१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

विशिष्ट अवस्थामा बनेको सरकारबाट अर्थतन्त्रमा ठूलो सुधारको अपेक्षा गर्नु हुँदैन : मन्त्री आङ्बो

काठमाडौँ — संघीय सरकारबाट मुलुकको अर्थतन्त्रमा ठूलो सुधारको अपेक्षा नगर्न प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । उनले विशिष्ट अवस्थामा बनेको सरकार भएकोले अर्थतन्त्रमा ठूलो सुधार हुने अवस्था नरहेको बताए । 

विशिष्ट अवस्थामा बनेको सरकारबाट अर्थतन्त्रमा ठूलो सुधारको अपेक्षा गर्नु हुँदैन : मन्त्री आङ्बो

कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार विराटनगरमा आयोजित कार्यक्रम 'उज्यालो पूर्व' को पाँचौ सत्रमा 'अर्थनीतिका उल्झन'बारे बोल्दै प्रदेश १ का अर्थमन्त्री आङ्बोले मुलुकको अर्थतन्त्र सुधार्न निजी क्षेत्र र सरकार सँगसँगै हिँड्नुपर्ने पनि बताए ।

'अर्थतन्त्रमा धेरै ठूलो सुधारको अपेक्षा यो सरकारबाट गर्नु हुँदैन । एउटा अस्थिरतातर्फबाट संविधान र अहिलेको व्यवस्थालाई ट्र्याकमा ल्याउनका निम्ति विशिष्ट अवस्थामा सरकार बनेको हो । अहिले संघीय सरकारको बजेटका कर नीति मूलभूतरूपमा ठीक छन् । उत्पादन वृद्धि, उत्पादकत्व वृद्धि, आयातलाई प्रतिस्थापन गरेर निर्यात प्रवर्द्धन र देशलाई आत्मनिर्भर गर्ने कुरा ठीक छ,' संघीय सरकारको आर्थिक नीतिबारे उनले भने, 'अहिले मौद्रिक नीति बढी नै कसिलो भएकाले स्वाभाविक असर उत्पादनमा केन्द्रित उद्योगहरूमा धेरै परेको छ । लगानीयोग्य रकम उत्पादन केन्द्रित क्षेत्रमा पुग्न सकिराखेको छैन । सरकारले ल्याउने नीतिले निजी क्षेत्रको प्रवर्द्धन गर्नुपर्छ । निजी क्षेत्रले पनि सरकारको नीतिलाई सहयोग गरेर जानुपर्छ । राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाएर जानुपर्छ ।' उनले सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्नुपर्ने बताए । मुलुकको अर्थतन्त्रको विषयमा पक्ष र विपक्षमा लाग्ने नभएर समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, अर्थमन्त्री आङ्बोले राष्ट्रिय कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पनि प्रदेश १ को योगदान महत्वपूर्ण रहेको बताए । उनले राष्ट्रिय जीडीपीमा वाग्मती प्रदेशपछि दोस्रो नम्बरमा प्रदेश १ ले योगदान गरिरहेको बताए । उनले १५ प्रतिशत कूल राष्ट्रिय जीडीपीमा योगदान प्रदेश १ ले दिइरहेको बताए ।

'प्रदेश १ को अर्थतन्त्रमा उद्योगको योगदान राम्रो छ । संघीयतामा गइसकेपछि शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रको लगानी वृद्धि भइरहेको छ,' उनले भने, 'कृषि उत्पादनका लागि प्रचूर सम्भावना प्रदेश १ मा छ ।' उनले प्रदेश १ मा निजी क्षेत्रको लगानी र सार्वजनिक क्षेत्रको लगानी हेर्दा राष्ट्रको अर्थतन्त्रमा प्रदेश १ को योगदान राम्रो रहेको बताए ।

प्रदेश १ मा निर्यातजन्य कृषिवस्तुको उत्पादन पनि राम्रो रहेको मन्त्री आङ्बोको भनाइ थियो । उनले पर्यटनको प्रचूर सम्भावना रहे पनि प्रदेश १ मा कोरोना महामारीपछि पर्यटनसँग सम्बन्धित गतिविधि सुस्ताएको सुनाए ।

प्रकाशित : आश्विन ८, २०७९ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?