२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुरु भयो नाडा ईभी एक्स्पो

काठमाडौँ — असोज ९ गतेसम्म चल्ने एक्स्पोमा ४० हजार बढीको उपस्थिती हुने आयोजकको भनाइ छ । उक्त अवधिभर एक्स्पोमै गाडी किन्न र बुक गर्न पाइनेछ । विभिन्न कम्पनीले चाडबाडलाई मध्यनजर गर्दै गाडी, मोटरसाइकल किन्दा नगद छुट अफर राखेका छन् ।

सुरु भयो नाडा ईभी एक्स्पो

भृकुटी मण्डपमा ‘नाडा ईभी एक्स्पो २०२२’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दसैंलाई मध्यनजर गर्दै एक्स्पो आयोजना गरेको हो । एक्स्पो समितिका सभापति अनुप बरालका अनुसार एक्स्पोमा ५१ वटा स्टल राखिएको छ । जसअनुसार चारपाँग्रे विद्युतीय सवारी साधनको ७, दुईपांग्रेको १६, टायरको ३, ब्याट्रिको २, अटोपार्टस् ५, ग्यारेज उपकरण र वित्तीय निकायसहित २४ वटा स्टल राखिएको छ ।एस्क्पोको पहिलो दिन विद्युतीय सवारी साधन हेर्न आउने सर्वसाधरणको राम्रै भिड लागेको थियो ।

गाडी किन्दा वित्तीय सुविधा पनि एक्स्पोमै उपलब्ध रहेको नाडाले जनाएको छ । त्यस्तै, सडक सुरक्षाका बारे जानकारी दिन एक्स्पोमा ट्राफिक प्रहरीको छुट्टै स्टल राखिएको छ । ईभीसम्बन्धी ज्ञान आदन-प्रदान गर्न 'नाडा ईभी चौतारी' सेमिनार सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् । त्यसमा इलेक्ट्रिक गाडीहरूका सम्बन्धमा विद्यमान नीति नियमबारे चर्चा गरिने भनिएको छ ।

प्रत्येक वर्ष दसैंको मुखमा नाडा अटो शो हुँदै आएको थियो । दुई वर्षदेखि कोभिडका कारण अटो शो हुन नसकेको नाडाले जनाएको छ । यो वर्ष भदौ पहिलो हप्ताबाट अटो शो गर्ने तयारी थियो । तर सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध लम्ब्याएपछि नाडाले अटो एक्स्पोको साटो ईभी एक्स्पो गर्न लागेको हो । बैशाखबाट सरकारले पेट्रोलियम पदार्थबाट चल्ने कार,जीप र भ्यानको आयात बन्द गरेको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?