भारत सरकारले ब्लक गर्‍यो ४५ युट्युब भिडियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

भारत सरकारले ब्लक गर्‍यो ४५ युट्युब भिडियो

युट्युबर ध्रुव राठीको भिडियोसमेत ब्लक लिस्टमा
एजेन्सी

काठमाडौँ — भारत सरकारले फेरि पनि कतिपय युट्युब च्यालनका भिडियोहरू ब्लक गरिदिएको छ । राष्ट्रिय सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक सुरक्षा लगायत विषयमा झुटा सूचना फैलाएको भन्दै भिडियोहरू ब्लक गरिदिएको हो । सूचना एवं प्रसारण मन्त्रालयले १० वटा युट्युब च्यानलका ४५ वटा भिडियोहरू ब्लक गरिदिएको छ ।

‘इन्फरमेसन टेक्नोलजी रुल्स २०२१ (इन्टरमेडियरी गाइडलाइन् एन्ड डिजिटल मिडिया एथिक्स कोड) को प्रावधानअनुसार सम्बन्धित भिडियोहरू ब्लक गरिएका हुन्,’ मन्त्रालयको विज्ञप्तीमा भनिएको छ, ‘ब्लक गरिएका भिडियोहरूको एकमुष्ट भ्युअर्ससिप १ करोड ३० लाखभन्दा बढी छ ।’ मन्त्रालयले २३ सेप्टेम्बरमा भिडियो ब्लक गर्ने निर्देशन युट्युबलाई दिएको थियो ।

ब्लक गरिएका भिडियोहरूमा झुटा र स्वरूप बंग्याइएका विवरण समावेश भएको मन्त्रालयको भनाइ छ । धार्मिक समुदायबीच घृणा फैलाउने उदेश्यले ती भिडियो बनाइएको मन्त्रालयको दाबी छ । ‘सरकारले केही समुदायको धार्मिक अधिकार खोसेको, धार्मिक समुदायमाथि हिंसात्मक धम्की दिएको र भारतमा गृह युद्धको घोषणा गरेकोजस्ता गलत दाबीहरू ती भिडियोमा समावेश थिए,’ विज्ञप्तीमा भनिएको छ, ‘तिनले समाजमा असंगति पैदा गर्ने र शान्ति सुरक्षा बिथोल्न सक्ने सम्भावना थियो ।’

अग्नीपथ योजना, भारतीय सशस्त्र बल, भारतको राष्ट्रिय सुरक्षा प्रबन्ध, काश्मिरलगायत विषयमा मिथ्या सूचना फैलाउने भिडियोहरू ब्लक गरिएको मन्त्रालयको दाबी छ । ब्लक गरिएका भिडियोमध्ये चर्चित युट्युबर ध्रुव राठीले हालै मात्र पाकिस्तानको राजनीतिक संकटका विषयमा बनाएको भिडियो पनि परेको छ । त्यसमा काश्मीरतिरको भारतीय भूभाग पाकिस्तानमा परेको नक्सा देखाइएकाले ब्लक गरिएको मन्त्रालयको भनाइ छ ।

ध्रुवले भने गल्ती स्वीकारेर नक्सावाला हिस्सा हटाइदिए पनि भिडियो ब्लक गरिएकोमा चित्त दुखाएका छन् । आफूहरूले निकै होस पुर्‍याएर नक्सा राखे पनि ४० सेकेन्डको एक दृश्यमा त्रुटिपूर्वक भारतीय भूभाग पाकिस्तानतिर परेको नक्सा देखिन गएको उनले द लल्लानटपसँगको अन्तरवार्तामा बताएका छन् । ‘जे कुरामा समस्या छ, त्यही कुरा हटाइदिए पनि भिडियो ब्लक गरिदिएका छन्,’ उनले भनेका छन्, ‘मन्त्रालयले भिडियो नै नहेरी ब्लक गरिदिएको हो कि ?’ भारत सरकारले अघिल्लो महिना मात्रै सातवटा भारतीय र एक पाकिस्तानी युट्युब च्यानल ब्लक गरिदिएको थियो ।

प्रकाशित : आश्विन १२, २०७९ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

शर्माको पुस्तकमाथि दिल्लीमा चर्चा

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — प्रवासीका कथामा आधारित ‘वेक अप अली, वेक अप नाउ’ उपन्यासका लेखक सुमित शर्मासँग बुधबार भारतको नयाँ दिल्लीमा पुस्तक वार्ता गरिएको छ । नेपाली लेखक शर्माको किताबमाथि चेन्नईपछि दिल्लीमा पुस्तक चर्चा गरिएको हो ।

उनले दक्षिण एसियामा मध्यम वर्गका परिवारका मानिस रोजगारीका लागि विदेसिने विषय र भोगाइलाई आफ्नो उपन्यासमार्फत चित्रण गरेका छन् । दुई वर्षअघि उनले प्रकाशनमा ल्याएको ‘प्रवास’ पुस्तकको अंग्रेजी संस्करण हो ‘वेक अप अली, वेक अप नाउ’ । दिल्लीको भितात्सा प्रकाशनले उक्त पुस्तकको अंग्रेजी संस्करण प्रकाशन गरेको हो । दुई महिना अगाडि मात्र पुस्तकको अंग्रेजी संस्करण प्रकाशन भएको हो ।

सीएनएन न्यूज १८ टेलिभिजनका प्रबन्ध सम्पादक जक्का ज्याकोभले पुस्तकका विषयमा शर्मासँग छलफल गरेका थिए ।

पुस्तकका विषयमा ज्याकोभले राखेका जिज्ञासाको जवाफमा शर्माले पुस्तक नेपाल, भारत र पाकिस्तानबाट रोजगारीका लागि क्यानडा पुगेका पात्रहरूमाथि आधारित रहेको बताए । पुस्तकको मुख्य पात्र भने पाकिस्तानका अलीलाई बनाइको छ । उनी ५० वर्षको उमेरमा पारिवारिक दबाबमा रोजगारीका लागि विदेसिनु परेको र उनलाई क्यानडामा नेपाली युवा रञ्जनले जागिर खोज्न सघाएकोजस्ता कथाको वरिपरी पुस्तक घुमेको छ ।

दक्षिण एसियामै बिदेसिने विषयमा एकै खालका समस्या छन्, त्यही भएर आफूले समग्रमा यो क्षेत्रकै विषयलाई उठान गर्न खोजेको शर्माले बताए ।

प्रकाशित : आश्विन १२, २०७९ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×