२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सुनकोसी–मरिण डाइभर्सन सुरुङ निर्माण सुरु हुँदै

सुरूङमार्ग निर्माणका लागि मेसिन राख्ने प्लेटफर्मको काम एक सातामा सकिने
राजकुमार कार्की

मरिण, सिन्धुली — सुनकोसी–मरिण डाइभर्सन आयोजनाको दुई सय मिटरभन्दा लामो सुरुङ खन्न टनेल बोरिङ मेसिन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

सुनकोसी–मरिण डाइभर्सन सुरुङ निर्माण सुरु हुँदै

राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग निर्माणका लागि मेसिन राख्ने प्लेटफर्मको काम अब साताभित्रै सकिने भएको छ । सुनकोसी नदीको पानी सुरुङबाट मरिण खोलामा खसाली तराईका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा वर्ष अघिदेखि सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) राख्ने काम भइरहेको थियो ।

सुरुङको प्रवेशद्वारमा थोरै प्वाल पारेर दुई सय मिटर लामो प्लेटफर्म निर्माण भएपछि खन्ने काम सुरु हुनेछ । टीबीएम मेसिन बनेर आइसकेको आयोजना प्रमुख मित्र बरालले जनाए । पार्ट–पार्ट गरेर मेसिनका सामान ल्याई जडान गर्ने काम एक साताभित्रै सकिने उनको भनाइ छ । सुरुङमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले दसैंमा समेत काम जारी राख्ने जनाइएको छ । बिदामा घर नजानेहरूलाई काम लगाइने बरालले बताए । अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भइसकेकाले सुरुङ खन्ने काम र सुनकोसीमा बाँध बाँध्ने (हेडवर्क्स) को काम सँगसँगै सुरु हुने उनको भनाइ छ ।

आयोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाख रुपैयाँमा चाइना ओभरसिज कम्पनीलाई दिएको छ । गत आर्थिक वर्षबाट सुरु भएको आयोजना ०८२/०८३ सम्ममा सक्ने लक्ष्य छ । सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्ग, हेडेक्स र पावर हाउस निर्माण मुख्य भौतिक संरचना छन् । विद्युत् उत्पादनसँगै तराईका जिल्ला बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउनेछ । आयोजना निर्माण गर्न कुल ४६ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ । सुनकोसीको पानी मरिण खोलाबाट वाग्मती नदीमा मिसाएर नहरमार्फत वितरण गरिनेछ ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?