तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३०अर्ब रुपैयाँ बजारमा पठाउँदै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३०अर्ब रुपैयाँ बजारमा पठाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।

त्यसका लागि राष्ट्र बैंकले आज दिउँसो अक्सन (बोलकबोल)का लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ ।

खासगरी हिन्दुहरूको चाड दसैं र तिहारमा वित्तीय प्रणालीमा तरलता अभावको समस्या झनै जटिल नबनोस् भन्ने उद्देश्यका लागि रिपोमार्फत केही रकम बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो ।

प्रकाशित : आश्विन १३, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्

पाथिभरा म्याराथनको उपाधि कुँवरलाई

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित ताप्लेजुङ पाथिभरा म्याराथनको उपाधि जुम्लाका दलबहादुर कुँवरले जितेका छन् । कर्णाली स्पोर्टिङ क्लबबाट सहभागी तातोपानी गाउँपालिका–७ जुम्लाका कुँवरले ४ घन्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि जितेका हुन् ।

दोस्रो र तेस्रो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट र राजन मेन्याङवो भए । खगेन्द्रले राजनलाई १ सेकेन्डले जितेका हुन् । शिखर नगरपालिका २ डोटी घर भएका भाट शिवदल गण बर्दिया धादिङमा कार्यरत छन् । उनले ४ घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । पाँचथरको फिदिम नगरपालिका ११ घर भई सेनाको युनिट रणशेर गण पाँचथरमा कार्यरत राजनले ४ घन्टा १२ मिनेट ५८ सेकेन्डमा दुरी पार गरे ।

प्रतियोगितामा १ सय ३५ जना सहभागी थिए । प्रथमले १ लाख ५१, दोस्रोले १ लाख ३१ र तेस्रोले १ लाख ११ हजार प्राप्त गर्ने छन् । सदरमुकाम फुङलिङको पाथिभरा चोकबाट सुरु भएको प्रतियोगिता सुकेटार, काफ्लेपार्टी, पाथिभरा मन्दिर पुगेर सदरमुकामस्थित तोक्मेमा पुगेर टुंग्याइएको हो । प्रतियोगिता बिहान ७ बजेर ३५ मिनेटमा सुरु भएको हो । पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा ११ गतेदेखि पर्यटन महोत्सव सुरु भएको हो ।

प्रकाशित : आश्विन १३, २०७९ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×