डलरको भाउ १३१.४१ रुपैयाँ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) अवमूल्यन हुने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३१.४१ रुपैयाँ (बिक्रीदर) तोकेको छ ।

डलरको भाउ १३१.४१ रुपैयाँ पुग्यो

सोही दिनको खरिद दर १३०.८१ प्रतिशत छ । यो हालसम्मकै उच्च हो । एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ ।

मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) पुगेको थियो । त्यसअघि गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको हो । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो ।

डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकारहरू बताउँछन्  । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । बुधबार साँझ ७ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८१.८० पुगेको छ । गत शनिबार यस्तो दर भारु ८१.११ थियो । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलरको भाउ बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउने जानकारहरू बताउँछन् ।

गत साउन र भदौमा रेमिट्यान्स आप्रवाहमा सुधार आउनुमा एउटा कारण डलरको भाउमा बढोत्तरी पनि रहेको विज्ञहरुको भनाइ छ । डलर बलियो भएको समयमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर र ठूलो परिमाणमा निर्यात गरेर पनि लाभ लिन सकिन्छ । तर नेपालको संरचनात्मक समस्याका कारण तत्कालै न त निर्यात बढाउन सकिन्छ न त पर्यटक नै । यसकारण अहिले डलरको भाउ बढेका बेला नेपालमा लाभ लिन सक्ने अवसर निकै कम छ । डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । डलरको भाउ बढ्दा त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको हुन्छ  ।

यद्यपि पछिल्ला महिनामा आयातको वृद्धिदरमा कमी आएको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ । पछिल्ला महिनामा नेपाली विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतका लागि जाने क्रम ह्वात्तै बढेको छ ।

डलर महँगो भएको समयमा विदेशमा औषधोपचार, अध्ययन, भ्रमण खर्च महँगो हुने भएकाले धेरै विदेशी मुद्रा राष्ट्रबाट बाहिरिन्छ । त्यसै पनि विदेशी मुद्रा सञ्चिति कम भएको समयमा ठूलो परिमाणमा बाहिरिँदा अर्थतन्त्र झनै अप्ठ्यारो अवस्थामा जाने सम्भावना रहने जानकारहरू बताउँछन् । निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउने उनीहरुको तर्क छ ।

प्रकाशित : आश्विन १३, २०७९ ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?