नेपालको निर्यात सम्भावना वार्षिक करिब १२ खर्ब : विश्व बैंक - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको निर्यात सम्भावना वार्षिक करिब १२ खर्ब : विश्व बैंक 

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो जे भरेलाले नेपालको निर्यात सम्भावना १२ खर्ब बराबर रहेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले नेपालसँग ९.२ अर्ब डलर बराबरको निर्यात गर्न सक्ने क्षमता रहेको बताए । साे क्षमतालाई गत आर्थिक वर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढी हो ।

नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री भरेलाले विश्व व्यापार संगठनको सदस्य भएका अतिकम विकसित मुलुक क्याम्बोडिया, लाओस जस्ता देशले निर्यात उल्लेख्य बढाएको हुँदा नेपालको पनि सम्भावना रहेको बताए । लाओस क्याम्बोडिया जस्ता मुलुकहरुले धेरै विदेशी लगानी आकर्षित गर्न सकेकाले ती मुलुकको उत्पादन र उत्पादकत्व दुवै बढ्यो’ गोन्जालोले भने ‘नेपालले भने लगानी र निर्यात दुवै बढाउन सकेन ।’ उत्पादित वस्तुुहरूलाई सफलतापूर्वक अन्तर्राष्ट्रिय बजारमा ल्याउन र त्यसलाई प्रोत्साहन गर्न सरकारले निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्नुपर्ने उनको सुुझाव थियो ।

महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र एउटा मात्रै रेमिट्यान्सको इन्जिनबाट चलेकाले सावधानीपूर्वक समग्र निर्यात प्रवर्द्धनमा काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो अर्थतन्त्रको आधार मजबुत बनाउन सकेनौं भने जतिबेला पनि एउटा इन्जिन फेल हुन सक्ने खतरा रहेको छ’ उनले भने । हाम्रो आफ्नै स्रोतमा आधारित वस्तुहरु निर्यात गर्ने क्षमता राख्नुुपर्ने र यसका लागि निजी क्षेत्रले दिएका सुुझावहरुको कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुुपर्नेमा उनले जोड दिए । उद्योग सचिव डा. तोयानारायण ज्ञवालीले मुलुकभित्र भित्रिएको रेमिट्यान्सलाई देशभित्रै बचाएर राख्न नसकिएको बताए । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कार्यमा आफ्नो मन्त्रालय निरन्तर लागिरहेको र महासंघले अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, व्यापार घाटा न्यून गर्ने उद्देश्यले ल्याएको भिजन पेपरको कार्यान्वयनका लागि सहकार्य भएको उनको भनाइ छ ।

महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधानले कार्यपत्र प्रस्तुुत गर्दै नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवम् प्रवर्द्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी निर्यात व्यवसायसँग सम्बन्धित व्यवसायीले निर्यातमा नगद अनुदानको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुु पर्ने, नगद अनुदान सम्बन्धी कार्यविधि तयार गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफल गर्नुपर्ने, कपास खेतीमा जोड दिनुुपर्ने लगायतका सुुझाव दिए ।


प्रकाशित : आश्विन १४, २०७९ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ ठेकेदार कम्पनीद्वारा मरिणखोला दोहन

राजकुमार कार्की

सिन्धुली — सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरुङ मार्गको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले अवैध रुपमा मरिणखोला दोहान गर्न थालेको छ ।


चाडपर्वको मौका पारेर चाइना कम्पनीले सुरुङ मार्ग निर्माणस्थलमा प्रयोग गर्न मरिणखोलाको बहाव र पुल क्षेत्रबाट अवैध दोहन गरेको हो । चारवटा मेसिन प्रयोग गरेर मरिणखोला बहाव क्षेत्रभित्र र पुल रहेको ५० मिटर आसपासमा समेत दोहन गरेर ढुंगा, बालुवा निकालेको स्थानीयले बताएका छन् ।

एक साताअघि कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलसहितको टोलीले ठेकेदार चाइन ओभरसिज कोभेकले अवैध दोहन गरेको भन्दै दुईवटा ढुंगा लोड भएको ट्रक नियन्त्रणमा लिएर कारबाहीसमेत गरेको थियो । स्थानीयका अनुसार दसैं विदा भएको मौका पारेर ठेकेदार कम्पनीले ढुंगा, गिटी, वालुवाको लागि मरिणखोला अवैध दोहन गरी संकलनको काम तीव्र बनाएका हुन् ।

स्थानीयहरूका अनुसार चारवटा मेसिन प्रयोग गरेर खोलाको बहाव क्षेत्रबाटै सयौं ट्रक ढुंगा, वालुवा निकालिएको छ । कमलामाई नगरपालिका वातावरण शाखा प्रमुख सागरकुमार ढकालका अनुसार राजमार्गको पुलभन्दा ५० मिटरको क्षेत्र र बहाव क्षेत्रबाट ढुङ्ग, वालुवा निकाल्नु अवैध मानिन्छ । त्यस्तो भएमा जुनसुकै निकाय पनि कारबाहीको भागिदार हुने शाखा प्रमुख ढकालको तर्क छ ।

सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत १३ दशमलव ३ किलोमिटर सुरुङ निर्माणका लागि ठूलो परिमाणमा ढुङ्गा, वालुवा र गिट्टीको आवश्यकता पर्छ । वातावरणीय प्रभाव मूल्यांकन गरेर मरिणका खहरेबाट आयोजनाले निकाल्ने अनुमती लिन्छ ।

गत आर्थिक वर्षमा ११ हजार घनमिटरको अनुमति लिएर चाइना ओभरसिजले १६ हजार घनमिटरभन्दा बढी खहरेबाट ढुङ्गा निकालेको थियो । पछि नगरपालिकाले कारबाही अगाडि बढाएपछि पुन नाप गरेर राजश्व जम्मा गर्न लगाइएको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले अवैध दोहन गरे कारबाही गर्ने बताएका छन् । 'कानुनत: उपलव्ध हुने स्थानबाट मात्र निकाल्नु पर्‍यो,' उनले भने, ‘त्यसका लागि वडा कार्यालयलाई रसिद काट्ने जिम्मा दिएका छौं, पुल वरपर र बहाव क्षेत्रबाट निकालेको पाइएमा हामी छोड्दैनौं ।’

सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराइका खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ निर्माण थालनी भएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिएको छ । गत आर्थिक वर्षबाट सुरु भएको उक्त आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य रहेको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×