काठमाडौंका बजार अनुगमन गर्दै महानगर
काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ । चाडपर्व आएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ।
महानगरकी उपप्रमुख सुनिता डंगोलले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बजार अनुगमन गर्न लागिएको जानकारी दिइन् । बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगतरुपमा अनुगमन गर्ने निर्णय गरेको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछन् ।
उपप्रमुख डंगोलले इकान्तिपुरसित भनिन्, 'हिजो हामीले सरोकारवालासँग समन्वय बैठक बस्यौं । बजार अनुगमन सबै संस्थाले छुट्टाछुट्टै गर्दा नतिजा पनि नआउने र व्यवसायीहरु पनि झन्झट मान्ने हुँदै एउटा टिम बनाएर अनुगमन गर्ने निर्णय भएको छ । '
बैठकले दसैं लक्षित गरेर बजार अनुगमनका लागि विभिन्न क्लस्टरहरु पनि छुट्याएको उपप्रमुख डंगोलले जानकारी दिइन् । 'फेस्टिभल समयमा अरु धेरै अनुगमन हुने भएकाले क्लस्टर बनाएपछि को कता अनुगमन गर्ने जाने भन्ने सजिलो पनि हुन्छ र सबै क्षेत्रमा अनुगमन पनि हुन्छ,' उनले भनिन् ।
बजार अनुगमनका लागि निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक तरिकाबाट जाने निर्णय भएको उनले बताइन् । जस अनुसार व्यवसायीलाई जानकारी र सचेत गराउने, सचेत गराउँदा पनि लापरबाही गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नेसम्मका योजना रहेको उनले जानकारी दिइन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को गाउँपालिका, नगरपालिकाको अधिकारको बुँदा नम्बर (ञ) स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था छ । वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहमा दिइएको छ ।
काठमाडौँ महानगरपालिकाले २०७७ माघ २४ गते ‘काठमाडौ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ । स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्छ । यसबाट स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ ।
प्रकाशित : आश्विन ६, २०७९ १६:२६