुलालु–हिल्सा सडक अझै बन्द छ । सबैभन्दा धेरै सवारी चाप हुने नारायणगढ–मुग्लिङ सडक खण्डको विभिन्न स्थानमा पानी पर्नासाथ पहिरो खसेर सडक बन्द हुने गरेको छ । बढी समस्या भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा समस्या छ । ठूलो पहिरो खस्ने गरेकाले दसैंअघि यसको कुनै समाधान हुन नसक्ने र पहिरो पन्छाएर सडक पुन: सुरु गर्नुको विकल्प नरहेको महानिर्देशक थापाले बताए ।

बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक खण्डको हिउँदे खोलामा सडक भासिएपछि एकतर्फी सञ्चालनमा आएको छ । पानी पर्नासाथ यो खण्डमा सवारी सञ्चालनमा समस्या हुने गरेको विभागको भनाइ छ । बालाजु–त्रिशूली–धुन्चे–स्याफुबेंसी, डुम्रे–बेंसीसहर–चामे, दोलालघाट–खाडीचौर–कोदारी, नौबिसे–मुग्लिन–पोखरा सडक खण्ड बेलाबेला अवरुद्ध हुँदै सञ्चालनमा आउने गरेको छ । ढल्केबर–कोसी ब्यारेज खण्डमा खाल्डाखुल्डी धेरै भएकाले यात्रुलाई सास्ती हुने गरेको छ । यात्रु बोकेर उपत्यका बाहिर गएका सवारीलाई समयमै काठमाडौं फर्कन गाह्रो हुने गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले जनाए । ‘उपत्यका छाड्ने यात्रुको चाप दैनिक बढ्दो छ,’ उनले भने, ‘समयमै सडक मर्मत गरिदिएको भए अहिले यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन समस्या हुने थिएन ।’ असोज १ गतेयता काठमाडौंका सबै नाकाबाट निजी तथा सार्वजनिक सवारीमार्फत करिब १४ लाख यात्रु बाहिरिइसकेको उनले बताए । ‘अघिपछि दसैंमा १७ लाखसम्म यात्रु बाहिरिन्थे, यस पटक टिकट बुकिङ र यात्रुको चाप हेर्दा २२ लाख बाहिरिने अनुमान छ,’ उनले भने, ‘त्यसैले यात्रुको चापलाई दृष्टिगत गरी काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई विभिन्न स्थानमा पठाउन थालिएको छ ।’

साँफेबगर–मार्तडी–कोल्टी सडक अझै बन्द रहेको सडक विभागका महानिर्देशक थापाले जनाए । ‘कतै एकतर्फी कतै दुवैतर्फी सडक चलेको छ,’ उनले भने, ‘फूलपातीपछि पानी पर्ने समाचार आएका छन्, पानी परे पहिरो खसेर सडक बन्द हुने खतरा भने कायमै छ ।’

प्रकाशित : आश्विन १५, २०७९ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?