कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

क्लाइमेट फाइनान्स सुविधा ग्लोबल आईएमईलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व बैंक समूहको सदस्य आईएफसीले ग्लोबल आईएमई बैंक लिमिटेडलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने भएको छ । आईएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत सुविधा विस्तार गरेको हो । यो आईएफसीको विश्वमै पहिलो ग्रिन ट्रेड फाइनान्स लाइन हो ।

क्लाइमेट फाइनान्स सुविधा ग्लोबल आईएमईलाई

बुधबार आयोजित कार्यक्रममा ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक जुन योङ पार्कले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो कार्यक्रम नेपालजस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको हो । यस परियोजनाले ग्लोबल आईएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत गर्ने जनाइएको छ ।

कार्यक्रममा रहेको ‘हरित’ कम्पोनेन्ट बैंकका लागि जलवायुअनुकूल व्यापार व्यवसाय गर्न बलियो आधार हो । यसले जलवायु परिवर्तनको असरलाई समेत सम्बोधन गर्छ । कार्यक्रमले ग्लोबल आईएमई बैंक र यसका ग्राहकहरूका लागि ट्रेड फाइनान्समा पहुँच सुधार गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले ग्लोबल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार गर्न सहजीकरण गर्नेछ । साथै, यसले द्विपक्षीय करेस्पोन्डेन्ट बैंकिङ सम्बन्धलाई बलियो र सक्षम बनाउँदै स्थानीय र अन्तर्राष्ट्रिय बैंक तथा तिनीहरूका ग्राहकहरूबीच नयाँ सम्बन्धहरू विस्तार गर्न सहयोग गर्नेछ ।

कार्यक्रममा ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो कार्यक्रम नेपालमा जलवायुअनुकूल व्यवसाय विस्तारका लागि सहयोगी बन्ने बताए । जीटीएफपीको सहयोगले बैंकको कर्जा माग र आपूर्तिको खाडललाई सम्बोधन गर्न मद्दत गर्ने नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायेले बताए ।

प्रकाशित : आश्विन १३, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?