११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

ईभी एक्स्पोमा इलेक्ट्रिक साइकलदेखि गाडीसम्म

कान्तिपुर संवाददाता

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको विद्युतीय गाडी (ईभी अटो) एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा जारी छ । आइतबारसम्म चल्ने एक्स्पोमा इलेक्ट्रिक साइकलदेखि गाडीसम्म उपलब्ध छन् ।

ईभी एक्स्पोमा इलेक्ट्रिक साइकलदेखि गाडीसम्म


बिहीबार सुरु भएको एक्स्पोमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडी छन् । अग्नि ग्रुपको तीनपांग्रे सवारीसाधन टेरो ब्रान्डसमेत एक्स्पोमा छ । दुईपांग्रे सवारीमा भने लेभनेङ, एनआईयू, याडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्सलगायत ब्रान्ड रहेको आयोजकले जनाएको छ ।

टाटाको गाडी बिक्री गर्ने सिप्रदी ट्रेडिङले नेक्सन ईभी, नेक्सन ईभी डार्क र टिगोर ईभीलाई प्रदर्शनीमा राखेको छ । कम्पनीले नेक्सन ईभीमा बिक्रीमा आकर्षक योजना ल्याएको छ । हुन्डाई गाडी बिक्री गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक–५ र कोना प्रदर्शनीमा राखेको छ । टेस्लाको आधिकारिक बिक्रेता कम्पनीले टेस्लाको वाई मोडलका दुई गाडी प्रदर्शनीमा राखेको छ । एनईभी नेपाल प्रालिका ज्याक ईभी, श्री इको भिजनरीका सिटी स्प्रिट र लङ र सीजी मोटर्सले नेटा भी प्रदर्शनीमा राखेको छ ।

हुन्डाईको दुई मोडल आयोनिक ५ र कोना ईभी राखिएको छ । आयोनिक ५ को मूल्य १ करोड १७ लाख रुपैयाँ र कोना ईभीको ६० लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टाटाको नेक्सनमा पनि एक्स्पो अफर ल्याइएको छ । कम्पनीले लक्की ड्रमार्फत एक जनालाई आइफोन १४ र बम्परमा सिंगापुर टुरको अवसर पाउनेछन् । एक्स्पोमा हालसम्म कम्पनीले ६० वटा नेक्सन ईभी बुकिङ गरिसकेको कम्पनीले बताएको छ । कम्पनीले नेक्सनको ईभी एक्सएमको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ र एक्सजेड प्लस एलयूएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ राखेको छ ।

एक्स्पोमा कम्पनीले नेक्सन सिरिजको अपग्रेडेड भर्सन ईभी प्राइम पनि सार्वजनिक गरेको छ । फुल चार्जमा यो गाडी ३१२ किमि गुड्ने भए पनि नेपालमा भने २१० किमि मात्र रेन्ज दिने कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले टिगोर ईभी पनि एक्स्पोमा राखेको छ । यसको मूल्य ३१ लाख ४९ हजारदेखि ३२ लाख ९९ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

टेस्लाको मोडल वाई र मोडल थ्री ईभी एक्स्पोमा छन् । मोडल वाईमा ७४ किलोवाट क्षमताको ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा ५२५ किमि यात्रा गर्न सकिने कम्पनीले बताएको छ । टेस्लाको गाडी बुकिङका लागि २५ लाख रुपैयाँ अग्रिम तिर्नुपर्छ । बुकिङ गरेको तीन महिनाभित्रमा गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ । टेस्लाको मोडल थ्रीमा ५४ किलोवाट क्षमताको ब्याट्री छ । यसमा १८१ किलोवाट क्षमताको मोटर जडान छ । मोडल वाई र मोडल थ्रीको मूल्य क्रमशः २ करोड ४० लाख रुपैयाँ र एक करोड ५५ लाख रुपैयाँ छ ।

दिगोको समेत नयाँ इलेक्ट्रिक जिप एक्स्पोमा छ । यो सवारी बुकिङ गर्दा ग्राहकले एक लाख नगद छुट पाउने कम्पनीले जनाएको छ । यसको मूल्य नेपालमा ७१ लाख २५ हजार रुपैयाँ पर्छ ।

सीजीले नेटा भी पनि एक्स्पोमा राखेको छ । कम्पनीले एक्स्पोमा यो सवारी बुकिङ गर्नेहरूका लागि एक लाख ४० हजार नगद छुट तथा ३ जना लक्की ड्र जित्ने ग्राहकले टीभी, दम्पतीका लागि ताज सफारी टुर प्याकेज र ५५० लिटरको फ्रिज पाउने कम्पनीले बताएको छ । ७ लाख ६० हजार रुपैयाँ डाउनपेमेन्टमा यो सवारी किन्न सकिने पनि कम्पनीको भनाइ छ । एक्स्पोका अवसरमा विभिन्न कम्पनीले दसैंतिहार लक्षित अफरसमेत ल्याएका छन् । लक्ष्मी इमोबिलिटीले हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गर्नेका लागि अफर सार्वजनिक गरेको छ । एक्स्पोमा १० हजार रुपैयाँ तिरेर हिरोका इलेक्ट्रिक स्कुटर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । यस अवधिमा हिरोको हरेक स्कुटर बुकिङ गर्दा २५ हजार बराबरको गिफ्ट ह्याम्परका साथै बम्पर लक्की ड्रमार्फत जर्मन ब्रान्ड बोस्चको वासिङ मेसिन जित्न सकिने योजना ल्याएको छ । याडिया ब्रान्डका सीवानएस, जी फाइभ र एस लाइक स्कुटर बजारमा छन् । यिनको मूल्य क्रमशः ३ लाख ७० हजार, ३ लाख ५० हजार, २ लाख ५५ हजार रुपैयाँ पर्छ । सुपर सोको सीयू स्कुटर स्ट्यान्डर्डको २ लाख ६९ हजार ९ सय र लक्जरी कलरको २ लाख ८० हजार ९ सय पर्छ । ८५ किमि रेन्जको यो स्कुटरको ब्याट्री ३ वर्ष र मोटरमा २ वर्षको वारेन्टी छ । आधिकारिक बिक्रेता इको इन्फिनिटीले न्यू (एनआईयू) ब्रान्डका ८ वटा मोडलका स्कुटर प्रदर्शनीमा राखेको छ । यिनको मूल्य एक लाख ५० हजारदेखि पौने ५ लाखसम्म पर्ने कम्पनीको भनाइ छ ।

लेभनेङ ब्रान्डका ११ वटा मोडलको ई–साइकलदेखि स्कुटरसम्म बजारमा उपलब्ध छ । यिनको मूल्य ७९ हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । ओला ब्रान्डका स्कुटर प्रदर्शनीमा रहे पनि तिनको मूल्य निर्धारण भइनसकेको सीजी मोटर्सले बताएको छ ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?