१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रक्सौल–काठमाडौं रेल ल्याउन ३ खर्ब २० अर्ब

‘फाइनल सर्भे’ सकियो, ६ महिनाभित्र प्रतिवेदन तयार पारिने
विमल खतिवडा

काठमाडौँ — काठमाडौं–रक्सौल रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भएको छ । २०७६ मा गरिएको प्रारम्भिक अध्ययनअनुसार भने लागत अनुमान ३ खर्ब रुपैयाँ थियो । अहिले विस्तृत अध्ययनमार्फत सबै संरचना निर्माणमा लाग्ने खर्चसहितको लागत अनुमान निकालिएको हो ।

रक्सौल–काठमाडौं रेल ल्याउन ३ खर्ब २० अर्ब

२०७८ असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारीपत्र (एमओयू) अनुसार अध्ययन अघि बढाइएको थियो । रेल विभागका महानिर्देशक रोहित बिसुरालका अनुसार फिल्ड सर्भे सकिएको छ । ‘फिल्ड सर्भे र रिपोर्ट तयार पार्न १८ महिनाको समय दिइएको हो,’ उनले भने, ‘फिल्ड सर्भे सकियो, अब ६ महिनाभित्र रिपोर्ट तयार पार्छौं ।’

भारतको कोंकण रेलवे कर्पोरेसनका प्राविधिक टोलीले यसको अध्ययन गरेका हुन् । ‘रिपोर्ट लेख्न सुरु भएको छ, त्यसमा सहजीकरण विभागले गरेको छ,’ उनले भने, ‘सर्भेको काम भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भएको हो ।’

अन्तिम अध्ययनअनुसार रेलमार्गको दूरी १४० किलोमिटर हुनेछ । ‘यो विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बराबरकै अध्ययन हो, यसैका आधारमा निर्माणमा जान सकिनेछ,’ बिसुरालले भने, ‘लागत र दूरीमा भने रिपोर्ट तयार पार्दासम्म तलमाथि हुन सक्छ ।’

२०७६ भदौमा रेलमार्ग पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । काठमाडौंमा २०७५ भदौमा बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले पूर्वसम्भाव्यता अध्ययन समझदारीमा हस्ताक्षर गरेका थिए ।

कोंकणले नेपाल सरकारसँगको समन्वयमा ८ महिना लगाएर अध्ययन प्रतिवेदन तयार पारेको थियो । प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमि हुने उल्लेख थियो । अध्ययनअनुसार रेलमार्गका लागि सुरुङ र विशेषखालका पुलसमेत निर्माण गरिनेछ । यसक्रममा ३२ वटा सुरुङ निर्माण गरिने छ । सबैभन्दा लामो ८.१६ किमि सुरुङ बन्नेछ । सुरुङमात्र करिब ४२ किमि निर्माण गरिनेछ । विशेष प्रकृतिका २४, ठूला १२४ र सामान्य १२५ पुल हुनेछन् ।

त्यस्तै १२ स्टेसन निर्माण गरिनेछ । अहिले वीरगन्जको रक्सौलस्थित सुक्खा बन्दरगाह (ड्राइपोर्ट) सम्म रेल चल्छ । उक्त स्थानबाट काठमाडौंलाई जोड्ने गरी रेलमार्ग निर्माण गर्न लागिएको हो । रक्सौलबाट काठमाडौंको कीर्तिपुरसम्म रेलमार्ग निर्माण गरिनेछ । ‘यसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई पनि जोड्नेछ,’ महानिर्देशक बिसुरालले भने, ‘यसको फाइनल रिपोर्ट तयार भएपछि निर्माणमा कति समय लाग्ने निस्किनेछ ।’ उनका अनुसार रिपोर्ट तयार भएपछि कसरी निर्माणमा जाने भन्ने प्रक्रिया सुरु गरिनेछ ।

केरुङ–काठमाडौं रेलमार्गमा अलमल

काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको ६ महिना बित्दा अझै काम अघि बढ्न सकेको छैन । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै गत साउनमा परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणको बेला विस्तृत सम्भाव्यता अध्ययनका लागि अनुदान उपलब्ध गराउन चीनले प्रतिबद्धता जनाएको थियो । त्यसपछि थप प्रगति नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनायो । उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ मंसिरमा भएको थियो ।

२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए । यसबारे पटक/पटक छलफल र सहमति भए पनि अध्ययन अघि बढ्न सकेको छैन । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीन सरकारले नै गर्नेछ ।

प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर सुरुङ निर्माण गर्न अनुमानित ३ अर्ब ७० करोड रुपैयाँ लाग्ने उल्लेख छ । यसअनुसार उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?