विमान कम्पनीले खोजे घाटा पूर्तिको सुनिश्चितता

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न गण्डकीले ढकढक्यायो विमान कम्पनीको ढोका
दीपक परियार

पोखरा — रिट्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट सार्नेबाहेक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तयारी अवस्थामा छ । नागरिक उड्डयन प्राधिकरणले जनवरी १ बाट विमानस्थल सञ्चालनमा ल्याउने बताइसकेको छ । प्राधिकरणले भने विमानस्थलको ‘बिजनेस प्लान’ तयार गरिसकेको छैन । गण्डकी प्रदेश सरकारले विमानस्थल सञ्चालनको तयारीमा चासो देखाएको छ । प्रदेश सरकार र पर्यटन व्यवसायीले पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न विमान कम्पनीको ढोका ढक्ढक्याएका छन् ।

विमान कम्पनीले खोजे घाटा पूर्तिको सुनिश्चितता

विश्व पर्यटन दिवसको मेसोमा मंगलबार गण्डकीको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीका नेपालस्थित प्रतिनिधिलाई पोखरा बोलायो । मन्त्रालय, पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् र पर्यटन बोर्डले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विश्व पर्यटन बजार’ विषयक अन्तर्क्रिया गरे । त्यसअघि विमान कम्पनीका प्रतिनिधिले निर्माणाधीन विमानस्थलको अवलोकन गरेका थिए ।

विमान कम्पनीका प्रतिनिधिले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दा हुन सक्ने घाटा पूर्तिको सुनिश्चितता खोजे । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अल जजिरा एयरवेजले घाटा बेहोरेर अन्तर्राष्ट्रिय उडान गरिरहेको अवस्थामा पोखरामा पनि उक्त आशंका गरिएको हो । पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दा विमान कम्पनीले लागत र लाभको विश्लेषण गर्ने बोर्ड अफ एयरलाइन्स रिप्रिजेन्टेटिभ्स इन नेपाल (बार्न) का अध्यक्ष जनक कालाखेतीले बताए । ‘जहाज सञ्चालन गर्दा कति कमाइन्छ भन्ने महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘कति दिनसम्म घाटा बेहोर्ने ? घाटा हुँदाको अवस्थामा पूर्तिको सुनिश्चितता हुनुपर्छ ।’ भैरहवामा ‘ग्राउन्ड ह्यान्डलिङ’ मा ५० प्रतिशत छुट दिइएको र उक्त व्यवस्था पोखरामा पनि हुने निश्चित भए पनि यात्रु ल्याउनतर्फ सरकारले बढी जोड दिनुपर्ने कालाखेतीको भनाइ छ । ‘विदेशमा अन्तर्राष्ट्रिय उडान भरेबापत मार्केटिङ फन्ड दिने व्यवस्था छ, नेपालमा पनि त्यो लागू हुनुपर्छ,’ उनले भने, ‘नयाँ विमानस्थलमा विमान कम्पनीले ल्याउने उपकरणमा पनि भन्सार छुटको व्यवस्था हुनुपर्छ ।’ अहिले मुख्य समस्या इन्धनको मूल्य वृद्धि भएको र आन्तरिक उडानमा समेत विदेशीले डलरमा भाडा तिर्नुपर्दा पर्यटक अन्तै मोडिएको उनले उल्लेख गरे ।

विमानस्थल सञ्चालनका लागि प्रमुख कुरा यात्रु आवश्यक हुने भएकाले पोखरामा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले योजना बनाउनुपर्ने बार्नका उपाध्यक्ष भोलाविक्रम थापा बताए । ‘सरकारले विमानस्थल बनाइदियो अब पोखरालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन निजी क्षेत्रले भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘पोखरा साहसिक र धार्मिक पर्यटनको हब भएकाले पनि सम्भावना धेरै छ ।’ पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो दायित्व नेपाल एयरलाइन्सकै भएको उनको तर्क छ । ‘पोखराको रनवे २ हजार ५ सय मिटरको भएकाले यहाँ एयरबस ३२० र बोइङ ७३७ स्तरका जहाजले मात्रै उडान भर्ने हुन्,’ उनले भने, ‘त्यसैले अब साना जहाज चलाउने अन्तर्राष्ट्रिय विमान कम्पनीको ढोका सरकारले ढकढक्याउनुपर्छ । घाटा भयो भने हामी बेहोर्छौं पनि भन्नुपर्छ ।’

विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंको ट्राफिक चोप पोखराले थेग्ने पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारीको भनाइ छ । विमानस्थल सञ्चालनपछि मुख्य बजार भारत र चीन नै भए पनि दक्षिण पूर्वी र मध्य पूर्वी एसियाका देश बढी सम्भावनायुक्त भएको उनले बताए । ‘विमानस्थल तयार गर्न अर्बौं खर्च भएको छ,’ उनी भन्छन्, ‘यसलाई नाफामा लैजान वैदेशिक रोजगारीमा जाने कामदार बोकेर मात्रै पुग्दैन । पर्यटक ल्याउन प्रचारप्रसारमा पनि खर्च गर्नुपर्छ ।’ पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न विमान कम्पनीलाई सरकारले सुविधा दिनुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको भनाइ छ । ‘विमान कम्पनीलाई के–के सुविधा दिन सकिन्छ दिनुपर्छ,’ उनले भने, ‘यसका लागि प्रदेश सरकारले पहल गर्ने ठाउँमा गर्नुपर्छ ।’

प्रकाशित : आश्विन १२, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?