दसैं आइसक्दा पनि सडक मर्मत ठप्प- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

दसैं आइसक्दा पनि सडक मर्मत ठप्प

विमल खतिवडा

काठमाडौँ — दसैं आउन केही दिन मात्र बाँकी हुँदा घर जानका लागि काउन्टरहरूमा टिकट काट्ने यात्रुको भीड लागेको छ । तर, ठाउँ–ठाउँमा लामो समयदेखि सडक ठप्प छन् । सडक विभागका अनुसार पाँच स्थानमा अझै सडक अवरुद्ध छ । 

बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडक गत साउन १८ देखि बन्द छ । लेदोसहितको पहिरो आएपछि ठप्प बनेको सडक दसैंअघि सञ्चालनमा आउन नसक्ने विभागले जनाएको हो । सडक बन्द हुँदा खाद्यान्न ढुवानीमा समस्या भएको बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले बताइन् ।

‘सडक बन्द भएपछि पहिरो गएको ठाउँबाट मान्छेले खाद्यान्न बोकेर ल्याउने गरेका छन्,’ उनले भनिन्, ‘दसैं आउन लागिसक्यो, अहिले खप्तड छेडेदह गाउँपालिका हुँदै वैकल्पिक सडक बनाइँदै छ ।’ उनका अनुसार दसैंका लागि भनेर उक्त सडक बनाउन थालिएको हो । ‘वैकल्पिक सडक बनाउन थालेपछि पानी परिरहेको छ, बनाइराखेको सडक तल बस्ती छ,’ उपप्रमुख थापाले भनिन्, ‘फेरि पहिरो खसेर बस्ती पुरिने डर छ, सावधानी अपनाएर काम भइरहेको छ ।’

यता बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडक साउन २५ देखि ठाउँ–ठाउँमा पहिरो गएर अवरुद्ध छ । यो सडक केही दिनभित्रै खुल्ने दाबी सडक विभागको छ । त्यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–बर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक भदौ १६ देखि ठप्प छ । विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार डुम्रे–बेसीसहर–चामे सडक भदौ २९ देखि बन्द छ ।

कर्णाली राजमार्गअन्तर्गत जमुनाहा–नेपालगन्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा सडकमा भदौ ३१ मा गएको पहिरोका कारण यातायात ठप्प छ । एक दर्जनभन्दा बढी सडक एकतर्फी रूपमा सञ्चालनमा भए पनि पहिरो झर्ने क्रम रोकिएको छैन ।

पानी पर्ने क्रम नरोकिएकाले उक्त सडक खण्ड जुनसुकै बेलामा पनि अवरुद्ध बन्न सक्ने विभागको भनाइ छ । दसैं, तिहार, छठलगायत चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गहरू यथाशीघ्र मर्मत गर्न भौतिक पूर्वाधार तथा यातायाथ मन्त्री मोहम्मद इस्तियाक राईले आइतबार सडक विभागलाई निर्देशन दिएका थिए । पानीले गर्दा सडक मर्मतमा समस्या भएको महानिर्देशक थापाले बताए ।

‘दसैंमा कर्मचारीलाई सडक समस्या भएको स्थानहरूमा तैनाथ राख्नुको विकल्प छैन,’ उनले भने । उनका अनुसार पहिरोकै कारण सडक ठप्प छन् । बाजुराको सडक खुल्ला गर्न एक साता घाम लाग्नुपर्ने उनको भनाइ छ । सुदूरपश्चिमतिर पानी पर्ने क्रम नरोकिएकाले बढी समस्या भएको थापाले बताए ।

सडक विभाग स्रोतका अनुसार आपत्कालीन सडक मर्मतका लागि सडक बोर्ड नेपालबाट ५० करोड रुपैयाँ आएको छ । उक्त रकम सडकको खाल्डाखुल्डी टाल्न खर्च गरिने जनाइएको छ । असोज १ देखि बसको टिकट बुकिङ खुल्ला गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले दसैंमा सडक सहज नभए यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन गाह्रो हुने बताए । ‘धेरै ठाउँमा पहिरो गएर सडक अवरुद्ध छन्,’ उनले भने, ‘अग्रिम बुकिङ खोल्नुअघिदेखि नै सडक सहज बनाउनुपर्ने माग राख्दै आएका थियौं, अहिलेसम्म काम हुन सकेको छैन ।’

टिकट बुकिङका लागि अहिले काठमाडौंका नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र चाबहिललगायत स्थानका काउन्टरमा यात्रुको भीड छ । यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुल्ला गर्ने निर्णय गत भदौ २२ मा नै गरिसकेको छ । दसैंका बेलामा यात्रु ठगिने भएकाले त्यसलाई दृष्टिगत गर्दै साँगासहित १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको भनाइ छ ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

स्तरोन्नति घोषणाको २ वर्षसम्म सुनसान भन्सार

नवीन पौडेल

नवलपुर — गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणी भन्सार सुनसान छ । सरकारले दुई वर्षअघि यस नाकालाई मूल भन्सारमा स्तरोन्नति गर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । यस नाकाबाट आयात–निर्यात शून्य छ ।

भारतीय सवारीलाई नेपाल प्रवेश गर्दा अनुमति दिने पुर्जीबाहेक अन्य काम हुँदैन । प्रदेश सरकारले पटकपटक यस नाकालाई पूर्ण रूपमा सञ्चालन गर्ने र आयात–निर्यात पुनः सुरु गराउने भने पनि सञ्चालन नहुँदा यस क्षेत्रका उद्योगी व्यवसायी मर्कामा छन् ।

यस नाकाको मुख्य प्रवेशद्वार गण्डक ब्यारेज पुल हो, जहाँ सशस्त्र प्रहरीको अस्थायी क्याम्प छ । नेपाल प्रहरी र भन्सारका कर्मचारी पनि बस्छन् । तर भारततर्फ बिहार राज्यको बगाहा क्षेत्र पर्छ, जहाँ कस्टम (भन्सार) छैन, जसकारण यस नाकाबाट सामान आयात–निर्यात गर्न सकिँदैन । सामान्य किनमेल र सवारी सुविधाबाहेक केही पनि नहुने नाका नाम मात्रको भन्सार बनेको स्थानीयको गुनासो छ ।

‘नेपालतर्फबाट मात्र भन्सार स्तरोन्नति गरेर हुँदैन । भारततर्फबाट पनि कस्टम राख्न सरकारले पहल गर्नुपर्छ,’ त्रिवेणीका नारायण भण्डारीले भने, ‘नाम मात्रको भन्सार राखेर के काम, सरकारले तुरुन्त भारततर्फ पनि कस्टम अफिस खोल्न दबाब दिन आवश्यक छ । होइन भने वर्षौंसम्म नाम मात्रको नाका बन्नेछ ।’ भन्सार सञ्चालनका लागि अहिलेसम्म जग्गा र भौतिक संरचना निर्माण हुन सकेको छैन । गण्डकी प्रदेशको भन्सारको आवश्यक काम लुम्बिनी प्रदेशको महेशपुर भन्सार कार्यालयले हेर्नुपरेको छ । यसमा ११ जनाको दरबन्दी रहे पनि हाल ६ कर्मचारी छन् । भन्सार कार्यालय प्रमुखविहीन छ ।

पूर्वी नवलपरासी प्रहरी र सशस्त्र प्रहरीले चोरी पैठारीका सामग्री नियन्त्रण लिएपछि लुम्बिनी प्रदेशको महेशपुर भन्सार कार्यालयमा बुझाउनुपर्ने बाध्यता छ । ‘सुरक्षा निकायले नियन्त्रणमा लिएको चोरी पैठारीको मुद्दाको अन्तिम निर्णय अधिकृत स्तरको कर्मचारीले गर्नुपर्दछ । यता महेशपुर नाकामा पनि कामको चाप हुन्छ । कहिलेकाहीं मुद्दा हेर्न म आफैं त्रिवेणी नाका जाने गरेको छु,’ महेशपुर भन्सार कार्यालयका प्रमुख रामप्रसाद अर्यालले भने, ‘भारतले आफ्नोतर्फ भन्सार स्थापना नगरेसम्म यो नाका सञ्चालनमा आउन सक्दैन । त्यसैले केन्द्रीय स्तरबाट नै यसको पहल हुन आवश्यक छ ।’

जिल्लाका उद्योगी व्यवसायीले पटकपटक प्रदेश र केन्द्रीय सरकारलाई नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन आग्रह गर्दै आएका छन् । तर नाकाबाट मुख्य राजमार्ग निस्कने सडक साँघुरो र अन्य भौतिक संरचना पनि नहुँदा समस्या भएको छ ।

‘भन्सार स्तरोन्नति गर्ने, जनशक्ति र आवश्यक संरचना निर्माण नगर्दा मूल भन्सार भएर पनि छोटी भन्सारकै रूपमा काम भएको छ । यो गण्डकी प्रदेशको मुख्य नाका भएर पनि सरकारको ध्यान जान नसक्नु दुःखद पक्ष हो,’ नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले भने, ‘भारत र नेपाल दुवै पक्षले मूल भन्सारका लागि आवश्यक जनशक्ति र संरचनाको व्यवस्था गर्न आवश्यक छ ।’

प्रकाशित : आश्विन १०, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×