कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बढेको ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — वित्तीय प्रणालीमा बढेको ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन अर्थ मन्त्रालयले एक अध्ययन समिति गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको सम्बन्धमा निजी क्षेत्रले विरोध गरिरहेका बेला अर्थ मन्त्रालयले अध्ययन समिति गठन गरेको हो ।

बढेको ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको तयारी

वित्तीय प्रणालीमा ब्याजदर वृद्धि, राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धमा निजी क्षेत्रको माग सम्बन्धमा अर्थ मन्त्रालयमा आइतबार सर्वपक्षीय बैठक बस्यो । यो नियमित बैठक भने होइन । पछिल्लो समय ब्याजदर वृद्धि र चालु पुँजी कर्जासम्बन्धी नीतिगत व्यवस्था सम्बन्धमा निजी क्षेत्रको मागबारे छलफल गर्न अर्थमन्त्री शर्माले बैठक बोलाएका हुन् ।

अर्थमन्त्री शर्मा उपस्थित बैठकमा अर्थ मन्त्रालय, निजी क्षेत्र, राष्ट्र बैंक, योजना आयोग, बैंकर्स संघलगायत सरोकारवालाको उपस्थिति थियो । बैठकमा तरलताको अवस्था, ब्याजदर वृद्धिलगायत अर्थतन्त्रका समसामयिक विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाए ।

बैठकले बैंक तथा वित्तीय संस्थाद्वारा गरेको ब्याजदर वृद्धि, राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी कार्यविधि सम्बन्धमा निजी क्षेत्रका मागलगायत विषयमा अध्ययन गरी सुझाव दिन एक अध्ययन समिति गठन भएको उनले बताए । अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा गठित उक्त समितिमा राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालयका एक/एक जना सहसचिव सदस्य रहनेछन् ।

राष्ट्र बैंकबाट एक जना प्रतिनिधि, निजी क्षेत्रबाट तीन जना प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाबाट २ जना सदस्य रहनेछन् । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । ‘बढ्दो ब्याजदर, तरलताको अवस्था, चालु पुँजी कर्जासम्बन्धी कार्यविधिमा निजी क्षेत्रको मागलगायत विषयमा केकस्तो सुधार गर्न सकिन्छ, यस सम्बन्धमा समितिले सुझाव दिनेछ,’ उनले भने, ‘समितिको सुझावका आधारमा अर्थ मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था गर्नेछ ।’

गत बिहीबार ‘नाडा इभी एक्स्पो २०२२’ को उद्घाटन कार्यक्रममा अर्थमन्त्री शर्माले बढेको ब्याजदरमा सरकारले हस्तक्षेप गर्ने बताएका थिए । बैंकहरूमा पैसा राख्दा १५ प्रतिशतसम्म ब्याज पाइने भएपछि नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको उनको भनाइ थियो । उद्योगमा लगानी गर्दा ८/१० प्रतिशत ब्याज आउने तर बैंकमा राख्दा १५ प्रतिशत र जग्गामा लगाउँदा दुई गुणा बढी ब्याज प्राप्त हुने भएपछि उत्पादनमूलक क्षेत्रमा लगानी निरुत्साहित भइरहेको उनले बताएका थिए ।

बैंक तथा वित्तीय संस्थाले यही असोज १ देखि निक्षेपको ब्याज बढाएका छन्, जसअनुसार एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको १२.१३ प्रतिशत पुर्‍याएका छन् । केही बैंकले रेमिट्यान्समार्फतको निक्षेपमा १५.१३ प्रतिशत ब्याज दिने घोषणा पनि गरेका छन् । बैंकले बढाएको यही ब्याजदरलाई लक्ष्य गर्दै अर्थमन्त्री शर्माले त्यसमा सरकारले हस्तक्षेप गर्ने बताएका हुन् । ‘जुन देशमा बैंकमा पैसा राखेर १३, १४, १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन,’ त्यतिबेला उनले बताएका थिए, ‘यहींनिर समस्या छ । यो समस्यालाई हल गर्नु छ ।’

बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कर्जाको ब्याजदर पनि अकासिएको छ । एकातिर बैंक तथा वित्तीय संस्थामा लगानी गर्न पैसा छैन भने अर्कोतिर ब्याजदर अकासिएको छ । यसले गर्दा लगानी निरुत्साहित हुने भएको जानकारहरू बताउँछन् । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि घटाउन भन्दै निजी क्षेत्रले चर्को विरोध गरेको छ । यस्तै, उत्पादनमूलक क्षेत्रलाई आधार दरमा २ प्रतिशत मात्र प्रिमियम जोडेर कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न पनि उनीहरूको माग छ ।

पछिल्लो समय ब्याजदर बढेकाले उद्योग व्यवसाय चलाउन सक्ने अवस्था नभएको नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले बताइन् । ‘बैंकहरूले निक्षेपमा १५ प्रतिशतभन्दा बढी ब्याज दिन थालेका छन् । अब कर्जाको ब्याजदर कति पुग्ला ?’

कान्तिपुरले विराटनगरमा शनिबार आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रममा उनले भनेकी थिइन्, ‘यस्तै हो भने उद्योग व्यवसायीहरू सरकारलाई चाबी बुझाउन बाध्य हुनेछन् ।’ नीति निर्माणका क्रममा सरकारले निजी क्षेत्रलाई सहभागी गराए पनि नीति आउँदा छलफलका विषय वस्तु नसमेटिने गरेको उनले उनको गुनासो छ ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?