झण्डै १० अंकले घट्यो नेप्से, साढे ६५ करोडको सेयर कारोबार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झण्डै १० अंकले घट्यो नेप्से, साढे ६५ करोडको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झण्डै १० अंकले घटेर १ हजार ८ सय ३८‍.९६ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ०.५३ प्रतिशतले कम हो ।

असोज महिनादेखि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका छन् । ब्याजदर बढ्न थालेपछि निरन्तरजसो शेयर ओरालो लागेको छ । सोही क्रमले बिहीबार पनि निरन्तरता पाएको जानकारहरू बताउँछन् । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५६ प्रतिशतले र लघुवित्त उपसमूहको परिसूचक १.०४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । बिहीबार २ सय २९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता शेयर किनबेच भएको छ । ती किनबेचमा ६५ करोड ५७ लाख ५ हजार १ सय ६९ रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । बुधवार ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बिहीबार साताको अन्तिम कारोबार दिन हो । यसअघि शुक्रबार पनि शेयर कारोबार हुँदै आएकोमा यही असोजदेखि नेप्सेले शुक्रबारको कारोबार बन्द गरेको हो । उक्त निर्णयका आधारमा भोली देखिका सबै शुक्रबार शेयर बजार बन्द हुनेछन् ।

प्रकाशित : आश्विन ६, २०७९ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षा अधिकृतलाई दुर्व्यवहार गर्ने पक्राउ

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकाका शिक्षा शाखा अधिकृत नारायण खनाललाई दुर्व्यवहार गर्ने प्रयास गर्दै हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी) का नेता अर्जुन विष्ट रहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

विष्टविरुद्ध अभद्र व्यवहारअन्तर्गत कारबाही चलाइएको प्रजिअ बास्तोलाले बताए ।

उनी नेकपानिकट अखिल (क्रान्तिकारी)का विद्यार्थी रहेको प्रहरीले बताएको छ । शिक्षक नियुक्ति, सरुवा, बढुवालगायत विषयमा शाखा अधिकृत खनालमाथि कारबाही गरेको अखिल (क्रान्तिकारी) का नेता लोकेश जोशीले बताए ।

कार्यालय कक्षमा पसेर कालोमोसो लगाउने प्रयास गर्दै शिक्षा शाखा प्रमुख खनालमाथि हातपात गर्दा कर्मचारीले विरोध गरेका थिए । ५ जनाको समूहमा आएका उनीहरूलाई पक्राउ गर्न खोज्दा चार जना भागेको र एक जनालाई कर्मचारीले समातेर प्रहरीलाई बुझाएको नगर प्रमुख तेजबहादुर भाटले जनाए ।

प्रकाशित : आश्विन ६, २०७९ १६:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×