अनाज उत्पादनमा पहिलो

झापा, मोरङ, सुनसरी अन्न उब्जनीका भण्डार हुन्, मकै, आलु, चिया, गाई, बंगुर, सुन्तला जातका उत्पादनमा प्रदेश १ पहिलो नम्बरमा
राजु चौधरी

काठमाडौँ — भौगोलिक हिसाबले प्रदेश १ का आधा दर्जन जिल्ला दुर्गम सूचीमा पर्छन् । तर, अनाज (धान, मकै, गहुँ, कागुनो, जौ, फापर) को समग्र उत्पादनमा भने यही प्रदेश अगाडि देखिन्छ । सरकारी तथ्यांकअनुसार मकै, आलु, चिया, गाई, बंगुर, सुन्तला जातका उत्पादनमा प्रदेश १ पहिलो नम्बरमै छ ।

अनाज उत्पादनमा पहिलो

धान, कागुनो, तरकारीलगायतमा दोस्रो नम्बरमा पर्छ । समग्र अनाज उत्पादनमा भने अग्रस्थानमै रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।

‘आर्थिक वर्ष २०७७/७८ मा अनाजको कुल उत्पादन परिमाण १ करोड ११ लाख १८ हजार ५ सय १२ टनमध्ये प्रदेश १ मा २१.८९ प्रतिशत अर्थात् २४ लाख ३४ हजार ५ सय ३१ टन उत्पादन भयो । यसको मतलब ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश १ उत्पादन भयो,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने ।

मुलुकभर ३४ लाख ६५ हजार ४ सय ५५ हेक्टरमा खेती गरिन्छ । प्रदेश १ मा ७ लाख ५७ हजार १ सय ७२ हेक्टरमा खेती हुन्छ । जसअनुसार उत्पादनमा प्रदेश १ नै अग्रस्थानमा देखिन्छ । मन्त्रालयको विवरणअनुसार २०७७/७८ मा प्रदेश १ मा २४ लाख ३४ हजार ५ सय ३१ टन, दोस्रोमा मधेसमा २२ लाख २८ हजार २ सय ७७ टन, लुम्बिनीमा २२ लाख ६ सय ६८ टन उत्पादन भयो । त्यस्तै, वाग्मतीमा १४ लाख ५० हजार ७ सय ४२ टन, सुदूरपश्चिम ११ लाख ५६ हजार ९ सय ९६ टन, गण्डकीमा १० लाख ६४ हजार ४ सय ४५ टन, कर्णालीमा ५ लाख ८२ हजार ८ सय ५३ टन उत्पादन भएको तथ्यांक छ ।

प्रदेश १ मा झापा, मोरङ, सुनसरी अन्न उब्जनीको भण्डार जिल्ला हुन् । मकै उत्पादनमा पनि प्रदेश १ सबैभन्दा अगाडि छ । मुलुकभर ९ लाख ७९ हजार ७ सय ७६ हेक्टरमा मकै खेती गरिन्छ, प्रदेश १ मा मात्रै २ लाख ८९ हजार ७ सय १४ हेक्टरमा खेती हुन्छ । मकैको कुल उत्पादन २९ लाख ९७ हजार ७ सय ३३ टनमध्ये प्रदेश १ मा ८ लाख ८४ हजार ६ सय ५९ टन उत्पादन भएको छ । प्रदेश १ मै पनि सबैभन्दा बढी झापामा ३९ हजार ३ सय ८५ हेक्टरबाट १ लाख ५९ हजार १ सय ५ टन मकै उत्पादन भएको छ । इलाममा ३३ हजार ८ सय ८६ हेक्टरबाट १ लाख ३० हजार ५ सय ३० टन, त्यसपछि खोटाङ, भोजपुर, मोरङमा बढी उत्पादन भएको छ ।

धान उत्पादनमा भने प्रदेश १ दोस्रो नम्बरमा पर्छ । २०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा भएको धान खेतीबाट ५६ लाख २१ हजार ७ सय १० टन कुल उत्पादन थियो । जसमध्ये प्रदेश १ मा १२ लाख ७५ हजार ५ सय ५४ टन भएको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी भने मधेसमा १४ लाख ३२ हजार ८ सय १९ टन धान उत्पादन भएको हो ।

फापर उत्पादनमा प्रदेश १ तेस्रो नम्बरमा पर्छ । यहाँ वार्षिक औसत ३ हजार ३८ टन फापर उत्पादन हुन्छ । गहुँ उत्पादन भने यो प्रदेश छैटौं नम्बरमा पर्छ ।

आलु उत्पादन पनि अगाडि कृषि मन्त्रालयका अनुसार आलु उत्पादनमा पनि प्रदेश १ नै अगाडि छ । मुलुकभर १ लाख ९८ हजार ७ सय ८८ हेक्टरमा आलु खेती गरिन्छ, जहाँबाट वार्षिक ३३ लाख २५ हजार २ सय ३१ टन आलु उत्पादन हुन्छ । जसमध्ये प्रदेश १ मा मात्रै ९ लाख ८५ हजार ६ सय ८२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ का जिल्लामध्ये सबैभन्दा बढी झापामा २ लाख ६५ हजार १ सय ५० टन, इलाममा १ लाख ३४ हजार ५ सय ४३ टन, मोरङमा १ लाख ५ हजार ५ सय ५० टन उत्पादन हुन्छ । त्यस्तै, सोलुखुम्बुमा ६९ हजार ६ सय ५८ टन, सुनसरीमा ५७ हजार ६ सय ८० टन उत्पादन हुन्छ ।

आलुबाहेक अन्य तरकारी उत्पादनमा प्रदेश १ दोस्रो नम्बरमा पर्छ । मन्त्रालयका अनुसार मुलुकभर २ लाख ८४ हजार १ सय २१ हेक्टरमा खेती हुन्छ । उक्त क्षेत्रफलमा ३९ लाख ९३ हजार १ सय ६७ टन तरकारी उत्पादन हुन्छ । त्यसमध्ये प्रदेश १ मा ७ लाख ९७ हजार ८ सय ४२ टन तरकारी उत्पादन हुने तथ्यांक छ ।

तेलहन उत्पादनमा प्रदेश १ तेस्रो नम्बरमा छ । मुलुकभर २ लाख ५९ हजार १ सय १ हेक्टरमा तेलहन खेती हुन्छ । उक्त क्षेत्रफलबाट २ लाख ८७ हजार ३८ टन उत्पादन हुन्छ । प्रदेश १ मा १७.६४ प्रतिशत अर्थात् ५० हजार ६ सय ५३ टन उत्पादन हुन्छ ।

सुनसरी, मोरङ र झापालाई उखु उत्पादनको क्षेत्र मानिन्छ । मुलुकमा ३१ लाख ८३ हजार ९ सय ४३ टनमध्ये प्रदेश १ मा ३ लाख २२ हजार ५ सय ५६ टन उखु उत्पादन हुन्छ । सुनसरीमा २ लाख ९ हजार २ सय ७३ टन, मोरङमा १ लाख ६ हजार ६ सय ४५ टन, झापामा ४ हजार ५ सय ९० टन उत्पादन हुन्छ ।

चियामा एकाधिकार

चिया उत्पादनमा प्रदेश १ को एकाधिकार कायमै छ । कृषि मन्त्रालयका अनुसार मुलुकभर १६ हजार ९ सय १७ हेक्टरमा गरिएको चिया खेतीबाट २ करोड ३८ लाख ४५ हजार ९ सय टन उत्पादन हुन्छ । प्रदेश १ मा मात्रै १६ हजार ४ सय ६५ हेक्टरमा खेती हुन्छ, जहाँबाट २ करोड ३६ लाख ९६ हजार ४२ टन उत्पादन भएको छ । सबै बढी झापामा १ टन ७१ लाख ३१ हजार ५ सय २१ टन, इलाममा ६४ लाख ३१ हजार ३ सय ३० टन, पाँचथरमा ५८ हजार ४ सय ५ टन, धनकुटामा ४४ हजार ५ सय, तेह्रथुममा २० हजार ८ सय ५८ टन उत्पादन भएको छ ।

मुलुकमा सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । ५५ प्रतिशत सीटीसी र ९० प्रतिशत अर्थोडक्स चिया भारत निर्यात हुन्छ । अर्थोडक्स भारतसँगै तेस्रो मुलुकमा पनि निर्यात हुन्छ । त्यस्तै, सुन्तला जातका उत्पादन (जुनार, कागती, निबुवा, भोगटेलगायत) मा पनि प्रदेश १ अग्रणी नै छ । मन्त्रालयका अनुसार मुलुकभर ३ लाख २१ हजार ८८ हेक्टर क्षेत्रफलबाट ३ लाख ११ हजार १ सय ८८ टन सुन्तला जातका उत्पादन हुन्छ । प्रदेश १ मा सबैभन्दा बढी ७८ हजार ३ सय ३५ टन उत्पादन हुन्छ ।

अनाज फलफूलजस्तै गाई र सुँगुर उत्पादनमा पनि प्रदेश १ अगाडि नै छ । २०७७/७८ मा नेपालमा ७४ लाख ६६ हजार ८ सय ४१ वटा गाई उत्पादन भयो । जसमध्ये सबैभन्दा बढी प्रदेश १ मा २० लाख ४० हजार ६ सय ५७ वटा उत्पादन भएको मन्त्रालयले जनाएको छ । मासु उत्पादनमा भने प्रदेश १ तेस्रो नम्बरमा पर्छ ।

प्रदेश १ का कृषि सचिव मेघनाथ तिमल्सेना कृषि र पशुतर्फ प्रविधिमैत्री उत्पादन बढाउन विभिन्न कार्यक्रम ल्याएको बताउँछन् । ‘किसानलाई अनुदान दिएर मात्रै हुँदैन, नवीन प्रविधिको अनुसरण गराउने कार्यलाई पहिलो प्राथमिकता दिएका छौं,’ उनले भने, ‘कृषि र पशु उपजको प्रशोधन, भण्डारण र बजारीकरणलाई चासोपूर्वक हेरिएको छ ।’ गाउँघरबाट उत्पादित प्रांगारिक मल प्रयोगमा जोड दिइएको उनको भनाइ छ । उक्त मलमा प्रतिकिलो ५ रुपैयाँ अनुदान छ । त्यस्तै, दुग्ध उत्पादन बढाउन नश्ल सुधारको कार्यक्रम पनि सञ्चालन गरिरहेको सचिव तिमल्सेनाले बताए ।

प्रकाशित : आश्विन ८, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?