माथिल्लो दोर्दी ‘ए’ निर्माण सकियो

राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै २५ मेगावाट बिजुली 
आश गुरुङ

लमजुङ — माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण पूरा भएको छ । २५ मेगावाट क्षमताको आयोजना सकिएसँगै परीक्षणको चरणमा रहेको आयोजनाबाट उत्पादित बिजुली यसै साता राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै छ । यसका लागि दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन निर्माण भइसकेको छ ।

माथिल्लो दोर्दी ‘ए’ निर्माण सकियो

दोर्दी गाउँपालिका–६ ढोडेनी क्षेत्रमा लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आयोजना निर्माण गरेको हो । सिभिल संरचना, इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलतर्फका सबै उपकरणको परीक्षण भइरहेको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जनाए । ‘यही असोज १२ मा नेपाल विद्युत् प्राधिकरणबाट इन्जिनियर आउने भनिएको छ । त्यसपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्छौं,’ उनले भने । त्यसपछि दुई साता बिजुली उत्पादनको परीक्षणपछि व्यावसायिक उत्पादन थालिने उनले बताए । उत्पादित विद्युत् नजिकै रहेको दोर्दी करिडोरको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

गत वर्ष निर्माण सकिनै लागेको अवस्थामा असारमा दोर्दीखोलामा बाढीपहिरो आएपछि इन्टेकलगायत भौतिक संरचनामा क्षति पुर्‍याएको थियो । पछिल्लो समय ०७६ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । कोरोना महामारी, बाढीपहिरो र पछिल्लो समय प्रसारण लाइन समयमा निर्माण नहुँदा आयोजना निर्माण पूरा हुन ढिलाइ भएको हो । आयोजनाको परीक्षण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका साइट म्यानेजर सुरेश जोशीले बताए । ‘हामीले हालसम्म गरेका सबै परीक्षण सफल भएका छन्,’ उनले भने । विद्युत् उत्पादन मिति प्राधिकरणका इन्जिनियरले दिने समयमा भर पर्ने उनको भनाइ छ ।

वस्तीका अनुसार गत वर्षको जेठमै विद्युत् उत्पादन तयारी गरिएको थियो । कोरोना संक्रमण जोखिमले उत्पादन लम्बियो । आयोजनाको ‘ड्राइ टेस्ट’ त्यतिबेला नै भएको थियो । ‘वेट टेस्ट’ गर्न आयोजनाको संरचनामा पानी भर्ने तयारी गरिएको थियो । पाइप र सुरुङमा पानी पठाएर परीक्षण गरिएको थियो । बाँध र डिसेन्डरमा पानी राखिएको थियो । इलेक्ट्रो मेकानिकल उपकरणको आयात तथा जडान गर्ने एन्ड्रियज कम्पनीका सिनियर इन्जिनियरलाई बोलाइसकिएको अवस्थामा कोरोना र त्यसपछि बाढीपहिरो भएको थियो । त्यतिबेला प्राधिकरणले प्रसारण लाइन पनि निर्माण पूरा गरेको थिएन ।

आयोजनाले ०७१ फागुनबाट निर्माण सुरु गर्दा ०७४ असार मसान्तभित्र काम सक्ने लक्ष्य राखेको थियो । सुरुमा ३ अर्ब ९६ करोडमा डिजाइन भएको आयोजना निर्माणमा ४ अर्ब ६४ करोड ६१ लाख लागत पुगेको आयोजना स्रोतले बताएको छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुनेछ । नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंकले लगानी गरेको उक्त आयोजनामा ७० प्रतिशत बैंक कर्जा र ३० प्रतिशत प्रवर्द्धकको स्वपुँजी (इक्विटी) छ ।

आयोजनाले प्रभावित क्षेत्रको विकासका लागि ६ करोड छुट्याएको थियो । दोर्दी करिडोरको विद्युत् प्रवाह बोक्न नेपाल विद्युत् प्राधिकरणले दोर्दी–६ कीर्तिपुरबेंसीमा १३२/११ केभी सबस्टेसन निर्माण गरेको छ । वैकल्पिक रूपमा निर्माण भएको प्रसारण लाइनले दोर्दी करिडोरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न मद्दत पुगेको छ । सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको दोर्दी करिडोर आयोजना प्रमुख रमेश पौडेलले बताए ।

‘अब दोर्दी करिडोरका कुनै पनि जलविद्युत्ले उत्पादन गरेको विद्युत् सीधै राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सक्छौं,’ उनले भने । दोर्दी १ को १२ र चेपे नदीको ८ दशमलव ६३ गरी २० मेगावाट बढी बिजुली राष्ट्रिय प्रणालीमा प्रवाह भइसकेको छ ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?