बाराको टाँगियाबस्तीमा बल्यो बिजुली- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाराको टाँगियाबस्तीमा बल्यो बिजुली

कान्तिपुर संवाददाता

काठमाडौँ — बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ  । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगिया बस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए ।

नेपाल विद्युत् प्राधिकरणको करिब २ करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्‍याएर शनिबारबाट टाँगियाबस्तीमा बत्ती बलिएको हो । टाँगियाबस्तीमा करिब एक हजार ४ सय ७६ घरधुरी छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरु, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले गत फागुनमा टाँगियाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाँगियाबस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो ।

ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो ।

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ वत्ति जडान गरिएको बताए ।

प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ । रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर/इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगियाबस्तीमा विद्युत उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान बितरण ट्रान्सफर्मर जडान गरिएको छ ।

प्रकाशित : आश्विन ९, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

बाटो बढाउने नाममा घर भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले विकासका नाममा संरचना भत्काउन नहुने बताएका हुन् ।

उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो पार्ने भन्दै घर भत्काउन नहुने बताए ।

पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्न सके मात्रै सम्पदाको महत्त्व रहने भन्दै उनले काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमश: देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ । सहरका पहिलाका घरहरू जस्ता छन्‚ त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नु हुँदैन । हिजो जुन खालको यो शहरको बनावट छ; त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ ।’

आफूहरूले यसलाई विश्वमा चिनाउन सक्छौं । पर्यटन क्षेत्रलाई दिगो बनाउने सन्दर्भमा पर्यटन भ्रमण दशक भनेर घोषणा गरेको भन्दै उनले अब क्रमश: देशको पर्यटनको काम बढ्ने र पर्यटनबाट आर्थिकोपार्जन हुने विश्वाससमेत व्यक्त गरे ।

मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको समेत बताएका छन् । उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारे पनि मन्त्रालयले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकहरुलाई भित्र्याउन नसकेको बताए ।


हनुमान ढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण गरिने र पर्यटकहरूलाई शान्तिपूर्ण रुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख गरे ।

प्रकाशित : आश्विन ९, २०७९ ११:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×