दुई महिनामा २ करोड ७१ लाखको अचार निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ करोड ७१ लख ८४ हजार रुपैयाँको अचार निर्यात भएको छ । साउन र भदौ महिनामा ४८ हजार ८९२ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।

नेपाली अचार सबैभन्दा बढी अमेरिकामा १ करोड ३८ लाख ९ हजार रुपैयाँको २२ हजार ४४० किलो निर्यात भएको विभागको तथ्यांक छ । इटालीमा ८७ लाख ३९ हजार रुपैयाँ बराबरको १७ हजार ४६४ किलो, अष्ट्रेलियामा ३१ लाख ९० हजार रुपैयाँको ३ हजार ७४४ किलो अचार निर्यात भएको छ । सबैभन्दा कम कोरियामा १४ लाख ४६ हजार रुपैयाँको ५ हजार २४३ किलो अचार निर्यात भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा अचार निर्यात भएको तथ्यांक विभागमा छैन । तर, गत आर्थिक वर्षमा कुल ३ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको ५९ हजार ९८४ किलो अचार निर्यात भएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १० लाख ७० हजार रुपैयाँ बराबरको ५१ हजार २८५ किलो अचार चीन र भारतबाट आयात गरिएको विभागको तथ्यांक छ । जुन गत वर्षको तुलनामा झण्डै १ करोडभन्दा कम हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ करोड १० लाख १४ हजार रुपैयाँ बराबरको ६२ हजार ६३६ किलो अचार आयात गरिएको थियो ।
