कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतमा बन्ने भयो आइफोन १४

प्रिमियम ब्रान्ड किन्ने ट्रेन्ड भारतमा पनि
कान्तिपुर संवाददाता

काठमाडौँ — एप्पलले आफ्नो पछिल्लो उत्पादन आइफोन १४ भारतमा बनाउने घोषणा गरेको छ । विख्यात अमेरिकी प्रविधि कम्पनी एप्पलले आफ्ना केही प्रोडक्सन युनिट चीनबाट निकालेसँगै भारतमा उत्पादन प्रारम्भ गर्ने बताएको हो ।

भारतमा बन्ने भयो आइफोन १४

‘आइफोन १४ मा हामीले अभूतपूर्व नयाँ प्रविधिहरू र महत्वपूर्ण सुरक्षा प्रबन्ध समावेश गरेका छौं,’ सोमबार सार्वजनिक गरिएको विज्ञप्तीमा एप्पलले भनेको छ, ‘भारतमा आइफोन १४ बनाउन पाउँदा हामी उत्साहित छौं ।’ एप्पलको प्रमुख आइफोन असेम्ब्लर (पाटपुर्जा एकत्रित गरेर सामान बनाउने कम्पनी), फक्सकनले चेन्नइ नजिकको श्रीपेरुम्बडुर भन्ने ठाउँमा अवस्थिति कारखानाबाट आइफोन १४ बनाउन लागेको छ ।

एप्पलले सन् २०१७ देखि भारतमा आइफोन बनाउन थालेको थियो । तर, यसअघि सँधै पूराना मोडल मात्रै असेम्बल गर्ने गरिएकोमा यसपाली पहिलो पटक नयाँ तथा प्रिमियम मोडल बनाउन लागिएको हो । कम्पनीले हालै मात्र क्यालिफोर्नियास्थित मुख्यालयबाट एप्पल १४ सावर्जनिक गरेको थियो । भारतमा बनेका फोनहरू विश्व बजारमा विक्रि गर्ने कम्पनीले जानकारी दिएको छ ।

अबको केही दिनमै भारतमा बनेका आईफोन १४ स्थानीयबासीले किन्न पाउनेछन् । कुल उप्पादनको ५ प्रतिशत आईफोन १४ भारतमा निर्माण गरिने अनुमान गरिएको छ । सन् २०२५ सम्ममा एप्पलले कुल उत्पादनको २५ प्रतिशत आइफोनहरू भारतमा असेम्बल गर्ने लक्ष्य लिएको बताइन्छ । चीनभन्दा बाहिर उत्पादन क्षमता बढाउन र भारतीय उपभोक्तालाई आकर्षित गर्न एप्पलले यो कदम चालेको विज्ञहरूको भनाइ छ । एप्पलका आइफोनहरू अझै पनि सबैभन्दा धेरै चीनमा बन्ने गरेका छन् ।

कोभिड महामारी रोकथामका लागि चीनमा अझै लकडाउन जारी रहेकाले त्यहाँका कारखानाबाट भनेजति काम हुन सकेका छैनन् । यसले एप्पलको वितरण प्रणालीलाई प्रभाव पारिरहेको बताइन्छ । भारतले भने विद्युतीय उपकरणहरूको स्थानीय उत्पादन वृद्धि गर्न सहुलियत सुविधा दिएको छ । विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारका रूपमा रहेको भारतमा एप्पलले विक्रि विस्तार गर्न खोजिरहेको थियो । गत वर्ष भारतमा एप्पललको ३.८ प्रतिशत मात्रै बजार हिस्सा थियो । सामसङ र साओमीका कम मूल्यका फोनको त्यहाँ दबदबा छ ।

अल्ट्रा–प्रिमियम सेगमेन्ट (महँगा फोन) मा भने आइफोन नै भारतमा सबैभन्दा धेरै विक्रि हुने फोनमा पर्छ । ४५ हजार भारतीय रुपैयाँभन्दा बढी मूल्यका आइफोनहरू रुचाइने गरिएको छ । ‘भारतमा एप्पलको बलियो माहोल छ,’ काउन्टरप्वाइन्ट रिसर्चका अनुसन्धाता तरुण पाठकले सीएनबीसीसँग भनेका छन्, ‘प्रिमियम ब्रान्ड किन्ने ट्रेन्ड चलिरहेका विश्वका बीसभन्दा देशमध्ये भारत पनि एक हो ।’

प्रकाशित : आश्विन ११, २०७९ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?