कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘डब्लूटीओबाट फाइदा उठाउन सकेनौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालबाट निर्यात गर्ने सामानमा भ्यालु एड गर्न नसक्दा ब्रान्ड भ्यालु गुमाउँदै गएकाले निर्यात कम हुँदै गएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको भनाइ छ । सरकारले ल्याएको निर्यातमा ८ प्रतिशत नगद अनुदान सकारात्मक भए पनि विगतका वर्षमा नगद नदिएका उदाहरणहरू पनि प्रशस्त रहेको उनले दाबी गरे ।

‘डब्लूटीओबाट फाइदा उठाउन सकेनौं’

महासंघका अध्यक्ष गोल्छाले नेपालको निर्यात निरन्तर घट्दै गएको बताएका छन् । नेपालको निर्यातको अवस्था र चुनौतीबारे छलफल गर्न आयोजना गरिएको कार्यक्रममा उनले नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भए पनि त्यसको फाइदा उठाउन भने नसकेको बताए ।

‘नेपालले १८ वर्षअघि डब्लूटीओसँग निर्यातका लागि सदस्यता लिएको थियो । त्यतिबेला नेपालको निर्यात अवस्था राम्रो थियो । कार्पेट, पस्मिनालगायत वस्तुको माग विश्व बजारमै आफ्नो बनाउन सकेका थियौं,’ उनले भने, ‘तर अहिले निर्यात आधाले घटेको छ । हामीले डब्लूटीओ बुझ्नै सकेनौं ।’ अल्पविकसित राष्ट्रका लागि डब्लूटीओले दिएको लाभ लिन नसक्दा नेपालले आफ्नो रेडिमेड गार्मेन्टको व्यापारसमेत गुमाएको उनले बताए ।

कार्यक्रममा निर्यात प्रवद्धन समितिका अध्यक्ष मनीष प्रधान र विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले निर्यातको अवस्था, चुनौती र अवसरहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए । महासंघले २०३० सम्म व्यापार घाटा ५० प्रतिशत घटाउन सकिने सम्भावना देखाएको महासंघअन्तर्गत समितिका अध्यक्ष प्रधानले बताए । उनले नेपाल व्यापार एकीकरण रणनीति तीनपटक संशोधन गरे पनि त्यसको नतिजा शून्य रहेको बताए । ‘सन् २०२६ मा अल्पविकसित देशबाट स्थानान्तरण हुँदै छ, यस्तो अवस्थाले गर्दा निर्यातमा पाउने ड्युटी फ्रि नपाउन सक्छ,’ उनले भने, ‘निर्यातको क्षमता वृद्धि गर्न सरकारले थुप्रै काम गर्न जरुरी छ ।’

विश्व बैंकका वरिष्ठ अर्थशास्त्री भरेलाले नेपालको निर्यात ८/९ गुणा बढाउन सकिने अवसरहरूको बारेमा बताए । विश्व बैंकले गत वर्ष सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट २०२१ ले नेपालको निर्यात १२ गुणासम्म बढ्न सक्ने सम्भावना देखाएको थियो । एलडीसी ग्राज्युसनबाट फर्कने अवस्था नरहेको भन्दै उद्योग मन्त्रालयअन्तर्गत बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाका प्रमुख सहसचिव गोविन्द कार्कीले यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित : आश्विन १३, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?