खाद्यान्न अभावसँग जुध्न एसियाली विकास बैंकले १४ अर्ब डलर खर्च गर्ने
काठमाडौँ — खाद्यान्न अभाव र खाद्य सुरक्षा चुनौतीसँग जुध्न एसियाली विकास बैंक (एडीबी) ले सन् २०२५ सम्ममा १४ अर्ब अमेरिकी डलर बराबर खर्च गर्ने योजना सार्वजनिक गरेको छ ।
एडीबीको ५५औं वार्षिक बैठकले एसिया तथा प्रशान्त क्षेत्रमा आगामी तीन वर्षका लागि यस्तो योजना ल्याएको हो । एसिया र प्रशान्त क्षेत्रमा बिग्रिँदै गएको खाद्य संकटलाई कम गर्न र जलवायु परिवर्तन तथा जैविक विविधताको हानीका असरविरुद्ध खाद्य प्रणालीलाई बलियो बनाएर दीर्घकालीन खाद्य सुरक्षामा सुधार गर्न यो कार्यक्रम ल्याइएको एडीबीले जनाएको छ । अहिले यो क्षेत्रका १ अर्ब १० करोड मानिस गरिबी र खाद्यान्न अभावसँग जुधिरहेको एडीबीको विज्ञप्तिमा उल्लेख छ ।
‘एसियाका धेरै परिवारलाई भोकमरी‚ उच्च गरिबीमा धकेल्ने संकट निवारणका लागि यो तत्काल आवश्यक कदम हो,’ एडीबीको ५५औं वार्षिक बैठकमा बोल्दै अध्यक्ष मासात्सुगु असाकावाले भने‚ ‘जलवायु परिवर्तनका असरहरू बिग्रनुअघि र यस क्षेत्रले कडा मेहनतले हासिल गरेको विकास लाभको थप क्षयीकरण हुनुअघि नै हामीले काम सुरु गर्नुपर्छ ।’
कृषि सामग्रीको उपलब्धता, खाद्य उत्पादन तथा वितरण, सिँचाइ, जलस्रोत व्यवस्थापन, सामाजिक सुरक्षा तथा प्राकृतिक स्रोतमा आधारित वस्तुहरूबाट लाभ उठाउन सक्ने परियोजनामा लगानी गरिने एडीबीले जनाएको छ । त्यस्तै, ऊर्जा सुरक्षा, यातायात, ग्रामीण वित्त पहुँच, वातावरणीय व्यवस्थापन, स्वास्थ्य र शिक्षा क्षेत्र पनि यो कार्यक्रमअन्तर्गत पर्नेछन् ।
प्रकाशित : आश्विन ११, २०७९ २०:३१