कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सूर्यविनायक-धुलिखेल सडक विस्तार गरिँदै

विमल खतिवडा

काठमाडौँ — निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ । कुल १५.५ किमि सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का आह्वान गरिएको हो, जसको दूरी ८.४ किमि छ ।

सूर्यविनायक-धुलिखेल सडक विस्तार गरिँदै

सूर्यविनायकदेखि साँगासम्मको ७.१ किमि खण्डमध्ये डेढ किमिको डिजाइनमा पुन: विचार गर्नुपर्ने भएकाले ठेक्का आह्वान गर्न ढिलाइ भएको सडक विभागले जनाएको छ । विभागका उपमहानिर्देशक एवं प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार उक्त खण्डको डिजाइनमा पुन: विचार गरेर ठेक्का गरिने छ । ‘अहिले दुई लेनको सडक छ,’ उनले भने, ‘विस्तार गरेर चार लेनको बनाउन लागिएको हो ।’ उनका अनुसार सर्भिस लेनसहित चार लेनको सडक बन्ने छ ।

‘यसका लागि अर्थ मन्त्रालयबाट ९ अर्ब रुपैयाँको सहमति प्राप्त भइसकेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘यो रकमले दुवै खण्डको विस्तार गरिने छ ।’ ठेक्का भएको तीन वर्षभित्र विस्तारको काम सक्नुपर्ने छ । पुष पहिलो साताबाट विस्तारको काम अघि बढ्ने उनले बताए । यस सडक खण्डमा सवारी चाप बढी भएकाले विस्तार गर्न लागिएको हो । २०७५ सालमा यो सडकलाई आठ लेनमा विस्तार गर्ने भन्दै प्रारम्भिक अध्ययन गरिएको थियो । जापानी सहयोग नियोग (जाइका) ले खटाएको प्राविधिक टोलीमार्फत अध्ययन भएको उक्त प्रतिवेदनमा सरकारले चासो देखाएन ।

त्यो बेलाको प्रारम्भिक अध्ययन अनुसार सडकको दूरी १६ किमि रहने दुई–दुईवटा सर्भिस लेन हुने उल्लेख थियो । उक्त सडक खण्डमा २ वटा फ्लाइओभर र २ वटा सुरुङ बनाउनुपर्ने उल्लेख थियो । अध्ययन टोलीले दिएको विकल्पमा सुरुङ नबनाउन र भित्तातिर जोडेर सडक निर्माण गर्न सुझाव थियो । ‘सन् २०१८ मा २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो,’ विभागमा महानिर्देशक अर्जुनजंग थापाले भने, ‘त्यो लागतमा सडक विस्तार गर्न सकिदैन भनेर फेरि अध्ययन गरेर ठेक्का गरिएको हो ।

सुरुङ निर्माण गर्नुपर्ने भनिएको ठाउँमा सडक नै बनाइने भएको छ । ‘सडक विभाग आफैंले यसको डिजाइन गरेको हो,’ महानिर्देशक थापाले भने, ‘दसैंपछि सूर्यविनायकदेखि साँगा खण्डको ठेक्का हुने छ ।’ सुरुमा जापान सरकारको ऋण सहयोगमामा उक्त सडक बनाउने भन्ने थियो । तर त्यसका लागि प्रयास गर्दा सम्भव नभएपछि नेपाल सरकार आफैंले बनाउन लागेको सडक विभागका प्रवक्ता अधिकारीले बताए ।

बीपी राजमार्ग सञ्चालनमा आएपछि यो खण्डमा सवारी चाप बढेको छ । कोटेश्वर ट्राफिकका प्रमुख प्रहरी निरीक्षक किशोर तामाङका अनुसार कोटेश्वरबाट साविक लामा दुरीका १ हजार बढी सवारी छुट्छन । ‘दसैंमा भने दैनिक २ हजारभन्दा बढी लामा दूरीका सवारी छुट्ने गरेका छन्,’ उनले भने, ‘काभ्रे र भक्तपुरका लागि छुट्ने सवारीको चाप धेरै छ ।’ सडक विस्तार भएपछि सवारी आवत जावतमा सहज हुने उनले बताए ।

प्रकाशित : आश्विन ७, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?