३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

स्वचालित सवारीप्रति बढ्दो सन्देह

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्युटर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सवारी दुर्घटना रोक्न मद्दत गर्ने एभी निर्माताहरूले दाबी गर्दै आएका छन् । तर, जोखिमको अड्कल र आँकलन गर्ने मानवीय क्षमता सेल्फ ड्राइभिङ सफ्टवेयरमा नहुने भएकाले यिनले मान्छेलेभन्दा सुरक्षित रूपमा गाडी चलाउन सक्ने कुरामा सत्यता नभएको विज्ञहरूको भनाइ छ ।

स्वचालित सवारीप्रति बढ्दो सन्देह

आफैं चल्ने सवारी (अटोनोमस भेहिकल वा एभी) बनाउन स्टार्टअप कम्पनीहरूले हाल अबौं डलर खर्च गरिरहेका छन् । चालकको आवश्यकता नपर्ने र मानवीय त्रुटिले हुने दुर्घटना रोक्न एभीले मद्दत गर्ने दाबी गरिएको छ । वेमो (गुगल), टेस्ला, जेनेरल मोटर्स, बाइडु, फोर्डलगायतले सेल्फ–ड्राइभिङ कार बेच्ने गरेका छन् ।

कम्पनी र उद्यमीहरूको दाबी विपरित, एभी सवारी साधानका विज्ञहरू मानव पर्यवेक्षकबिना त्यस्ता कार आफैं चल्न नसक्ने बताउँछन् । आपतकालीन अवास्थामा सेल्फ–ड्राइभिङ कारका रोबट चालकको भर पर्न नसकिने तिनको भनाइ छ । तसर्थ, एभीलाई नियन्त्रण गर्न मानवीय सहयोग अपरिहार्य हुने विज्ञको भनाइ एभी निर्माताका लागि ठूलो चुनौती बनेको छ ।

हाल संयुक्त राज्य अमेरिकामा टेस्लाविरुद्ध उजुरी परेको छ । उजुरीमा टेस्ला र यसका मालिक इलन मस्कले टेस्लाका एभीमा अटोपाइलट र पूर्ण रूपमा आफैं चल्ने सुविधा भएको भनी झुटो प्रचार गरेर जनता झुक्याएको आरोप लगाइएको छ । सेल्फ–ड्राइभिङ कार त परको कुरा टेस्लाले रिमोट्ली एसिस्टेड (मानव सहायतामा चल्ने) कार बनाउन समेत अझै समय लाग्ने उजुरीमा भनिएको छ । यो घटनापछि सेल्फ–ड्राइभिङ कारप्रति मानिसमा शंका र अविश्वास पैदा भएको छ । गत जुनमा जेनेरल मोटर्सको सेल्फ–ड्राइभिङ कार दुर्घटनामा पर्दा दुईजना घाइते भएका थिए । त्यसयता कम्पनीले कारको सफ्टवेयर अपडेट गरेको छ । यद्यपी, यसमा मानवीय निगरानी आवश्यक पर्ने कम्पनीले बताउन थालेको छ । सेल्फ–ड्राइभिङ कारले गाडीको आउँदै गरेको मार्गबारे गलत विवरण दिनसक्ने अमेरिकी सुरक्षा नियाकमहरूको भनाइ छ । जेनेरल मोटर्ससले भने आफ्नो क्रुज ब्रान्डको गाडीमा अब त्यस्ता समस्या नआउने बताएको छ ।

सन् २०१८ मा जेनेरल मोटर्सले स्टिरिङ चक्का र एक्सलरेटरसमेत नभएको पूर्ण रूपमा स्वचालित कारका लागि अमेरिकी सरकारसँग अनुमती मागेको थियो । सन् २०१९ मा टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले १० लाख ‘रोबोट्याक्सी’ निर्माण गर्ने बाचा गरेका थिए । उनको कम्पनीको ‘पूर्ण स्वचालित’ कारलाई लिएर धेरै आलोचना हुने गरेको छ । केही समयअघि मात्रै मस्कले स्वचालित कार बनाउनु आफूले सोचेभन्दा गाह्रो काम रहेको बताएका थिए । प्रतिबद्धताअनुरुप सेवा दिन नसकेकाले एभी उद्योगप्रति आम भरोसा डगमगाएको छ । अबका दुई वर्षमा यिनले सफलता हासिल गरेनन् भने तिनको कुनै भविष्य नरहने विज्ञहरूको दाबी छ । एभीका लागि अहिले कि माथि जाने कि बन्द हुने अवस्था रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?